तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

लाइभ, इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई मारिएको पुष्टि, इरानलाई ट्रम्पले फेरि दिए चेतावनी

इरानमा अमेरिका र इजरेलले हवाई आक्रमण गर्दा सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईसहित कैयौँ इरानी अधिकारीको मृत्यु भएको विवरण आएको छ। अहिले त्यहाँको अवस्था के छ?

सारांश

  • अमेरिका र इजरलेले गरेको हवाई आक्रमणमा परी इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको छ
  • अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले खामेनेईलाई "इतिहासका सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक"को सङ्ज्ञा दिँदै इरानीहरूलाई "आफ्नो देश फिर्ता लिन" आह्वान गरेका छन्
  • बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई स्रोतहरूले झन्डै ४० इरानी अधिकारीहरूको मृत्यु पनि अहिले भएका हवाई आक्रमणमा परेर मृत्यु भएको जानकारी दिएका छन्
  • इरानको इस्लामिक रेभलूशनरी गार्ड्सले अमेरिकी सेनाको आधारशिविरहरू र इजरेलविरुद्ध "अतिघातक आक्रमणको अभियान" सुरु गर्ने उद्घोष गरेको छ
  • अमेरिकी सैन्य शिविरहरू भएका वा अमेरिकाको साझेदार मानिएका मध्यपूर्वका दुबई, दोहा, बाहरेन र कुवेतमा इरानी पक्षले प्रत्याक्रमण गरेको विवरण आएको छ
  • इरानभरि २०० जनाभन्दा बढीको मृत्यु भएको रेड क्रेसन्टले जनाएको छ। अमेरिकी र इजरेली आक्रमणमा परेको एउटा कन्या विद्यालयमा कम्तीमा १०८ जनाको मृत्यु भएको इरानी पक्षले जनाएको छ

लाइभ कभरेज

केशव कोइराला र गनी अन्सारी

  1. खामेनेईका उत्तराधिकारीको चयन कसरी हुन्छ

    इरानमा देशका सर्वोच्च नेताको चयन प्रत्यक्ष मतदान गरेर निर्वाचनमार्फत् हुँदैन। बरु त्यस्ता नेताको चयन ८८ जना वरिष्ठ धर्मगुरुहरू रहेका एउटा निकायले गर्ने गर्छ, जसलाई विज्ञहरूको सम्मेलन भन्ने गरिन्छ।

    उक्त निकायका सदस्यहरूको चयन भने प्रत्येक आठ वर्षमा प्रत्यक्ष मतदानबाट गरिन्छ।

    इरानको संविधानअनुसार ती धर्मगुरुहरूले सकेसम्म छिटो नयाँ सर्वोच्च नेताको चयन गर्नुपर्छ। तर अहिले देशले आक्रमण बेहोरिरहेको अवस्थामा सुरक्षाका कारणले गर्दा यस पटक त्यस्तो कार्य गाह्रो हुन सक्छ।

    राष्ट्रपतिको परिषद्, न्यायपालिकाका प्रमुख र शक्तिशाली गार्डिअन काउन्सिलका एकजना सदस्यले अन्तरिमकालका लागि त्यस्ता सर्वोच्च नेताका जिम्मेवारीहरू सम्हाल्ने इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

  2. इरानलाई ट्रम्पको ताजा चेतावनी

    अमेरिका र इजरेलमाथि प्रत्याक्रमण नगर्न इरानलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ चेतावनी दिएका छन्।

    सामाजिक सञ्जाल ट्रूथ सोसलमा उनले लेखेका छन्, “इरानले आज अहिलसम्मकै कडा आक्रमण गर्न लागेको भनेको छ। उनीहरूले त्यसो नगर्दा नै राम्रो होला। यद्यपि उनीहरूले त्यसो गरेमा हामीले अहिलेसम्म नदेखिएको शक्तिका साथ प्रहार गर्ने छौँ।”

    इस्लामिक रेभलूशनरी गार्ड कोरले खामेनेईको मृत्युको बदलामा अमेरिकी सैनिक अखडाहरू र इजरेलमाथि आक्रमण गर्ने चेतावनी दिएपछि ट्रम्पको त्यस्तो अभिव्यक्ति आएको हो।

    “इस्लामिक गणतन्त्र इरानका सशस्त्र फौजहरूकै इतिहासमै अधिनस्थ भूभागहरू तथा अमेरिकी आतङ्कवादी अखडाहरूमा सबैभन्दा भयावह आक्रमण अब शुरू हुने छ,” उसले भनेको छ।

  3. उत्तरी इरानस्थित विद्यालयमा क्षेप्यास्त्र प्रहार हुँदा '१०८ जनाको मृत्यु'

    उत्तरी इरानस्थित एउटा विद्यालयमा भएको विस्फोटनमा मारिएकाहरूको सङ्ख्या कम्तीमा १०८ पुगेको थाहा भएको एक स्थानीय अभियोजनकर्ताले बताएका छन्। अमेरिका र इजरेलले हवाई आक्रमण गर्दा शनिवार उक्त घटना भएको बताइएको छ।

