मध्यस्थताको आग्रह स्पेनद्वारा अस्वीकार

तस्बिर स्रोत, EPA
स्पेन सरकारले क्याटलोनियाको स्वतन्त्रताको मागलाई लिएर उत्पन्न विवाद समाधानको निम्ति क्याटलान नेता कारलस पूजमोनले राखेको मध्यस्थताको प्रस्ताव अस्वीकार गरिदिएको छ।
क्याटलान नेताहरुद्वारा एकपक्षीय रुपमा सम्भावित स्वतन्त्रता घोषणातर्फ घडीको सुई अघि बढिरहेका बेला स्पेन सरकार अझै दृढ देखिन्छ।
गत आइतबार क्याटलोनियामा गरिएको जनमत संग्रह असंवैधानिक रहेको स्पेनको आधिकारिक मत छ।
अदालतले पनि गैरकानूनी भन्दै त्यसको कुनै कानूनी हैसियत नरहेको घोषणा गरेको छ।
मोलमोलाइ
क्याटलान नेता कारलस पूजमोनले भिडिओ सन्देशमार्फत मध्यस्तताको प्रस्ताव गरेका थिए।
त्यसको प्रतिक्रिया स्वरुप स्पेन सरकारले प्रधानमन्त्री मारिआनो राखोइको कार्यालयमार्फत विज्ञप्ति निकालेर उक्त प्रस्ताव अस्वीकार गरेको छ।
विज्ञप्तिमा सरकारले कुनै गैरकानूनी कदमलाई लिएर सम्झौता नगर्ने वा मोलमोलाइ स्वीकार नगर्ने धारणा सार्वजनिक गरेको छ।
सहमति खोजेको भए पुजमोन कानूनी बाटोमा फर्किनु पर्ने पनि सरकारको भनाइ छ।
विवाद

तस्बिर स्रोत, Getty Images
त्यसले क्याटलोनियाको स्वतन्त्रता घोषणाको कुरा त्याग्नु पर्ने संकेत गरेको संवाददाताहरुले उल्लेख गरेका छन्।
युरोपका अन्य सरकारहरुले कानूनी शासन व्यवहारत: अपनाइनु पर्ने भन्दै स्पेनलाई बल दिएका छन्।
क्याटलोनियाका क्षेत्रीय सरकार प्रमुख कारलस पूजमोनले यसै हप्ताको अन्त्यतिर अथवा आगामी हप्ताको शुरुतिर स्पेनबाट क्याटलोनिया स्वतन्त्र भएको घोषणा गरिने बीबीसीलाई बताएका थिए।
स्पेनबाट छुट्टिनका लागि भन्दै क्याटलोनियामा आइतबार भएको जनमत संग्रहले चर्को विवाद निम्त्याइ दिएको छ।








