राष्ट्रपति सीलाई भेट्न उत्तर कोरियाली नेता किम पुन: चीनमा

सी र किम

चीनका राष्ट्रपति सी जिनपिङसँग प्रत्यक्ष भेट गर्न उत्तर कोरियाली नेता किम जङ-अनले चीनको भ्रमण गरेको बेइजिङले पुष्टि गरेको छ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग हुने भनेर तय गरिएको शिखरबैठक हुनुपूर्व किम र सी बीच सो भेट भएको हो।

दुई महिनाभन्दा पनि कम समयभित्रै यी दुई नेताबीच भएको यो दोस्रो भेट हो।

उत्तरी चिनियाँ शहर डालियानमा किम र सीले भेट गरेका हुन्।

दुई नेताहरू समुद्रतटमा सँगै हिँडिरहेको दृश्य चिनियाँ सरकारी टेलिभिजनले प्रसारण गरेको छ।

ट्रम्पको टिप्पणी

गत महिना दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनसँग भएको ऐतिहासिक शिखरबैठकपछि र अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्नुअघि किमले सी लाई भेट गरेका हुन्।

किम र ट्रम्प

तस्बिर स्रोत, Reuters

ट्रम्पसँगको शिखरबैठकमा उत्तर कोरियाको परमाणु कार्यक्रम महत्त्वपूर्ण विषय हुनेछ।

अमेरिकी राष्ट्रपति ट्रम्पले चिनियाँ राष्ट्रपतिसँग कुरा गर्ने भन्दै सामाजिक सञ्जाल ट्विटरमा सन्देश राखेका छन्।

उत्तर कोरियाप्रति विश्वास बढ्दै गएको पनि ट्रम्पले बताएका छन्।

निकटताको 'सङ्केत'

किम

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, किमले गत मार्च महिनामा पनि चीनको भ्रमण गरेका थिए

चीनस्थित बीबीसी सम्वाददाता रोबिन ब्रान्ट भन्छन्, "कैयौँ वर्षसम्म दुई नेताले एकअर्कासँग भेट गरेनन्, तर छ हप्ताभित्रै दुई पटक भेट गरेका छन्।"

अमेरिकासँग प्रत्यक्ष वार्ताका लागि उत्तर कोरियाले तयारी गरिरहेका बेला सो भेट हुनुलाई दुई छिमेकीबीचको ताजा निकटताको सङ्केत मानिएको छ।

उक्त भेटलाई सौहार्द र मैत्रीपूर्ण भनिएको छ।

चीन उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण व्यापार साझेदार हो र कोरियाली प्राय:द्वीपको भावी सुरक्षाप्रति उसको ठूलो चासो रहँदै आएको छ।