दूषित अण्डाको त्रास फैलँदो

विषादीयुक्त अण्डा

तस्बिर स्रोत, AFP

युरोपेली कुखुरा फार्महरुमा उत्पादन गरिएका र हानीकारक किटनाशक औषधिको दूषित अंश भएका अण्डाहरु १५ वटा विभिन्न युरोपेली देशहरुका अतिरिक्त स्वीट्जरल्याण्ड र हंगकंगमा समेत फेला परेको बताइएको छ।

ती कुखुराका अण्डाहरुमा फिप्रोनील नामक किटनाशक औषधि फेला परेको छ जसले मानिसको मृगौला, कलेजो र थाइरोइड ग्रन्थीमा क्षति पुर्‍याउन सक्छ।

खाद्य सुरक्षा मामिलाका युरोपेली आयुक्तले त्यस्तो दुषित अण्डाको समस्या समाधानका लागि उच्चस्तरिय वार्ता गर्न आह्वान गरेका छन्।

यो प्रकरण जारी रहँदा युकेका चारवटा ठूला सुपर मार्केटहरुले अण्डा र अण्डाजन्य खानेकुराहरु बेच्न बन्द गरेका छन्।

त्रास

हानीकारक विषादीको अवशेष भएका दुषित अण्डाको त्रास अब ती अण्डाहरु उत्पादन भएका देशहरुको सीमाभन्दा पर पनि पुग्न थालेको छ।

फ्रान्सले फिप्रोनील नामक किटनाशक औषधिको अंश रहेका झण्डै अढाई लाखवटा अण्डा गत एप्रील र जुन महिनाको बीचमा आयात गरिएको घोषणा गरेको छ।

अब खाद्य सुरक्षा मामिलाका लागि युरोपेली आयुक्तले यो त्रासका बारे मन्त्री तथा नियामक अधिकारीहरुसंग आगामी सेप्टेम्बर २६ तारिखमा ब्रसल्समा वार्ता गर्ने बताएका छन्।

तर उक्त भेटघाटलाई संकटकालीन बैठक भने भनिएको छैन।

दूषित अण्डा विक्रिवितरण प्रकरणलाई लिएर जर्मनीले बेल्जियमको आलोचना गरेको र बेल्जियमले नेदरल्याण्ड्स तर्फ औंला तेर्स्याउने गरेको घटनाका सम्बन्ध बोल्दै ती आयुक्तले यो अरुलाई दोष दिने र लज्जित तुल्याउने समय नभएको बताएका छन्।

अण्डा

तस्बिर स्रोत, Reuters

उनले त्यस्तो कार्य नगर्न देशहरुलाई आग्रह पनि गरेका छन्।

अवशेष

विशेषगरी नेदरल्याण्ड्सबाट आउने अण्डाहरुमा सो फिप्रोनील नामक विषादीको अवशेष भेटिएको छ।

खाद्य उद्योगमा सो विषादीको प्रयोगमा इयुले प्रतिबन्ध लगाएको छ। केही कुखुरा फार्महरुलाई किटाणुमुक्त तुल्याउन त्यो विषादी प्रयोग गरिएको बुझिएको छ।

ठूलो मात्रामा फिप्रोनीलको सेवन गरिएमा त्यसले मानिसहरुको मृगौला, कलेजो र थाइरोइड ग्रन्थीमा हानी पुर्‍याउन सक्छ।

तर खाद्य गुणस्तर निकायहरुले मानिसहरुले ती दुषित अण्डाहरुको सेवन गरेको नै भएपनि त्यसबाट स्वास्थ्यमा असर पर्ने जोखिम नरहेको बताइरहेका छन्।

दूषित अण्डाको त्रास फैलिरहेको भएता पनि अण्डामा रहेको विषादीको मात्राले मानव स्वास्थ्यमा हानी पुर्‍याउने जोखिम भने न्यून नै रहेको दावी गरिएको छ।

शुक्रबार बोल्दै युरोपेली आयोगका प्रवक्ता ड्यानिएल रोजारियोले भनेका छन् फिप्रोनीलको प्रयोग भएको पुष्टि भएका नेदरल्याण्ड्स, बेल्जियम, जर्मनी र फ्रान्सका कुखुरा फार्महरुलाई बन्द गरिएको छ।

त्यस्तो दूषित अण्डा निर्यात भएका इयु राष्ट्रहरुमा युके, स्वीडेन, अष्ट्रिया, आयरल्याण्ड, इटली, लक्जम्बर्ग, पोल्याण्ड, रुमेनिया, स्लोभीनिया, स्लोभाकिया र डेनमार्क छन्।

गैर-इयु मुलुकहरु स्वीट्जरल्याण्ड र हंगकंगमा पनि त्यस्ता अण्डाहरु भेटिएका छन्।