क्याटलोनियाले स्वतन्त्रता थेग्न सक्ला?

तस्बिर स्रोत, Getty Images
क्याटलोनियाका सरकार प्रमुख कारलस पुज्डमोनले गत मंगलवार बीबीसीसँग कुरा गर्दै अबको केही दिनभित्रै क्याटलोनिया स्पेनबाट स्वतन्त्र भएको घोषणा गरिने बताएका थिए।
गत आइतवार सम्पन्न विवादास्पद जनमत संग्रहलाई स्पेनको संवैधानिक अदालतले असंवैधानिक घोषणा गरिसकेको छ।
पृथकतावादी नेताहरुका अनुसार जनमत संग्रहमा ४० प्रतिशत अर्थात् करिब २३ लाख मानिसले मतदान गरेका थिए र त्यसमध्ये ९० प्रतिशतले छुट्टिनुपर्ने पक्षमा मत खसालेका थिए।
जनमत संग्रह रोक्ने क्रममा स्पेनको राष्ट्रिय प्रहरीले बल प्रयोग गर्दा करिब ८०० जना घाइते भएका थिए।
अनुचित दबाब
त्यसका बावजुद स्पेनबाट अलग हुने क्याटलन नेताहरुको संकल्प दृढ रहेको देखिन्छ।
स्पेनका प्रधानमन्त्री मारिआनो राखोयले अलग्गिने कदम रोक्ने पूर्ण सम्भावना छ।
क्याटलोनियाका नेताहरु राज्यद्रोहमा संलग्न रहेको भनी स्पेनी राजा फेलिपे छैठौंको आरोपको पुज्डमोनले आलोचना गरेका थिए।

तस्बिर स्रोत, Getty Images
भिडन्तको अवस्था आउन नदिन अन्तर्राष्ट्रिय मध्यस्तताका लागि उनले अपील समेत गरे।
स्पेनी सरकारले एउटा वक्तव्य जारी गर्दै 'ब्ल्याकमेलिङ' अर्थात् अनुचित दबाब स्वीकार्य नहुने बताएको थियो।
र, कुनै प्रकारको वार्ताअघि क्याटलोनियालाई कानूनी रुपमा स्वीकार्य बाटोमा फर्काउनुपर्ने शर्त उसले अघि सारेको छ।
आर्थिक भार
क्याटलोनिया स्पेनबाट छुट्टियो भने के आफूलाई स्वतन्त्र राष्ट्रका रुपमा कायम राख्न सक्ला?
झट्ट हेर्दा क्याटलोनिया पहिल्यैदेखि एउटा स्वतन्त्र राष्ट्र हुनसक्ने हैसियत देखिन्छ।
क्याटलोनियासँग आफ्नै प्रहरी छ, संसद्, झण्डा र उसका नेता पुज्डमोन छन्।

तस्बिर स्रोत, Getty Images
दूरसञ्चारका लागि क्याटलोनियाको आफ्नै नियामक निकाय छ भने विदेशमा त्यसका प्रतिनिधि कार्यालयहरु पनि छन्।
त्यसले विद्यालय तथा स्वास्थ्य जस्ता महत्त्वपूर्ण सार्वजनिक सेवाहरुको प्रबन्ध पनि मिलाउँछ।
यद्यपि स्वतन्त्र भएपछि क्याटलोनियाले धेरैथोक गर्नुपर्ने हुन्छ जस्तो कि सीमा प्रबन्ध, सीमा शुल्क, एउटा केन्द्रीय ब्यांक, अन्तर्राष्ट्रिय सम्बन्धको स्थापना इत्यादि।
यी सबैकुराको व्यवस्थापन हाल मड्रिडले गर्दै आएको छ।
बढी सम्पन्न
तर यी सबै आफैंले गर्नुपर्ने भए के क्याटलोनियाले आर्थिक भार वहन गर्न सक्ला?
क्याटलोनियाका स्वतन्त्रता पक्षधरहरुबीच एउटा नारा लोकप्रिय छः 'मड्रिड नो रोबा' अर्थात् 'मड्रिडले हामीलाई लुटिरहेको छ'।
क्याटलोनियाका बासिन्दाहरुको एउटा बुझाई के छ भने स्पेनबाट उनीहरुले जति पाइरहेका छन् त्यो भन्दा बढी उनीहरुले तिरिरहेका छन्।
क्याटलोनिया स्पेनका अन्य क्षेत्रभन्दा तुलनात्मक रुपमा बढी सम्पन्न छ।
स्पेनको कुल जनसंख्यामध्ये १६ प्रतिशत हिस्सा क्याटलोनियाको छ तर स्पेनको कुल ग्राहस्थ उत्पादनमा १९ प्रतिशत र निर्यातमा २५ प्रतिशत हिस्सा रहेको छ।

तस्बिर स्रोत, Getty Images
स्पेनको पर्यटन क्षेत्रमा पनि क्याटलोनियाको राम्रो स्थान छ।
सन् २०१६ मा स्पेनमा साढे ७ करोड पर्यटकले भ्रमण गरेकोमा त्यसमध्ये १ करोड ८० लाख क्याटलोनिया पुगेका थिए।
त्यसबाहेक क्याटलोनिया सरकारले आफ्नो क्षेत्रबाट खर्चभन्दा कर बढी तिर्ने गर्छ।
स्पेनको केन्द्र सरकारका अनुसार अलग भयो भने क्याटलोनियाको अर्थतन्त्रमा ठूलो धक्का पुग्नेछ अर्थात् २५ प्रतिशतले गिरावट आउनेछ।
ठूलो ऋणको भार
त्यसबाहेक क्याटलोनियामाथि ठूलो ऋणको भार छ।
क्याटलोनियाको आर्थिक शक्ति यस कुरामा पनि निर्भर गर्नेछ कि ऊ युरोपेली संघमा आबद्ध रहिरहनेछ वा एकल बजारमा जानेछ।
क्याटलोनियाको वैदेशिक निर्यातको दुई तिहाई हिस्सा युरोपेली संघलाई जान्छ।
यदि स्पेनबाट क्याटलोनिया छुट्टियो भने इयुको सदस्य हुन उसले प्रक्रिया अगाडि बढाउनुपर्ने हुन्छ।
उसले स्वतः वा तत्कालै इयुको सदस्या पाउने छैन र सदस्यताका लागि सबै सदस्य मुलुकको सहमति आवश्यक हुनेछ।








