फुटबलमा आर्सन भेङ्गरको योगदान कस्तो छ?

तस्बिर स्रोत, JOHN STILLWELL
आर्सलन फुटबल क्लबका म्यानेजर आर्सन भेङ्गरले २२ वर्षपछि उक्त क्लबको व्यवस्थापनको जिम्मा छाड्ने घोषणा गरेका छन्। उनले यो सिजनको अन्त्यमा पद त्याग्ने बताएका छन्।
फ्रान्सेली नागरिक आर्सन भेङ्गरले क्लबसँगको उनको करार समाप्त हुनु एक वर्षअघि नै जिम्मेवारी छाड्न लागेका हुन्।
६८ वर्षीय भेङ्गरले तीनवटा प्रिमिएरशिप उपाधि र सातवटा एफए कप जितेका छन्, सन् १९९८ र २००२ मा दोहोरो जित सहित।
उनले आर्सनल फुटबल क्लब, इङ्ग्लिश प्रिमिएर लिग र सम्भवत: समग्र फुटबल जगत्मा नै क्रान्तिकारी परिवर्तन ल्याउने गरी गरेका केही कामहरूको एक चर्चा।
अन्तर्राष्ट्रिय क्रान्ति
सन् १९९६ को शरद ऋतुमा भेङ्गरले ब्रुश रिओखलाई प्रतिस्थापन गरी प्रिमिएर लिगमा प्रवेश गरेका थिए। त्यसबेलाको लिग अब सन् २०१८ को मे महिनामा उनले छाड्न लागेको लिग भन्दा नितान्त भिन्न थियो।
अरू कुराका अतिरिक्त लिगमा खेल्ने बहुसङ्ख्यक खेलाडीहरू इङ्ग्लिश थिए। भेङ्गरले आफ्नो सबैभन्दा पहिलो खेलका लागि छानेका टोलीमा पनि त्यो कुरा झल्कन्छ। उक्त टोलीमा नौ जना इङ्ग्ल्यान्डवासी थिए, एक जना वेल्सका र एक जना मात्र विदेशी खेलाडी- प्याट्रिक भिएरा- थिए।
तर छिटै नै त्यो अवस्थामा परिवर्तन आयो। भेङ्गरको नियुक्तिको केही समय अघि मात्र 'बोसम्यान रुलिङ' भन्ने नियम लागु भएको थियो जसअन्तर्गत खेलाडीहरू युरोपभरि नै खुला रूपमा विभिन्न क्लबमा आबद्ध हुन पाउँथे। र भेङ्गरले युवा प्रतिभाशाली विदेशी खेलाडीहरूको पहिचान गर्ने कौशलमा आफूलाई अब्बल रूपमा प्रस्तुत गरे। उनले विशेषत: फ्रान्स र फ्रान्सेली भाषा बोल्ने अफ्रिकी देशहरूबाट खेलाडीहरूलाई आफ्नो टोलीमा समावेश गराए।
त्यसको नौ वर्षपछि सन् २००५ मा क्रिस्टल प्यालेसलाई ५-१ को अङ्कले जित्ने बेला भेङ्गरको टोलीमा एकजना पनि इङ्ग्लिश खेलाडी थिएनन्। सन् २०१७ को आरम्भतिर आइपुग्दा त उनले १५० पटक चयन गरेका खेलको शुरुआत गर्ने टोलीमा एक जना पनि इङ्ग्लिश खेलाडी परेका थिएनन्।
खुराक

