ऐतिहासिक वार्तापछि दुई कोरियाको ‘परमाणु वाचा’

तस्बिर स्रोत, Getty Images
दुई कोरियाको सीमाक्षेत्रमा भएको ऐतिहासिक वार्तापश्चात् उत्तरका नेता किम जङ-अन तथा दक्षिणका राष्ट्रपति मून जे-इनले कोरियाली प्राय:द्वीपलाई परमाणु अस्त्र मुक्त पार्न काम गर्ने वाचा गरेका छन्।
सन् १९५३ मा युद्धविराममा टुङ्गिएको कोरियाली युद्धलाई स्थायी रूपमा अन्त्य गर्ने एक शान्ति सन्धि यसै वर्ष गरिसक्ने सहमति पनि दुई नेताले गरेका छन्।

केही महिना अगाडिको वाकयुद्धको स्थितिपश्चात् अहिले दुई बीच वार्ताको अवस्था आइपुगेको छ।
शान्तिको आकाङ्क्षा
वार्तापश्चात् बोल्दै किम जङ-अनले दुई कोरियाले झगडा गर्नुपर्ने कुनै कारण नरहेको भन्दै शान्तिप्रतिको चाहना दर्शाए।

तस्बिर स्रोत, AFP
उनले दुवै देश एक हुनुपर्ने भने तर आफ्नो देशको अस्त्र विकासबारे केही बोलेनन्।
दक्षिण कोरियाली राष्ट्रपतिले दुवै जनाले कोरियाली प्राय:द्वीपको पूर्ण परमाणु निरस्त्रीकरणमा प्रतिबद्धता जनाएको बताए।
त्यस्तो निरस्त्रीकरणका विस्तृत विवरण दिइएको छैन। कतिपय विश्लेषकहरूले अझै पनि उत्तर कोरियाको प्रतिबद्धताप्रति शङ्का व्यक्त गरेका छन्।








