भावी मुख्यमन्त्रीका अनुहार

मुख्यमन्त्रीहरु

तस्बिर स्रोत, facebook

सात प्रदेशमध्ये छवटामा सरकारको नेतृत्व गर्ने पक्कापक्की देखिएका दलहरुले मुख्यमन्त्रीका प्रत्यासी चुनेका छन्।

प्रदेश ४ मा सरकारको नेतृत्व गर्ने निश्चित देखिए पनि एमालेले त्यहाँ कसलाई उक्त जिम्मेवारी दिने भन्नेबारे टुंगो लगाउन सकेको छैन।

शुक्रवार एमालेले आन्तरिक चुनावबाट प्रदेश १ को संसदीय दलको रुपमा शेरधन राईलाई चयन गरेको छ।

प्रदेश संसदीय दलमा भएको चुनावमा राईले २६ र प्रतिस्पर्धी भीम आचार्यले २४ मत पाए भने एक मत बदर भएको थियो।

प्रतिस्पर्धा

प्रदेश ३ मा एमाले संसदीय दलको नेताको रुपमा डोरमणि पौडेल निर्वाचित भएका छन्।

योसँगै उनलाई प्रदेश ३ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।

उनले अष्टलक्ष्मी शाक्यलाई पराजित गरेका हुन्।

राजेन्द्र पाण्डे चुनावी मैदानबाट बाहिरिएपछि पौडेल र शाक्यबीच प्रतिस्पर्धा भएको थियो।

प्रदेश ५ मा यसअघि नै एमाले संसदीय दलले शंकर पोखरेललाई सहमतिमै नेता चयन गरिसकेको छ।

प्रदेश २ मा सरकारको नेतृत्वको दावी गरिरहेको संघीय समाजवादी फोरमले मोहम्मद लालबाबु राउत गद्दीलाई नेता चयन गरिसकेको छ।

सिफारिस

प्रदेश ६ मा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही पार्टीको संसदीय दलको नेता चुनिइसकेका छन्।

वाम गठबन्धनको भागवण्डा अनुसार प्रदेश ६ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिन एमालेले सहमति जनाइसकेको छ।

प्रदेश ७ को पार्टी कमिटीले माओवादी केन्द्रका संसदीय दलको नेताको रुपमा त्रिलोचन भट्टको नाम सिफारिस गरेको छ।

त्यहाँ पनि मुख्यमन्त्री माओवादी केन्द्रबाट हुने सहमति वाम गठबन्धनमा भइसकेको छ।

किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङ

तस्बिर स्रोत, facebook

तस्बिरको क्याप्शन, प्रदेश ४ मा किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङ मुख्यमन्त्रीको आकांक्षी देखिएका छन्

प्रदेश ४ मा मुख्यमन्त्री एमालेले लिने सहमति भएपनि कसलाई पठाउने भन्नेबारे एमालेले टुंग्याइसकेको छैन।

पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङ मुख्यमन्त्रीका आकांक्षी देखिएका छन्।