भेनेजुएला: संविधान पुनर्लेखन तयारीको विरोध

तस्बिर स्रोत, EPA
संविधान पुनर्लेखन गर्नसक्ने एउटा निकाय स्थापना गर्ने भेनेजुएलाका राष्ट्रपतिको योजनाको अन्तर्राष्ट्रिय रुपमा तीव्र आलोचना भएको छ।
केही मुलुकले राष्ट्रपतिको कदमलाई 'कू'को संज्ञा दिएका छन् भने केहीले गैरसंवैधानिक भनेका छन्।
भेनेजुएलामा राजनीतिक तथा आर्थिक संकट गहिरिदैं गइरहेको छ।
तर्क
राष्ट्रपति निकोलस मदुरोका विरोधीहरुले सडकहरु अवरुद्ध पार्नुका साथै प्रदर्शनहरु गरिरहेका छन्।
२८ जनाको ज्यान जाने गरी भएको तनाव अन्त्य गर्न भन्दै नयाँ संविधान ल्याउने राष्ट्रपतिको योजना विपक्षीहरुले अस्वीकार गरेका छन्।
मदुरोले उक्त योजना आफूविरुद्ध चालिएको उनकै शब्दमा विदेशी षड्यन्त्रसँग लड्न आवश्यक रहेको बताएका छन्।
अमेरिकाले चाहिँ मदुरो सत्तामै टासिरहन खोजेको आरोप लगाएको छ। ब्रजिलले भने पछिल्लो कदमलाई सत्तापलटकै संज्ञा दिएको छ।
अमेरिकी देशहरुको संगठनका प्रमुख लुइस एलम्याग्रोले उक्त कदम गलत दिशा उन्मुख, गैरसंवैधानिक र फर्जी रहेको बताए।

तस्बिर स्रोत, Reuters
विपक्षी चाहना
राष्ट्रपतिका विरोधीहरु उनलाई हटाउन चुनाव चाहन्छन्।
वामपन्थी राष्ट्रपतिकै कारण खाद्यन्नको चरम अभाव भएको र त्यसका कारण हिंसा भड्किएको विपक्षीहरु ठान्छन्।
मदुरोले भने त्यस्ता आरोपको खण्डन गर्दै चुनाव गराउन अस्वीकार गरेका छन्।
उनले ५ सय सदस्यीय संविधानसभा बनाउन कार्यकारी आदेश दिएका छन्।
उक्त निकायले संविधान पुनर्लेखन गर्नेछ।
साथै विपक्षी नियन्त्रित संसदलाई त्यसले छल्न सक्ने ठानिएको छ।
राष्ट्रपतिको पछिल्लो कदमको विरोधमा बुधबार विपक्षीहरुले बृहत प्रदर्शनको आह्वान गरेका छन्।








