रुस-ट्रम्प साँठगाँठको विवाद अब सुल्झिएला?

    • Author, एन्थोनी जर्चर
    • Role, बीबीसी संवाददाता, वासिङ्टन डीसी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपतीय चुनावमा परेको भनिएको रुसी प्रभावबारे छानविन गर्न विशेष अभियोजक नियुक्त गर्ने निर्णयले अमेरिकालाई विभाजित बनाउने बताएका छन्।

तर रोबर्ट मलरको नेतृत्वमा हुन लागेको अबको छानविनले रुस जोडिएको कथालाई निर्णायक मोड दिनसक्ने कयौँको अनुमान छ।

विशेष अभियोजक नियुक्तिको घोषणा गर्दै अमेरिकी उपमहान्यायाधिवक्ता रड रोजेन्सटाइनले अस्वभाविक परिस्थितिका कारण त्यस्तो निर्णय लिइएको बताए।

तर त्यो कम आकलन गरिएको अभिव्यक्ति हो।

अस्वाभाविक

अहिलेको परिस्थिति अस्वाभाविक मात्रै छैन अभूतपूर्व पनि छ।

अमेरिकाको इतिहासमा कुनै पनि सरकारले आफ्नो कार्यकाल शुरु भएको यति छोटो अवधिमा अहिलेको जस्तो संघर्ष गर्नुपरेको थिएन्।

कहिल्यै पनि अमेरिकी राष्ट्रपति चुनावमा विदेशी शक्तिले हस्तक्षेप गरेको यस्तो खालको सङ्गीन आरोप लागेको थिएन्।

अनि विगतमा कहिल्यै डोनल्ड ट्रम्प जस्ता राष्ट्रपति पनि थिएनन्।

अब रुसको कथा नयाँ र गम्भीर चरणमा प्रवेश गरेको छ।

निर्भीक

वासिङटन डिसीमा रोबर्ट मलरको पहिचान एक जना निकै विश्वसनीय मानिसका रुपमा छ।

हाल बर्खास्त गरिएका जेम्स कोमी पूर्व राष्ट्रपति जर्ज डब्लु बुशको शासनकालमा उपमहान्यायाधिवक्ता हुँदा उनले मलरसँगै काम गरेका थिए।

मलरलाई तनावयुक्त राजनीतिको राम्रो ज्ञान छ र साथै कसरी शक्तिशालीहरुको पहुँचसम्म आफूलाई पुर्याउने भन्ने जानकारी पनि छ।

उनी प्राविधिक रुपमा न्याय मन्त्रालयकै मताहत छन् र उनले अन्तत: राष्ट्रपति ट्रम्पलाई नै आफ्नो प्रतिवेदन बुझाउनेछन्।

तर मलरको व्यक्तित्व यस्तो छ कि राष्ट्रपति ट्रम्पको कुनै खालको धम्कीसँग उनी डगमगाउने छैनन्।