'अमेरिकाको उक्साहटपूर्ण कदमले कोरियाली शान्ति जोखिममा'

उत्तर कोरिया

तस्बिर स्रोत, AFP/Getty Images

Published

परमाणु अस्त्रहरू नत्यागेसम्म प्रतिबन्धहरू नहटाइने इङ्गित गरेर संयुक्त राज्य अमेरिकाले आफूलाई जानाजान भड्काएको आरोप उत्तर कोरियाले लगाएको छ।

वासिङ्टनले कोरियाली प्रायद्वीपमा सैन्य अस्त्र तथा उपकरणहरू परिचालन गरेर अहिलेको राम्रो माहोललाई बिगारिरहेको पनि उसले बताएको छ।

उत्तर कोरियाले नियमितजसो अमेरिकाको निन्दा गर्ने गर्छ।

कम आलोचना

तर उत्तर कोरियाली नेता किम जङ-अनसँग अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेट गर्ने योजनाबीच हालैका हप्तामा उसको तर्फबाट कमैमात्र आलोचना आएको छ।

उत्तर कोरियाको पछिल्लो भनाइले दुई देशबीच हुने वार्ता त्यति सहज हुने छैन भन्ने स्मरण गराएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले अबका केही हप्तामै भेट गर्दैछन्।

दुई देशका नेताबीच भएको यो नै पहिलो शिखर बैठक हुनेछ।

गत महिना उत्तर तथा दक्षिण कोरियाका नेताहरूले कोरियाली प्रायद्वीपमा परमाणु निःशस्त्रीकरण गर्न सहमति जनाएका थिए।

उत्तर कोरिया र ट्रम्पबीच महिनौँ लामो वाक्युद्धपछि दुई कोरियाको सिमानामा भएको शिखर बैठकका क्रममा त्यस्तो सहमति भएको हो।

किम सन् १९५३ को कोरियाली युद्धको अन्त्यपछि दक्षिण कोरियामा पाइला टेक्ने पहिलो उत्तर कोरियाली नेता बन्न पुगे।