‘हिंसात्मकबाहेक अरू प्रदर्शन गर्न स्वतन्त्र’

इरान

तस्बिर स्रोत, AFP

इरानका राष्ट्रपति हसन रुहानीले नागरिकसँग विरोध गर्ने अधिकार रहेको जनाउँदै हिंसात्मक गतिविधि गर्ने हक भने नभएको बताएका छन्।

चार दिनयता भएका सरकार विरोधी प्रदर्शनपछि पहिलो पटक प्रतिक्रिया दिँदै उनले तोडफोड वा सामाजिक अमनचयनमा खलल पुर्‍याउने कुनै पनि प्रयास सरकारका लागि सह्य नहुने चेतावनी दिए।

उनले अन्तर्राष्ट्रिय प्रतिबन्धहरू अहिले इरानमा देखिएका समस्याको कारक भएको बताए।

सरकार विरोधी प्रदर्शनहरू राजधानी तेहरानबाहेक अन्यत्र पनि फैलिरहेका छन्।

आन्दोलन

सन् २००९ मा भएका विशाल र्‍यालीयताकै सबैभन्दा ठूला विरोधका कार्यक्रमहरू हाल इरानमा भइरहेका छन्।

कतिपय शहरहरूमा झडप भइरहेको छ र इरानले आन्दोलनका लागि प्रयोग भएको भन्दै सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाएको छ।

इरान

तस्बिर स्रोत, AFP

अमनचयन कायम राख्न टेलिग्राम र इन्स्टाग्राम जस्ता एप्सहरूमाथि अस्थायी प्रतिबन्ध लगाइएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

देशको उत्तरपूर्वबाट शुरु भएको आन्दोलनमा आर्थिक कठिनाइ र मूल्य वृद्धिसम्बन्धी मागहरू समावेश थिए।

तर धेरै ठाउँमा यसले राजनीतिक रंग लिएको छ र आन्दोलनकारीहरूले देशका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी, राष्ट्रपति रुहानी र इरानको हस्तक्षेपकारी क्षेत्रीय नीतिको विरोधमा नाराबाजी गर्दै आएका छन्।

आलोचना

आफ्नो पछिल्लो ट्विटर सन्देशमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अन्तत: इरानीहरू बुद्धिमान् बन्दै गएको र आफ्ना सम्पत्ति र पैसा चोरी गरी आतंकवादलाई बढावा दिन खर्च गरिएको थाहा पाएको बताएका थिए।

आन्दोलन शुरु भएयता पहिलो पटक प्रतिक्रिया दिँदै राष्ट्रपति रुहानीले ट्रम्पको आलोचना गरे।

उनले अमेरिकी राष्ट्रपति ट्रम्प 'शिरदेखि पाउसम्मै' इरानको शत्रु रहेको बताए।

बीबीसी पर्सियनका कसरा नाजी भन्छन्, हाल प्रदर्शनहरू साना शहरमा फैलिरहेका छन् र यो क्रम बढ्न सक्ने देखिन्छ।

उनका अनुसार आन्दोलन नेतृत्वविहीन छ किनभने इरानमा विपक्षी नेताहरूलाई या त मौन बनाइएको छ या निर्वासनमा पठाइएको छ।