राष्ट्रिय टोलीमा खेलाडी अभाव

दुई हप्तापछि युनाइटेड राष्ट्रिय टोलीमा प्रवेश पाउने महत्वपूर्ण खुड्किलो मानिने २३ वर्ष मुनिको राष्ट्रिय टोली तयार पार्न अखिल नेपाल फुटबल संघ एन्फालाई खेलाडीहरुको अभाव भएको प्रशिक्षकहरुले बताएका छन्।
लगातार तीन वर्ष देशमा लिग फुटबल नहुंदा नयाँ खेलाडीहरु उत्पादन हुन नसकेको कारण यस्तो स्थिति आएको बताइएको छ।
यसले भविष्यको राष्ट्रिय टोली निर्माणमा समेत असर पर्ने भन्दै चिन्ता ब्यक्त भएको छ।
टोलीको सम्भावित कप्तानको रुपमा हेरिएका अग्रपंक्तिका खेलाडी विमल घर्तीमगरले कतिपय खेलाडीहरु नयाँ भएकोले खेल अनुभव कम भएको बताए।
उनले भने, "विपक्षीहरु निकै बलिया छन्। तर हाम्रो टोलीलाई म्याच अनुभव पुगेको छैन।"
समुह डी मा रहेको नेपालले लेबनन, उज्वेकिस्तान र आयोजक युएईसंग खेल्नेछ।
अभाव
जम्मा २८ जना खेलाडीहरु गतहप्ताबाट शुरु भएको बन्द प्रशिक्षणमा छन्। टोलीका प्रशिक्षक राजुकाजी शाक्यका अनुसार नयाँ खेलाडीहरु नपाइएकोले सीमित विकल्पहरुबाटै खेलाडी छानिएको हो।
बोलाइएका सबै खेलाडीहरुपनि बन्द प्रशिक्षणमा नआएको उनले बताए।
उनले भने, "एन्फाले शुरुमा ३८ खेलाडी छानेको थियो। त्यसमा पनि १० जना आएनन्। कतिपयले स्थानीय चुनावलाई बहाना बनाएका छन्। कतिपय भने आर्थिक अभावका कारण अन्य कामतिर लागेको बताएका रहेछन्।"
सिनियर राष्ट्रिय टोलीमा छिर्ने मूल ढोका मानिने २३ वर्ष मुनिको उमेर समूहमा नै खेलाडीहरुको संख्या न्यून हुनुलाई भने चिन्ताको विषय मान्न थालिएको छ।
२३ वर्ष मुनिको यो उमेर समूहमा सिनियर राष्ट्रिय टोलीकै ९ खेलाडी छन्, जसमा अधिकांश यु-१९ साफ च्याम्पियनसिप जितेको टोलीका सदस्यहरु हुन्।
कारण

प्रशिक्षक शाक्यले भने, " मुख्य कुरा लिग फुटबल नहुनुले नै हो। यदि लिग भएको भए खेलाडीहरु छान्न पाइन्थ्यो। तर त्यो अवसर हामीले पाएनौं र भएका पुराना खेलाडीहरुमा नै निर्भर हुनुपर्यो। "
२०७२ सालको भूकम्पपछि देशमा शहीद स्मारक लिग फुटबल प्रतियोगिता भएको छैन।
त्यसो नहुनुमा भूकम्पले भत्काएको रंगशाला र एन्फासंग प्रायोजक अभाव जस्ता विषय देखिन्छन्।
तर विभिन्न जिल्लाहरुमा कम्तीमा ६ महिनासम्म चल्ने नकआउट प्रतियोगिताहरुबाट प्रतिभा खोजी गर्नबाट समेत एन्फा चुकेको कतिपयको आरोप छ।
अभाव
टोलीका व्यवस्थापक सञ्जिव मिश्रले भने, " लिग फुटबल नभएपनि विभिन्न जिल्लाहरुमा कम्तीमा ६ महिना नकआउट फुटबल हुनेगर्दछ। त्यसमा एउटा टोली बनाई खेलाडी खोज्ने कार्यक्रम राखिएको भए यो अभाव झेल्नु पर्दैनथ्यो। "
हुन त एन्फाले एकेडेमी सञ्चालन गर्दै खेलाडी खोज्ने अभियान चलाउंदै आएको लामो समय भइसकेको छ।
देशभरबाट १२ देखि १६ वर्ष उमेरका राम्रा खेलाडी छानेर राखिने एकेडेमीबाट थुप्रै खेलाडी उत्पादन भएपनि उत्पादनको आधार भने मुख्यत लिग फुटबल नै देखिंदै आएको छ।
सन्तोष

एन्फाका महासचिव धिरेन्द्र प्रधान भने खेलाडी उत्पादन सन्तोषजनक नै मान्छन्।
प्रधानले भने, " समय परिस्थिति अनुसारको बाहिर जिल्लाबाट ल्याउने खेलाडीहरु यिनीहरु नै हुन्। हामीले १९ वर्षका खेलाडी पनि छानिसकेका छौं। यिनीहरु नै भोलि गएर २३ वर्षको खेल खेल्ने हो। "
प्रायोजकसंग सम्झौता भइसकेकोले यो वर्ष लिग सञ्चालन हुने निश्चित जस्तो देखिन्छ।
तर एन्फाले देशका कुना काप्चामा हुने प्रतियोगिताबाट पनि खेलाडी छान्ने अभियान थाले खेलाडीहरुले अवसर पाउने र एन्फा पनि खेलाडी अभावबाट मुक्त हुने देखिन्छ।








