राष्ट्रिय खेल भलिबलले ल्याएको तरंग

६ दशक लामो इतिहास बोकेको नेपाली खेलकुद क्षेत्रले पहिलो पटक आधिकारिक खेलको रुपमा भलिबललाई छानेपछि खेल क्षेत्रबाट विभिन्न प्रतिक्रिया जनाइएको छ।
कतिपयले राम्रै चर्चामा रहेका क्रिकेट, कराते, फुटबल, तेक्वान्दो जस्ता अन्य खेलहरुमध्येबाट मन्त्रिपरिषद्ले भलिबललाई नै किन छानेको भन्ने प्रश्न समेत उठाएका छन्।
नेपालमा भलिबल संघ स्थापना भएको ४४ वर्षपछि राष्ट्रिय पुरुष टोलीले पहिलो पटक यो वर्ष अन्तर्राष्ट्रिय खेलमा काश्य पदक जित्यो।
विगतमा डण्डिवियो वा कबड्डीलाई अनौपचारिक रुपमा नेपालको राष्ट्रिय खेल भन्ने गरिन्थ्यो।
खेलकुद मन्त्रालयले तीन वर्ष लगाएर गरेको अध्ययनपछि अन्तिममा भलिबल, तेक्वान्दो र क्रिकेटमध्ये एकलाई राष्ट्रिय खेल चुन्न मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो।

कारण
जसबाट भलिबललाई राष्ट्रिय खेल घोषणा गर्ने निर्णय सोमबार बेलुकीको मन्त्रिपरिषद् बैठकले गरेको हो।
त्यसको कारण खुलाउँदै खेलकुद मन्त्रालयका प्रवक्ता राम थपलिया, "नेपालको पहिचान दिन सक्ने, हिमाल, पहाड, तराई तीनवटै ठाँउमा खेलिन सक्ने, टिम भएर खेल्नुपर्ने र यसले एकता, भातृत्व र प्रेम पनि बढाउने हुनाले भलिबललाई सिफारिस गरिएको हो। "
मन्त्रालयले भलिबल खेलको लोकप्रियता र सर्वसुलभतालाई पनि आधार मानेको बताएको छ।
नेपालका ७५ वटै जिल्लाहरुमा भलिबल खेलको संघ छ।
महिला खेलाडीहरु पनि भलिबल खेलमा सक्रिय छन् भने देशको कुनै पनि स्थानमा भलिबल खेल प्रतियोगिताहरुमा दर्शकको कमी नहुनु यो खेलको विशेषता मानिन्छ।
भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएपछि महिला राष्ट्रिय टोलीकी खेलाडी मञ्जु गुरुङले हर्ष व्यक्त गरेकी छिन्।
११ वर्ष राष्ट्रिय टोलीबाट खेलिसकेकी उनी भन्छिन्, "म देशको कुना काप्चामा गएर भलिबल खेलेँ। यो जतिको सबै ठाँउमा उतिकै चर्चित भएको खेल अरु देखिँदैन। सरकारको निर्णयबाट म खुशी छु। "
असन्तुष्टि
तर अन्य कतिपय खेल संघका अधिकारीहरुले भने सरकारको पछिल्लो निर्णयप्रति असन्तुष्टि प्रकट गरेका छन्।
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा भन्छन्, "अन्तर्राष्ट्रिय ख्याति पनि हेर्न निकै जरुरी हुन्छ जस्तो मलाई लाग्छ। तेक्वान्दो सबैभन्दा बढी अन्तर्राष्ट्रिय पदक जित्ने खेल हो।"
"दक्षिण एसियामा पनि तेक्वान्दोले बढी पदक जितेको छ र ओलिम्पिकमा छनोट हुने खेल पनि यही नै हो। यस्तो खेल नछानेकोमा हाम्रो चित्त दुखाई छ। "
देशभित्र चर्चित भएरपनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्रदर्शनको स्तर निकै कमजोर हुनु नेपाली भलिबल खेलको कमजोर पक्ष मानिन्छ।
विगतमा एसियाली खेलकुद र विश्वकप छनोटसम्म पुगेको खेल अहिले दक्षिण एसियाली खेलकुद वृत्तमा पनि संघर्षरत अवस्थामा नै छ।
तर भलिबल खेलाडीहरु भन्छन् सबै कुरा नतिजासँग मात्र दाँज्नु हुँदैन।

१४ वर्ष राष्ट्रिय टोलीका कप्तान रहेका भरत शाहले भने, " अहिले विश्वकप ओलिम्पिक जस्ता खेल आयोजनाका लागि १० वर्ष, २० वर्ष लामो योजना बन्ने गरेको छ। आयोजना पाउन तछाडमछाड गरिरहेका छन्। के त्यो जित र हारका लागि मात्र हो र ? त्यो पदकको लागि मात्र हो र। होइन।"
चुनौती
नेपाल भलिबल संघले राष्ट्रिय खेलको मान्यता पाएसँगै संघमा चुनौती थपिएको भलिबल संघका पदाधिकारीहरु बताउँछन्।
संघका महासचिव जितेन्द्र चन्द भन्छन्, " राष्ट्रिय खेलको दर्जा दिएपछि त्यस अनुरुप खेलको गौरव राख्न सरकारबाट सहयोग पाउने हामीले विश्वास गरेका छौं।"
"संघले पनि त्यही अनुरुप भलिबललाई सक्रिय बनाउने खालका योजनाहरु ल्याउनेछौँ। "
सरकारबाट वर्षमा झण्डै ११ लाख रुपैयाँ अनुदानको आधारमा भलिबल संघ सञ्चालन भइरहेको छ।
संघका पदाधिकारीहरु भन्छन् अब राष्ट्रिय खेलको सम्मान बढाउन धेरै योजना बनाइनु जरुरी छ।








