इटली चुनावः त्रिशंकु संसद् बन्ने संकेत

तस्बिर स्रोत, Getty Images
इटलीमा सम्पन्न आमचुनावपछि संस्थापन विरोधी फाइभ स्टार मुभमेन्टले आफूले शक्ति सन्तुलनमा योगदान पुर्याउने सक्ने बताएको छ।
उक्त चुनावमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याएको छैन र १० वर्षभन्दा कम समयअघि स्थापित फाइभ स्टार सबैभन्दा ठूलो दल बनेको छ।
दक्षिणपन्थीहरूको भन्दा उसले कम सीट जितेको छ। तर पार्टीका नेताहरूले नयाँ सरकारको खम्बा उक्त दल हुने बताएका छन्।
फाइभ स्टार मुभमेन्टले गठबन्धन सरकार बनाउने विषय अस्वीकार गरिरहेको छ।
गठबन्धन
आप्रवासन विरोधी लिग पार्टी वा पूर्वप्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनीको फोर्त्सा इटालियामध्ये कुन चाहिँ गठबन्धनभित्रको सबैभन्दा ठूलो दल बनेको छ भन्ने स्पष्ट भइसकेको छैन।
सर्वेक्षणहरूले बहुमत प्राप्त गर्ने अवस्थाको नजिक भने पूर्वप्रधानमन्त्री बेर्लुस्कोनीले नेतृत्व गरेको मध्य दक्षिणपन्थी गठबन्धन रहेको देखाएको छ।

तस्बिर स्रोत, Getty Images
सरकारको नेतृत्व सम्हालेको मध्य वामपन्थी दलले हार स्वीकार गरेको छ।
इटलीमा चुनाव जित्नलाई अरू पार्टीहरूसँग गठबन्धन गर्नुपर्ने हुन्छ।
मिलानस्थित बीबीसीका एक जना संवाददाता भन्छन्, अहिले नै इटलीको भावी सरकारको नेतृत्व कसले गर्नेछ भन्न सकिने अवस्था छैन।
तर स्पष्ट विजेता पत्ता लगाउन चाहिँ हप्तौंको वार्ता, लेनदेन र गठबन्धन निर्माण आवश्यक देखिन्छ।








