ट्रम्प फाउन्डेशन विरुद्ध अभियोग

तस्बिर स्रोत, AFP
अमेरिकाको न्यूयोर्क राज्यले राष्ट्रपति ट्रम्पको एउटा परोपकारी संस्थाले एक दशकभन्दा बढी समयदेखि कानुन मिचेको भन्दै कारबाहीको प्रक्रिया अघि बढाएको जनाएको छ।
न्यूयोर्ककी महान्यायाधिवक्ता बार्बरा अन्डरवुडले ट्रम्प फाउन्डेशनले डोनल्ड ट्रम्पको तर्फबाट "लगभग चेकबुकको जस्तै काम गरेर" विभिन्न व्यवसाय र गैरसरकारी संस्थाहरूलाई कानुनको बेवास्ता गर्दै जथाभाबी रकम तिरेको आरोप लगाएकी छन्।
उनले तयार पारेको अभियोगपत्रमा विगत एक दशकदेखि ट्रम्प फाउन्डेसनले त्यस्तै शैलीमा काम गरेको उल्लेख गरिएको छ।
ट्रम्प फाउन्डेशनले चाहिँ एक विज्ञप्ति जारी गर्दै ती आरोपहरू अस्वीकार गरेको छ।
मोर्चा
राष्ट्रपति ट्रम्पले उनकै शब्दमा न्यूयोर्कका "फोहोरी डिमोक्र्याटहरूले" त्यो मुद्दा अघि सारेको आरोप लगाएका छन्।
बीबीसीका उत्तर अमेरिका संवाददाता एन्थोनी जर्चर भन्छन्, "न्यूयोर्ककी महान्यायाधिवक्ता बार्बरा अन्डरवुडले डोनल्ड ट्रम्प र उनको व्यापारिक साम्राज्य विरुद्ध जारी फौजदारी अनुसन्धानमा एउटा नयाँ मोर्चा खुला गरिदिएकी छन्।"
ट्रम्प फाउन्डेसनसँग सम्बन्धित अनियमितताका आरोप सन् २०१६ को राष्ट्रपति चुनावमा पनि बाहिर आएका थिए तर त्यसलाई राष्ट्रपति ट्रम्पको सुरूवाती कार्यकालले छायाँमा पारिदियो। तर अब त्यो अवस्था बदलिन लागेको जस्तो देखिन्छ।
राष्ट्रपति ट्रम्पदेखि उनी मताहतका सरकारी अधिकारीहरूले यसलाई पनि अर्को राजनीतिक रुपमा पूर्वाग्रहि अनुसन्धान भनेर टिप्पणी गर्न सक्छन्।
आक्रामक
आफूसँगको सैद्धान्तिक विरोधलाई "नयाँ षडयन्त्रको पुरानै रूप" भन्दै खेट्ने प्रयास भन्दै उनीहरूले टिप्पणी गर्न सक्छन्।
तर न्यूयोर्ककी महान्यायधिवक्ता अन्डरवुडसँग उल्लेख्य अनुसन्धान र कारबाही गर्ने शक्ति छ। यदि उनले ट्रम्पको धेरै प्रश्न उठेका परोपकारी गतिविधिहरूबारे जाँच गर्न थालिन भने उनले के के बाहिर ल्याउनसक्लिन त्यो भन्न सकिदैँन।
ट्रम्पको विश्वले न्यूयोर्कका पूर्व महान्यायाधिवक्ता एरिक स्नाइडरम्यानलाई गरेको अपमानजनक व्यवहार अलिक आलोकाँचो नै देखिन्छ।
अन्डरवुडले चाहिँ आफ्ना पूर्ववर्तीजस्तै खरो रूपमा ट्रम्पविरोधी धारणाहरू नराख्लिन तर महत्तव राख्ने ठाउँ अर्थात अदालतको इजलास कक्षमा भने उनी उत्तिकै वा अझ बढी आक्रामक छिन्।








