सामाजिक सञ्जाल चुनावमय

मतदान

तस्बिर स्रोत, Reuters

देशका ४५ जिल्लामा भइरहेको दोस्रो चरणको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनले सामाजिक सञ्जालमा उल्लेख्य चर्चा बटुलिरहेको छ।

त्यस्ता प्रतिक्रियाहरुमा जारी चुनावहरुले नेपालमा वर्षौयता कायम राजनीतिक संक्रमणकालको अन्त्य गर्ने अपेक्षा गरिएका छन्।

तर कतिपय प्रतिक्रियामा नेपाललले अहिले अपनाएको चुनाव प्रणालीले देशलाई स्थिरतातर्फ डोर्याउन नसक्ने टिप्पणी पनि गरिएका छन्।

दश वर्षे सशस्त्र द्वन्द्व अन्त्य भएपछि शुरु भएको शान्ति प्रकिया अन्तर्गत दुई वर्षअघि संविधानसभाले जारी गरेको नयाँ संविधान कार्यान्वयनको दिशामा यी चुनावलाई महत्त्वपूर्ण भनिएको छ।

आशा

सामाजिक सञ्जालमा ट्वीटरमा व्यक्त आफ्नो प्रतिक्रियामा सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चला झाले लेखेकी छन्, "आजको चुनावपछि मुलुकले विधिवत् रुपमा नै संघीय प्रणालीको अभ्यास गर्नेछ। सधैँ केन्द्रीकृत शासन प्रणालीमा अभ्यस्त नेपालका लागि निश्चय नै यो नयाँ प्रयोग हो। यसको सफलता मुलुकको सफलतासँग जोडिएकाले सचेत भएर मतदान गरी देशलाई जिताऔँ।"

मतदान

पूर्व प्रशासक विद्याधर मल्लिकले पनि चुनावमार्फत सहभागितामूलक राजनीतिक अभ्यास शुरु हुने अपेक्षा गरेका छन्।

उनले ट्वीटरमा लेखेका छन्, "दलहरुलाई अभिमतप्रति उत्तरदायी बन्न शुभकामना, पक्ष प्रतिपक्ष असन्तुष्ट पक्षसँगै बसेर लोकको सम्मान र समृद्धिको बाटो कोर्न सकून्।"

देशमा प्रतिकूलताका माझ संविधान जारी भएको र त्यसका कारण अहिलेको चुनाव सम्भव भएको प्रसङ्गलाई पनि सामाजिक सञ्जालमा स्मरण गरिएको छ।

नागरिक अगुवा कनकमणि दीक्षितले लेखेका छन्, "नेपालका शीर्षस्थ नेताहरुबारे यतिका नकारात्मक टिप्पणी हुँदै गर्दा यति भनौँ- अत्यन्त विषम परिस्थिति र विदेशी हस्तक्षेपमाझ संविधान पारित गर्न सफल हुँदै भविष्यको बाटो पहिल्याउन सम्भव बनाइदिएको कुरा नबिर्सौँ।"

मतदान

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता मनिष झाले लेखेका छन्, "साँच्चिकै अब यो संक्रमणको अन्त्य होस्, लोकतन्त्र र निर्वाचन स्वीकार्ने सबैको जय होस्।"

'उकुसमकुस'

पत्रकार सरला गौतमले चुनावले देशले हालैका वर्षमा भोगेका उकुसमुकस अन्त्य गर्ने अपेक्षा गरेकी छन्।

मतदान

तस्बिर स्रोत, EPA

उनले ट्वीटरमा लेखेकी छन्, "उकुसमुकस भएका नेपालीका सपना नदी सरी बग्नेछन्, व्यवधान छिचोलेर!! जय चुनाव!"

राजनीतिक टिप्पणीकार विष्णु सापकोटा धनी मुलुकहरुभन्दा पनि 'लोकतान्त्रिक र स्वच्छ ढंङ्गले' नेपालले चुनाव गराइरहेको उल्लेख गरेका छन्।

तर अर्का टिप्पणीकार राजेन्द्र महर्जनले चुनावी प्रकियामा रहेका त्रुटिका कारण यसपटकको चुनावले पनि मतदाताका हक अधिकार सुनिश्चित गर्न नसक्ने विचार राखेका छन्।

उनले ट्वीटरमा लेखेका छन्, "विडम्बना, मत दान दिने बाहेक मतदाताको कुनै भूमिका नहुने निर्वाचन प्रणालीलाई नै सबैभन्दा लोकतान्त्रिक पद्धति भन्ने गरिन्छ, मतदाताका हक, अधिकार र सेवा सुविधाका लागि जनतासँगै सक्रिय हुने राजनीतिक नेतृत्व र तिनलाई चुन्ने प्रकियाको खडेरी छ।"