६० वर्षपछि इटली विनाको विश्वकप

तस्बिर स्रोत, Getty Images
६० वर्षमा पहिलो पटक इटली विश्वकप फुटबलमा छनौट हुन विफल भएको छ।
चार पटकको विश्वकप विजेता मिलानमा भएको छनौटको अन्तिम मौका खेल अर्थात् 'प्ले अफमा' स्वीडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो।
पहिलो चरणमा इटलीलाई ०-१ गोल अन्तरले हराएको स्वीडेनले अब अर्को वर्ष रुसमा हुने विश्वकपमा सहभागिता जनाउनेछ।
उक्त नतिजापछि इटलीका प्रशंसकहरुले निराशा व्यक्त गरेका छन्।

तस्बिर स्रोत, Reuters
शोकाकुल
आँसुमा डुबेका इटलीका ३९ वर्षीय गोलरक्षक जानलुइजी बुफोनले टोलीका प्रशंसकहरुसँग माफी मागेका छन्।
उनले भने, "मेरो अन्तिम औपचारिक खेलबाट इटली विश्वकपका लागि छनौट हुन नसकेको संयोग दुर्भाग्यपूर्ण हो।"
"यसको सबैले जिम्वेवारी लिनुपर्छ, कसैलाई पनि एक्लै दोषी बनाउनुहुँदैन।"
इटलीको एउटा प्रमुख खेल समाचारपत्रले टोलीको विफलतालाई 'महाप्रलय' भनेको छ र फुटबल टोलीका प्रशिक्षकलाई बर्खास्त गर्न माग गरेको छ।

तस्बिर स्रोत, AFP
तर इटलीका व्यवस्थापक ज्यामपिएरो भेन्टुराले आफ्नो राजीनामाबारे केही बताएका छैनन्।
इटलीका एकजना खेल पत्रकार मिना रुजुकी भन्छिन्, "विश्वकप खेल्न नपाउनु इटलीका लागि राष्ट्रिय शोक हो।"
अर्का विश्लेषकले स्विडेनसँगका दुई खेलमा एउटा पनि गोल गर्न नसक्ने इटलीको टोलीलाई माफी दिन नसकिने बताएका छन्।








