उत्तर कोरियामा बन्धक तीन अमेरिकी छुट्ने अपेक्षा

तस्बिर स्रोत, Reuters
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा ट्वीट सन्देशमा उत्तर कोरियाले बन्दी बनाएका तीनजना अमेरिकीहरू छुट्न लागेको जनाएका छन्।
अमेरिकी अधिकारीहरुले श्रम शिविरबाट प्योङयाङ नजिकै ती व्यक्तिहरूलाई लगिएको भन्ने दक्षिण कोरियाबाट आएका विवरणको जाँच गरिरहँदा ट्रम्पको पछिल्लो भनाइ आएको हो।
राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जङ अनबीच शिखर बैठकको तयारी चलिरहेको बेला आएको यो खबरलाई चासोसाथ हेरिएको छ।
राष्ट्रपति ट्रम्पले विगतका अमेरिकी सरकारहरूले ती तीन बन्दीहरूलाई उत्तर कोरियाली श्रम शिविरबाट रिहा गर्न लामो समयदेखि माग गरिएको भएपनि त्यसले कुनै परिणाम नदिएको ट्विटरमा लेखेका छन्।
स्थानान्तरण
ट्रम्पले बन्दीहरू रिहाइको खबरका लागि केही समय पर्खन पनि भनेका छन्।

तस्बिर स्रोत, AFP
यसअघि दक्षिण कोरियाका एक जना अभियानकर्ताले उत्तर कोरियाले तीन जना अमेरिकी कैदीहरूलाई एउटा श्रम शिविरबाट प्योङयाङको बाहिरी क्षेत्रमा रहेको होटलमा स्थानान्तरण गरेको जानकारी समाचार संस्थाहरूलाई दिएका थिए।
दक्षिण कोरियाबाट अपहरण गरेर उत्तर पुर्याइएका परिवारहरूको समूहको नेतृत्व गर्ने चोइ सुङ-योंङले आफ्नो श्रोतलाई उद्धृतगर्दै किम हक-सोङ्, टोनी किम र किम दोङ-चुललाई एप्रिलको सुरूमा सारिएको जानकारी दिएका हुन्।
अमेरिकी विदेश मन्त्रालयले उक्त खबरको बैधानिकता पुस्टि गर्न नसकिएको जनाएको छ।
तर राष्ट्रपति ट्रम्पको ट्वीटले ती बन्दीहरू किम जङ अनसँग यसै महिनाको अन्त्यमा वा जुनको प्रारम्भमा हुने शीर्ष बैठक अघि रिहा हुनसक्ने सङ्केत दिएको छ।








