अमेरिका: विद्यालयमा गोली चल्दा १७ मारिए

विद्यालय

तस्बिर स्रोत, EVN

अमेरिकी सञ्चारमाध्यमले भनेका छन्, फ्लोरिडास्थित एउटा उच्च माध्यमिक विद्यालयमा भएको गोली प्रहारको घटनामा कम्तीमा १७ जना मारिएका छन्।

एकजना १९ वर्षीय पूर्वविद्यार्थीले सो आक्रमण गरेको ठानिएको छ।

अधिकारीहरूले अन्य १४ जना विद्यार्थी घाइते भएको बताएका छन्।

सन्दिग्ध आक्रमणकारी निकोलस क्रुजलाई गिरफ्तार गरिएको छ।

सुरक्षा

उनी मायामीभन्दा ७० किलोमिटर उत्तरमा पर्ने पार्कलेण्डमा रहेको मर्जोरी स्टोनमेन डग्लस हाइ स्कूलका पूर्वविद्यार्थी भएको विश्वास गरिएको छ।

फ्लोरिडा

तस्बिर स्रोत, EPA

विवरणहरूमा उनलाई विद्यालयबाट निष्कासन गरिएको समेत उल्लेख गरिएका छन्।

उनले आगो लागेको खतरा जनाउने घण्टी थिचेर विद्यालयमा अस्तव्यस्तता सिर्जना गराएको र त्यसपछि गोली चलाउन थालेको सुरक्षा निकायहरूले सीबीएस न्यूजलाई जानकारी दिएका छन्।

गोली चल्न थालेपछि विद्यार्थीहरूले कक्षा कोठाभित्र लुक्न बाध्य भएका थिए भने प्रहरीहरू विद्यालय परिसरलाई सुरक्षित बनाउने कारबाही तत्कालै थालेका थिए।

अमेरिकी संघीय जाँच निकाय एफबीआइले स्थानीय सुरक्षा निकायलाई अनुसन्धानमा मद्दत गरिरहेको जनाएको छ।

एउटा ट्विटर सन्देशमा राष्ट्रपति डोनल्ड ट्रम्पले कुनै पनि बालबालिका, शिक्षक वा अरू कोहीले पनि अमेरिकी विद्यालयमा कहिल्यै पनि असुरक्षित महसुस गर्न नहुने उल्लेख गरेका छन्।