'परमाणु निश्शस्त्रीकरणका लागि किम प्रतिबद्धः चीन'

तस्बिर स्रोत, Reuters
उत्तर कोरियाली नेता किम जङ-अनले कोरियाली प्रायद्वीपमा परमाणु निश्शस्त्रीकरण गर्नका लागि प्रतिबद्धता जनाएको चीनले बताएको छ।
राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा किमको त्यस्तो प्रतिबद्धता आएको जनाइएको छ।
उत्तर कोरियाले गरेका प्रयासहरूलाई 'दक्षिण कोरिया तथा संयुक्त राज्य अमेरिकाले सद्भावका साथ लिए निश्शस्त्रीकरणको मुद्दा समाधान हुन सक्ने' किमले जनाएका छन्।
कोसेढुंगा
उत्तर कोरियाली सरकारी समाचार संस्था केसीएनले द्विपक्षीय सम्बन्धमा सुधार ल्याउन सो भ्रमणलाई एउटा 'कोसेढुंगा' भनेको छ।
सात वर्षअघि सत्ता सम्हालेयता किमले पहिलो पटक विदेश भ्रमण गरेका हुन्।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग आगामी मे महिनामा हुने भनिएको शिखर बैठकअघि किमले चीनको भ्रमण गरेका छन्।

तस्बिर स्रोत, Reuters
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार, सो भ्रमण 'उत्तर कोरियामाथि अधिकतम दबाब प्रयोग गर्ने अभियानले प्योङयाङसँग वार्ता गर्न अनुकूल वातावरण बनाउनेतर्फ काम गरिरहेको थप प्रमाण हो'।
सोलले पनि किमको चीन भ्रमणको स्वागत गरेको छ।
एप्रिल महिनामा किमले दक्षिण कोरियाली राष्ट्रपति मुन जे-इनलाई भेट गर्दैछन्।
चीन उत्तर कोरियाको प्रमुख आर्थिक साझेदार हो र आसन्न शिखर बैठकहरु गरिनुअघि उसले बेइजिङसँग सल्लाह गर्ने सम्भावना अधिक भएको ठानिएको थियो।























