तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
म महिला हुँ त के भोः प्रथम महिला पाराग्लाइडर
पोखरामा प्रमुख पर्यटकीय आकर्षणका रूपमा साहसिक खेल पाराग्लाइडिङको विकास भएको दुई दशकभन्दा बढी भइसकेको छ।
शुरू-शुरूमा पाराग्लाइडिङ पाइलट विदेशबाट आउँथे।
उनीहरूको स्थान क्रमशः नेपाली पुरूषले र सानो संख्यामा महिलाहरूले पनि लिएका छन्।
३२ वर्षीया प्रतिभा भुजेल बोगटी सम्भवतः नेपालकै पहिलो व्यावसायिक महिला पाराग्लाइडर पाइलट हुन्।
अनुभव
यो पेशामा उनी संलग्न भएको नौ वर्ष भएको छ।
सानैदेखि आकाशमा ग्लाइडर उडेको देखेर उड्ने रहर लागेको र छोरी मान्छेले पनि सक्छन् भन्ने लागेर यो पेशा अपनाएको उनी बताउँछिन्।
अभिभावकहरूले सजिलै अनुमति दिए त? भन्ने प्रश्नमा उनले भनिन्, "शुरूमा त छोरा मान्छेले गर्ने काम किन रोजेको होला भनेर उहाँहरूले भन्नुभयो।"
तर उडान शुरू गरेपछि विस्तारै घरमा बुझ्न थालेको उनले अनुभव सुनाइन्।
यात्रु लिएर पहिलो उडान गर्दाको अनुभवबारे उनले भनिन्, "पहिलो त प्रशिक्षकको रेडियो सन्देशमा ध्यान दिएँ, दोस्रो पहिलो पटक यात्रु लिएर उडेकोमा खुशी महसुस गरेँ।"
विभिन्न खाले यात्रुबारे उनी भन्छिन्, "कोही एकदम डराउने गर्छन् भने कोही दिनभर उड्न पाए हुन्थ्यो भन्छन्। कोही मज्जाले उड्न नपाउँदै ओरालिदिन भन्छन्।"
आत्मविश्वास
कसै-कसैको हात, खुट्टा बाउँडिने, कसै-कसैले बान्ता गर्ने पनि भएकोले सबैलाई सम्हालेर उडाउनुपर्ने अवस्थाको सामना दैनिक रूपमा गर्नुपर्ने प्रतिभाले बताइन्।
साढे चार घण्टासम्म एक्लै उडान गरेकी उनले गर्न चाहे जसले पनि सक्ने आत्मविश्वास व्यक्त गरिन्।
हाल ६ जना महिला पाइलट रहेको र सिक्न इच्छुक महिलालाई सघाउन आफू तयार रहेको उनी बताउँछिन्।
कतिपय क्षेत्रमा महिला र पुरूषबीच पारिश्रमिकमा विभेद रहे पनि यो क्षेत्रमा त्यस्तो भेदभाव नरहेको उनले गर्वका साथ सुनाइन्।
तर बढ्दो अस्वस्थ प्रतिस्पर्धाका कारण यो पेशा पहिलाजस्तो आकर्षक नरहेको उनी बताउँछिन्।