‘स्वतन्त्र राष्ट्र बनाउने अधिकार पायौँ’

तस्बिर स्रोत, AFP
क्याटलोनिया सरकारले स्पेनबाट छुट्टिनका लागि आइतवार गराएको जनमत संग्रहमा ४० प्रतिशत जनताले मत खसालेको जनाएको छ।
खसेको मतमध्ये ९० प्रतिशत मत स्पेनबाट अलग्गिनुपर्ने पक्षमा रहेको सरकारको दाबी छ।
बार्सिलोनामा एउटा ठूलो भीडलाई सम्बोधन गर्दै क्षेत्रीय सरकार प्रमुख कारलस पूजमोनले क्याटलोनियाका जनताले स्वतन्त्र राष्ट्र बनाउने अधिकार प्राप्त गरेको बताए।
उनले भने, जनमत संग्रहको नतिजा मैले संसद्लाई पठाउनेछु ताकि संसद्ले कानून बमोजिम त्यसमाथि काम गरोस्।
झडप
तर स्पेनको केन्द्र सरकारले जनमत संग्रह अवैध भएको घोषणा गरेको छ।
प्रधानमन्त्री मारिआनो राखोयले क्याटलोनियाका अधिकांश जनता स्वतन्त्र राष्ट्रको पक्षमा नरहेको बताएका छन्।

तस्बिर स्रोत, Getty Images
आइतवार भएको जनमत संग्रहका क्रममा कैयौँ स्थानमा प्रहरी र स्वतन्त्रता पक्षधरबीच हिंसात्मक झडपहरु भए।
मड्रिडको आदेशमा राष्ट्रिय प्रहरीले करिब सयवटा मतदान केन्द्रहरु बन्द गराएको थियो भने मतदानका लागि कुरिरहेका मतदातामाथि बल प्रयोग गरेको थियो।
कारबाही
क्याटलन अधिकारीहरुका अनुसार कम्तीमा ८०० जना घाइते भएका छन्।
जिरोना शहरमा भीडहरुलाई सुरक्षा दिइरहेका समूहमाथि प्रहरीले लाठी चार्ज गरिरहेको भिडिओ फूटेजमा देखिन्छ।
प्रदर्शनकारीहरुको ढुंगामुढाबाट १२ जना प्रहरी घाइते भएको अधिकारीहरुले बताएका छन्।
बार्सिलोना नगर प्रमुखले 'प्रतिरक्षा गर्ने अवस्थामा नरहेका जनता'माथि प्रहरीले कारबाही गरेको भन्दै निन्दा गरेकी छन्।
तर स्पेनका उपप्रधानमन्त्री सोराया साएन्ज डी सान्तामारियाले प्रहरीले जायज ढंगले कदम चालेको बताएका छन्।








