किसान किन विषादी प्रयोग गर्न वाध्य छन्?

किसान

रासायनिक विषादीको प्रयोगविना व्यावसायिक तरकारी खेती गर्न लगभग असम्भव भएको कतिपय किसानहरुले बताएका छन्।

विकल्पमा प्रयोग गर्न सकिने भनिएका जैविक तथा वानस्पतिक विषादी कम प्रभावकारी मात्र होइन सहजै उपलब्ध पनि हुन नसक्ने उनीहरुको तर्क छ।

रासायनिक विषादीको अनियन्त्रित प्रयोगले स्वयं किसान तथा आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको विज्ञहरु बताउँछन्।

दुष्प्रभाव

नेपालमा प्रति हेक्टर ३९६ ग्राम विषादी प्रयोग हुने गरेको विज्ञहरु बताउँछन् जुन संसारका अन्य देशहरुको तुलनामा निकै न्यून हो।

तर पनि नेपालमा त्यसको दुष्प्रभाव भने निकै उच्च छ।

अझै धेरै किसानहरुलाई रासायनिक विषादी र तिनको प्रयोगको सही तरीकाबारे जानकारी नभएको वाली संरक्षण निर्देशनालयका निर्देशक डिल्लीराम शर्माले बताए।

"विश्वको तुलनामा यहाँ विषादीको प्रयोग न्यून हुन्छ। तर पनि जनचेतनाको कमीले समस्या ठूलो भएको छ।," शर्माले भने।

रासायनिक विषादीको विकल्पको रुपमा प्रयोग गर्न सकिने जैविक तथा वानस्पतिक विषादीबारे जानकार किसानहरु पनि रासायनिक विषादीको प्रयोग रोक्न नसकिने बताउँछन्।

किसान

तरकारी मात्र होइन अन्न बालीसमेत विषादीको प्रयोगविना नउम्रने र नसप्रने स्थिति बनेको उनीहरुको भनाइ छ।

बनेपा नालाका एक जना किसान सुमन श्रेष्ठले भने, "विषादी नराखीकन केही उत्पादन हुँदैन। कसैकसैले प्रयत्न गरेका पनि हुन् तर सम्भव भएन।"

सुलभता

विषादी प्रयोग गर्दा समय, मात्रा, किसिम र सावधानीबारे पर्याप्त सचेतना नहुँदा किसान स्वयं समेत क्यान्सर जस्ता कडा रोगको बढी जोखिममा पर्ने विज्ञहरु बताउँछन्।

रासायनिक विषादीको न्यूनीकरणका लागि कार्यक्रम तथा वैकल्पिक प्रविधिहरुको प्रचारप्रसार समेत भएको बताइन्छ।

तर ती प्रविधि र वैकल्पिक विषादीहरु सर्वसुलभ नभएका कारण अहिले पनि रासायनिक विषादी प्रयोग गर्नेको संख्यामा कमी आइनसकेको निर्देशक शर्माले स्वीकार गरे।

"सजिलो छाडेर अप्ठेरोमा जान किसानहरु चाहँदैनन्। दोस्रो कुरा, जैविक विषादी जसरी पायो त्यसरी राख्न मिल्दैन। त्यसको तापक्रम मिलाउनु पर्छ। ती त्यति सहज उपलब्ध पनि छैनन् अनि तिनले छर्ने वित्तिकै तुरुन्तै परिणाम पनि दिंदैनन्। त्यसैले किसानहरु त्यति आकर्षित भएका पाइंदैनन्," शर्माले भने।

विषादी न्यूनीकरणबारे जनचेतना जगाउने कार्यक्रमहरु देशका कुनाकाप्चामा रहेका किसानसम्म पुग्नुपर्ने जानकारहरु बताउँछन्।