चिम्पाञ्जी: विशेष संरक्षण गर्नुपर्ने समूहमा

खतरामा परेका जनावर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, चिम्पाञ्जी जस्ता प्रजातिको संख्या घट्दो छ, तीन पुस्ताअघिको तुलनामा अहिले त्यसको संख्या ५० % कम भइसक्यो

संयुक्त राष्ट्र संघको समर्थन रहेको वन्यजन्तुसम्बन्धी फिलिपिन्समा भएको एक सम्मेलनमा ३३ प्रकारका खतरामा परेका प्रजातिका लागि थप सुरक्षा आवश्यक परेको पक्षमा मतदान भएको छ।

थप संरक्षण आवश्यक परेका जनावरमा चिम्पाञ्जी, चितुवा र जिराफ परेका छन्।

विश्वका सबभन्दा ठूला माछा मध्ये एक- ह्वेल शार्क पनि उक्त सूचीमा परेका छन्।

मौसम अनुसार एकदेशबाट अर्को देशमा पुग्ने घुमन्ते प्रजातिको संरक्षण गर्नुपर्ने माग पनि गरिएको छ।

दायित्व

आयोजक समुहका कार्यकारी सचिव ब्राड्नी च्याम्बरले भने, "घुमन्ते प्रजातिको भविष्य हाम्रो भविष्यसँगै जोडिएको कुरा हो र त्यसलाई जोगाउनु हाम्रो दायित्व।"

सरकारी प्रतिनिधिहरुले समुन्द्रको फोहोरको नकारात्मक असर कम गर्न ध्वनि प्रदूषण र जलवायु प्रदूषणको प्रभाव कम गर्नेतर्फ सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रम संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम 'युनेप'को सहयोगमा भएको थियो।

पौडी

तस्बिर स्रोत, AFP/getty

तस्बिरको क्याप्शन, पर्यटकहरु फिलिपिन्समा ह्वेल शार्कसँगसँगै पौडिन पाउँछन्

१२९ देशका १ हजारभन्दा बढी प्रतिनिधिहरु कार्यक्रममा सहभागी थिए।

चीनका प्रतिनिधिहरु उक्त कार्यक्रममा प्रतिनिधि थिएनन् तर आयोजकहरुका अनुसार चीनले पनि हस्तिहाड व्यापार बन्द गर्ने र शार्कको पखेटाको झोल खाने चलनमा प्रतिबन्ध लगाएकाले केही प्रगति गर्दैछ।

अफ्रिकाका केही स्तनधारी लगायत दश प्रकारका गिद्ध प्रजाति पनि विशेष संरक्षण गर्नुपर्नेमा परेका छन्।

गोबी भालु

जिराफहरु पनि संसारमा घट्दै गएका छन्।

अब जम्माजम्मी ९०,००० जिराफहरु बाँकी रहेको बताइन्छ।

मंगोलिया र चीनमा मात्र पाइने त्यति प्रचारमा नआएको गोबी मरुभूमिमा पाइने गोबी भालु पनि संरक्षण गर्नुपर्ने बताइएको छ।

आयोजकहरुका अनुसार प्राकृतिक बासस्थानमा त्यस्ता प्रकारका भालु अब ४५ वटा मात्र बाँकी रहेका छन्।