ब्रेक्जिट पश्चात दुई वर्षे संक्रमणकालको प्रस्ताव

तस्बिर स्रोत, .
ब्रिटिस प्रधानमन्त्री टरिजा मे ले ब्रेक्जिट अर्थात् युरोपेली युनियन ईयुबाट मार्च सन् २०१९ मा ब्रिटेन अलग भएपश्चात दुई वर्षको संक्रमणकालको प्रस्ताव गरेकी छन्।
उनले ईयूसंगको आर्थिक सम्बन्ध कायम राख्न महत्तावकांक्षी नयाँ ढाँचा बनाउनका लागि आह्वान गरेकी छन्।
प्रधानमन्त्री मे ले, ईटालीको फ्लोरेन्समा गरेको एक सम्बोधनमा अबको सन्दर्भमा पुराना ढाँचाहरु उपयुक्त नहुने बताएकी छन्।
उनले ब्रिटेनले धेरै प्रजातान्त्रिक नियन्त्रण गुमाउने भन्दै नर्वे र स्वीट्जर्ल्याण्ड आबद्ध रहेको युरोपेली आर्थिक क्षेत्रको मोडललाई अस्वीकार गरिन्।
त्यस्तै क्यानडासँगको ईयुको स्वतन्त्र व्यापार सम्झौतासम्बन्धी तयार पारिएको ढाँचा पनि ब्रिटेनको हालको ईयुसँगको सम्बन्धसँग तुलना गर्दा निकै संकुचित हुने उनले बताएकी छन्।
गति
उनको उक्त सम्बोधन ईयूबाट ब्रिटेन अलग्गिनेबारे हाल अवरुद्ध रहेका वार्तालाई नयाँ गति दिनका लागि आएको हो।
सो वार्ता सोमबार शुरु हुने छ।
आफ्नो सम्बधोनमा उनले सन् २०१९ को मार्चमा ईयु बाट ब्रिटेन औपचारिक रुपमा अलग भएपछि त्यसपछिका दुई वर्षसम्मका लागि एउटा संक्रमणकालीन सम्झौताको प्रस्ताव गरिन्।
उक्त सम्झौता इयुसंगको एक स्थायी व्यापार सम्झौता पूर्व हुने गरि प्रस्तावित छ।
त्यसमा दुई वर्ष समयका लागि ब्रिटेनले तिर्नुपर्ने २० अर्ब यूरो पनि समावेश छ।
बीबीसीका राजनीतिक सम्पादक भन्छन् उक्त प्रस्तावलाई ब्रिटेनले संक्रमणकालको अवधिलाई बढाउन खोजिरहेको छ भन्ने कुराको पहिलो र स्पष्ट अभिव्यक्ति मानिनेछ।
सन् २०१६ को जून महिनामा जनमतसंग्रहमार्फत् ब्रिटेनले ईयूबाट छुट्टिने निर्णय गरेको थियो।
तर अलग्गिने प्रक्रिया लामो भएकाले यसले अलग हुनुपर्ने पक्षमा मतदान गरेका मतदाताहरु निराश हुन सक्ने बताइएको छ।








