किम-ट्रम्प बैठक मिति अन्योलमा

तस्बिर स्रोत, Reuters
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू र उत्तर कोरियाली नेता किम जङ अनबीच जुन १२ तारिखमा तय भएको शिखर बैठक निर्धारित मितिमा हुनेमा आशंका व्यक्त गरेका छन्।
उनले संवाददाताहरूलाई उत्तर कोरियाले निश्चित शर्तहरू पूरा नगरे उक्त शिखर बैठक पर सर्ने बताए।
प्योङयाङले संयुक्त राज्य अमेरिकाले एकपक्षीय ढंङ्ले निःशस्त्रीकरणमा जोड दिए वार्तामा नबस्ने चेतावनी दिएको छ।
तर अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले शिखर बैठक आयोजना हुने गरी साझा विन्दु पहिल्याउन वाशिङटनले प्रयास गरिरहेको जानकारी दिए।
अन्यौल
उक्त शिखर बैठक आयोजनाका लागि वातावरण बनाउन दक्षिण कोरियाली राष्ट्रपति मून जे-इन हाल वाशिङटनमा छन्।
उनलाई ह्वाइट हाउसमा स्वागत गर्ने क्रममा ट्रम्पले किमसँगका वार्ता पर सर्न सक्ने जानकारी दिएका हुन्।

तस्बिर स्रोत, AFP
दक्षिण कोरियाली राष्ट्रपति मून र राष्ट्रपति ट्रम्पबीचको बैठकले जुनमा हुने शिखर बैठकका विषयहरू तय गर्ने ठानिएको थियो।
कोरियाली सञ्चारमाध्यमहरूका अनुसार मूनले 'किमबाट के अपेक्षा गर्ने र के नगर्ने भन्नेबारे ट्रम्पसँग छलफल गर्ने सम्भावना' रहेको छ।
तर उत्तर कोरियाले नाटकीय रूपमा आफ्नो व्यवहार परिवर्तन गरेपछि अहिले उक्त वार्ता कसरी जोगाउने भन्नेमा प्रयासहरू केन्द्रित छन्।
आशंका
राष्ट्रपति ट्रम्पले उक्त ऐतिहासिक बैठकमा विलम्ब हुन सक्ने भन्दै वार्ताबाट अलग हुने उत्तर कोरियाली चेतावनी पछाडि चीनको हात हुन सक्ने आशंका गरेका छन्।

तस्बिर स्रोत, Reuters
तर दिउँसो आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री पोम्पेओ अलि सकारात्मक ढंङ्गले प्रस्तुत भए।
उनले जुन १२ तारिखमा हुने भनिएको शिखर बैठकका लागि अमेरिकाले काम गरिरहेको उल्लेख गरे।
दुवै पक्षले नेतृत्वदायी कूटनीतिक भूमिका देखाएर शिखर बैठक आयोजनाको प्रयास गरेका थिए।
संयुक्त राज्य अमेरिकाले त किम जङ-अनलाई सर्वोच्च नेता उल्लेख गर्दै एउटा सिक्का नै सार्वजनिक गरेको छ।
वाशिङटनस्थित एकजना बीबीसी संवादादता भन्छन्, शिखर बैठकका अपेक्षालाई लिएर दुवै पक्षबीच देखिएको मतभिन्नता नै अहिले सबैभन्दा ठूलो तगारोका रूपमा प्रकट भएको छ।
क्रुद्ध
यसअघि अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास गरेपछि उत्तर कोरियाले त्यसलाई 'उक्साहटपूर्ण कार्य' भन्दै दक्षिणसँगको वार्ता स्थगित गरेको थियो।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियाले लिबिया जस्तै निःशस्त्रीकरणको ढाँचा अवलम्बन गर्न सक्ने बताएपछि प्योङयाङ थप क्रुद्ध बनेको छ।
सन् २००३ मा नि:शस्त्रीकरणका लागि सहमति गरेका लिबियाली नेता कर्णेल गद्दाफीको पछि पश्चिमा समर्थन प्राप्त लडाकुहरूले हत्या गरेका थिए।
ट्रम्पले उत्तर कोरियासँग लिबियाको जस्तो ढाँचा नअपनाइने प्रष्ट पारेका छन्।






















