कार्यवाहक
प्रधानमन्त्री प्रकाशमान सिंहले आह्वान गरेको सर्वदलीय बैठकले अवरुद्ध राजमार्गहरू
तत्काल खुलाएर आवागमन चालु गराउन पहल गर्ने निर्णय गरेको छ। राजधानी
काठमाण्डू जोड्ने अधिकांश सडक सञ्जाल पहिरोका कारण अवरुद्ध भएको अधिकारीहरूले
बताएका छन्।
“देशको राजधानीलाई बाँकी
भूभागसँग जोड्ने सबैजसो राजमार्गहरूमा सानो ठूलो रोकावट आई आवागमन अवरुद्ध हुन
गएको वर्तमान अवस्थालाई तत्काल सम्बोधन गर्न भौतिक पूर्वाधार तथा यातायात
मन्त्रालयले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी तत्काल पहिरो पन्छाई बाटो खुलाई
आवागमन चालु गर्ने,” सर्वदलीय बैठकको निर्णयमा भनिएको
छ।
सिंहदरबारमा
बसेको सर्वदलीय बैठकले गन्तव्यमा पुग्न नसकी अलपत्र परेका यात्रुहरूहरूलाई निश्चित
गन्तव्यमा पुर्याउने निर्णय गरेको छ। सर्वदलीय बैठकले गरेका नौ वटा निर्णयहरूमा बाढी
र पहिरोमा घाइते भएकाहरूलाई “तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत
सामग्री उपलब्ध गराउने” उल्लेख छ।
बैठकले
अवरुद्ध इन्टरनेट र टेलिफोन सेवा यथाशक्य छिटो सञ्चालनमा ल्याउन सूचना तथा सञ्चार प्रविधि
मन्त्रालयलाई निर्देशन दिएको छ।
बैठकले
विपद् पछिको महामारीको सम्भावनालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा औषधि उपचार
र आवश्यक जनशक्ति र उपकरणको व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र
स्थानीय तहहरूलाई समन्वय गर्न भनेको छ।
बैठकले
बाढीका कारण क्षतिग्रस्त पुल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत् संरचनालगायत
पूर्वाधार र कृषि तथा पशुपन्छीपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन
गरी पुनर्निर्माणको लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
बाढीपहिरोबाट
घरबास गुमाएका पीडितहरूका लागि सम्बन्धित सरकारी निकायहरूबाट उचित आवासको प्रबन्ध
गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।
बैठकले
प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा सहयोग गर्न निजी क्षेत्र, आम नागरिक र सङ्घ
संस्थाहरूलाई अपील गर्ने निर्णय पनि गरेको छ।