भारतीय रुपैयाँ: सटही सुविधा दिन भारतले नेपालसँग समय माग्यो

भारु नोट

सन् २०१६ नोभेम्बरमा भारतमा पाँच सय र एक हजार रुपैयाँका नोट प्रतिबन्धित गरिएपछि नेपालमा रहेका त्यस्ता नोटहरू सटही गर्न कानुनी र प्राविधिक जटिलता रहेको भन्दै भारतले केही समय मागेको अधिकारीहरूले बताएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको नेपाल भ्रमणका क्रममा नेपाली पक्षले उक्त विषय प्राथमिकताका साथ उठाएको भन्दै प्रधानमन्त्री केपी ओलीका प्रमुख सल्लाहकारले आउँदो असोजसम्ममा उक्त समस्या सुल्झिने विश्वास व्यक्त गरे।

तर सबै किसिमका कानुनी र प्राविधिक जटिलता अन्त्यका लागि यसअघि नै पर्याप्त छलफल भइसकेको बताउँदै नेपाल राष्ट्र ब्याङ्कका अधिकारीहरूले भारतीय पक्षको आश्वासन पूरा हुनेमा आशङ्का व्यक्त गरेका छन्।

दुई देशबीचको औपचारिक वार्तापछि पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले उनका भारतीय समकक्षी मोदीलाई साक्षी राख्दै प्रतिबन्धित भारतीय नोट सटहीको विषय समाधान गर्न आग्रह गरेका थिए।

ढिलाइ

त्यसअघिका भेटका क्रममा भारतीय पक्षले उक्त रकम सटहीमा केही कानूनी पक्षलाई समेत विचार गर्नुपरेकोले ढिलाइ भएको बताएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाए।

उनले भने, "भारतीय पक्षले हाम्रो आग्रहलाई सुन्यो। तर त्यसमा कतिपय कानुनी पक्ष छन् त्यसलाई ख्याल गर्छौँ भन्ने उहाँहरूको भनाइ छ। हाम्रो देशमा जम्मा भएको भारु हाम्रो कारणले नभई भारतको कारणले जम्मा भएको हो, रकम खेर जाने स्थिति नबनोस् भनेर हामीले भन्यौँ। असोज महिनासम्ममा एक ढङ्गको प्रगति हुने हाम्रो अपेक्षा छ।"

भारत

तस्बिर स्रोत, Reuters

तर भारत सरकारले आकस्मिक रूपमा गरेको उक्त प्रतिबन्धलगत्तै नेपाल राष्ट्र ब्याङ्क र भारतको केन्द्रीय ब्याङ्कका अधिकारीहरूबीच भारतीय रुपैयाँ साट्न सम्भावित कानुनी र प्राविधिक पक्षबारे छलफल भइसकेको अधिकारीहरू बताउँछन्।

प्रतिव्यक्ति बढीमा साढे चार हजार मात्र साटिदिने प्रस्ताव भारतीय पक्षले गरे पनि कानुनी रूपमै २५ हजार रुपैयाँसम्म भारतीय मुद्रा राख्न पाइने पुरानो व्यवस्था रहेकाले त्यो प्रस्ताव स्वीकार्न नेपाली पक्ष मानेको थिएन।

बेवास्ता

पछि नेपाली पक्षले मान्यो तर भारतीय अधिकारीहरूले त्यसपछि आफूहरूको पत्रको जवाफ नै नदिएको अधिकारीहरू बताउँछन्।

राष्ट्र ब्याङ्कका डेप्युटी गभर्नर चिन्तामणि शिवाकोटीले भने, "हामीले दिएको सटही नमुनाले कुनै समस्या पार्दैन। एकजनाको २५ हजारभन्दा बढी जम्मा हुँदैन, काउन्टरबाट पैसा बाँड्ने पनि होइन, पैसा बुझाउने मान्छेको पैसाको नम्बर, तीनपुस्ते विवरण र खाता नम्बर सम्पर्क लेखिन्छ। केही न केही समस्या देखाएर सटही पर सार्ने वा बेवास्ता गर्न खोजेको जस्तो लाग्यो।"

नेपालको ब्याङ्किङ प्रणालीमा झन्डै आठ करोड बराबरको भारु रहेको बताइन्छ। त्यसबाहेक सर्वसाधारणसँग ठूलो परिमाणमा भारु रहेको ठानिएको छ।

तर नेपाललाई सटही सुविधा दिए भारतमा लुकाइएको भनिएको रकम खुला सीमाका कारण यहाँ भित्र्याएर साटिने आशङ्का भारतीय पक्षले गरेकाले उसले आलटाल गरेको कतिपयको बुझाइ छ।