तस्बिर स्रोत, Getty Images
आर्सनल फुटबल क्लबमा आबद्ध हुनुभन्दा पहिले भेङ्गर जापानको नागोया ग्र्याम्पस एट टोलीसँग सम्बद्ध थिए। उनले जापानमा "मोटो मान्छे देखेनन्।"
उनले बताए अनुसार "त्यहाँका मानिसहरूको खान्की उनले त्यस बेलासम्म खाएकोमध्ये सर्वोत्तम थियो।"
उनले भने,"जापानमा मानिसको जीवनशैली स्वास्थ्यसँग जोडिएको छ। तिनीहरूको खुराक भनेकै उसिनेको सागसब्जी, माछा र भात हो। इङ्ग्ल्यान्डमा मानिसहरू एकदम धेरै चिनी र मासु खान्छन् र पर्याप्त मात्रामा सागपात खाँदैनन्।"
उनले खानपानको त्यो शैली लन्डन लगे।
त्यसबेला इङ्ग्लिश फुटबल मदिरा सेवनका लागि कुख्यात थियो र खेलअघि खेलाडीहरूले खाने कार्वोहाइड्रेटले भरिपूर्ण खानेकुरा चर्चाको विषय हुने गर्थ्यो।
भेङ्गरको पहिलो खेलमा नै मध्यान्तरमा खेलाडीले खाने गरेका 'मार्स्बार' नामको चक्लेट बन्द गरियो र खेलाडीहरूले त्यसका लागि सानोतिनो विद्रोह नै गरेका थिए।
तर भेङ्गरले नै यो बहसमा जिते। खेलाडीहरुले पास्ताको सट्टा ब्रोकोली खानुपर्यो। सन् १९९० को दशकतिर फुटबल खेलाडीको पोषणका बारेमा विरलै चर्चा हुने गर्थ्यो। तर हाल प्रिमिएर लिगका खेलाडीहरुका लागि सावधानीपूर्वक विशेषज्ञले तयार पारेको खान्कीको व्यवस्था नहुने भन्ने त कल्पनाबाहिरको कुरा बन्न पुगेको छ।
भिन्न शैली

तस्बिर स्रोत, PA
फुटबल टोलीको शैलीसँग सम्बद्ध मानसिक सम्बन्धलाई नाटकीय रूपमा कोही क्लब व्यवस्थापकले परिवर्तन गर्न सकेका छन् भने ती भेङ्गर नै हुन्। उनको कार्यकालअघि आर्सनल क्लबले जित हासिल गरेका खेल पनि नीरस हुने गरेको भनेर व्यङ्ग्य गर्ने गरिन्थ्यो। तर भेङ्गरले तयार पारेका टोलीको खेल शैली त्यस्तो रहेन। थिएरी अनरी, डेनिस बर्ग्क्याम्प, मार्क ओभर्मास र पछि ज्याक विल्शेर, मेसुट ओजिल, एलेक्सिस सान्चेजजस्ता खेलाडी उनीसँग रहे।
राम्रो प्रदर्शनको चरमचुलीमा ती खेलाडीहरूले देखाएका फुटबल खेलकौशल सास रोकिने गरी नै सटिक र दर्शनीय हुन्थे। तिनको खेल हेर्न पाउनु कुनै पनि विशुद्धता खोज्ने दर्शकका लागि सपना पूरा भएजस्तो हुने गर्थ्यो। पछिल्ला दिनका खेलहरूमा त्यस्तो जादु नदेखिए पनि ती नीरस भन्ने पक्कै छैनन्।
नयाँ कीर्तिमान

तस्बिर स्रोत, PA/ROTA PA ROTA
भेङ्गरको पहिलो खेल उपाधिको कथा नाटकीय छ। म्यानचेस्टर युनाइटेडभन्दा छ अङ्कले तल परेको अवस्थाबाट उनको टोलीले जित हासिल गरेको थियो।
तर सन् २००३-०४ को वर्ष भेङ्गरको कार्यकालको नि:सन्देह सर्वोत्तम खण्ड रह्यो।
सन् १८८८-८९ मा प्रेस्टन नर्थ नामको टोलीले बाहेक कुनै पनि खेलमा हार नबेहोरीकन इङ्ग्लिश फुटबलको शीर्षस्थ प्रतियोगितामा अर्को टोली पुग्न सकेको छैन।
अठतीस खेल हुने सो प्रतियोगितामा त्यस्तो उपलब्धि हासिल गर्नुलाई लगभग असम्भव नै मानिन्थ्यो।
तर भेङ्गरको आर्सनलले त्यस्तो कीर्तिमान कायम गरेर देखायो।
क्लब छाड्ने घोषणा गर्दै भेङ्गरले भनेका छन्, "आर्सनललाई माया गर्नेहरू, कृपया क्लबका मूल्यमान्यताको हेरविचार गर्नुहोला!"
आर्सनल फुटबल क्लबले "सकेसम्म चाँडो" उनको उत्तराधिकारी नियुक्त गर्ने जनाएको छ।