    इरानका राष्ट्रपति मसूद पेजेस्कियानले कडा शब्दमा निन्दा गर्दै उक्त घटना "आक्रमणकारीहरूले गरेका असङ्ख्य अपराधहरूको अभिलेखमा एउटा अर्को कालो पन्ना" भएको टिप्पणी गरेका छन्।

    अमेरिका र इजरेलले भने विद्यालयमा भएको भनिएको उक्त घटनाबारे कुनै प्रतिक्रिया व्यक्त गरेका छैनन्।

    उक्त स्थान इरानको रेभलूशनरी गार्ड कोरको आधारशिविर नजिकै थियो।

    इरानी रेड क्रेसन्टका अनुसार देशभरि कम्तीमा २०० जनाको मृत्यु भएको पुष्टि भएको छ।

    रेड क्रस र रेड क्रेसन्टका जिनिभास्थित पदाधिकारीहरूले उक्त विद्यालय आक्रमणको निसानामा परेपछि प्रतिकार्य टोलीहरू परिचालन गरिएको जनाएका छन्।

    एक अधिकारहरूका अनुसार होर्मोज्गान प्रान्तको मिनाब सहरस्थित उक्त विद्यालयमा तीनवटा क्षेप्यास्त्र प्रहार भएका थिए।

    त्यहाँ विस्फोटन भएपछि खिचिएको भनिएका भिडिओहरू वास्तविक भएको बीबीसीले पुष्टि गरेको छ।

    ती भिडिओमा एउटा भवनबाट धुवाँको मुस्लो निस्किँदै गर्दा नजिकै मानिसहरू भेला भएको देखिन्छ र केही मानिसहरू आत्तिएर चिच्याएको पनि सुनिन्छ।

    तर उक्त घटनामा कति मानिस हताहत भए भन्ने कुराको स्वतन्त्र पुष्टि हुन सकेको छैन।

  4. रेभलूशनरी गार्डका उच्च कमान्डर मारिए

    इस्लामिक रेभलूशनरी गार्ड कोर (आईआरजीसी) का चीफ कमान्डर मोहम्मद पाकपूर र रक्षा परिषद्‌का सचिव अली शमखानी अमेरिकी तथा इजरेली हमलामा मारिएका इरानी समाचार संस्था आईआरएनएले जनाएको छ।

    यसअघि इजरेल डिफेन्स फोर्स (आईडीएफल) ले पाकपूरसहित सात सुरक्षा अधिकारीहरू मारिएका बताएको थियो।

    गत वर्षको जुन महिनामा भएको बाह्रदिने इरान-इजरेल युद्धका क्रममा आफ्ना पूर्ववर्ती मारिएपछि मोहम्मद पाकपूर आईआरजीसीका चीफ कमान्डर नियुक्त भएका थिए।

    त्यसअघि पाकपूर आईआरजीसीको ग्राउन्ड फोर्सेसका कमान्डरको जिम्मेवारीमा थिए।

    इरानका सर्वोच्च नेताका एक वरिष्ठ सल्लाहकार पनि रहेका शमखानी बाह्रदिने युद्धका क्रममा घाइते भएका थिए।

    पाकपूर र शमखानी दुवै जनामाथि अमेरिकाले प्रतिबन्ध घोषणा गरेको थियो।

  5. इजरेल र इरानमा भएका नेपालीलाई परराष्ट्र मन्त्रालयको सुझाव

    इरानमा अमेरिका र इजरेलले आक्रमण गरेपछि मध्यपूर्वमा विकसित घटनाक्रमबारे नेपालको परराष्ट्र मन्त्रालयले उक्त क्षेत्रमा भएका नेपालीहरूका लागि 'एड्भाइजरी' जारी गरेको छ।

    मध्यपूर्वका घटनाक्रमबारे आफूले अनुगमन गरिरहेको भन्दै मन्त्रालयले इजरेल र इरानमा रहेका नेपाली नागरिकलाई सावधानीका उपाय अपनाउन सुझाव दिएको छ। मन्त्रालयले ती देशमा भएका नेपालीहरूलाई स्थानीय सरकारी निकायहरूले जारी गरेका सुरक्षासम्बन्धी निर्देशन तथा सूचना पूर्ण पालना गर्न भनेको छ।

    मन्त्रायलको सुझाव यस्तो छ -

    • यथासम्भव घरभित्रै बस्नुहोस्, सतर्क रहनुहोस्, सावधानीका आवश्यक उपाय अवलम्बन गर्नुहोस् अनि आफू भएको ठाउँका नेपाली समुदायसँग नियमित सम्पर्कमा रहनुहोस्।
    • इजरेल र इरानका सम्बन्धित निकायको पूर्वस्वीकृतिबिना अनावश्यक यात्रा नगर्नुहोस् ।
    • काठमाण्डूस्थित परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र दोहास्थित नेपाली राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहोस्।

    मन्त्रालयले इजरेल वा इरान भ्रमण गर्ने योजना बनाएका नेपाली नागरिकलाई अवस्था सामान्य नहुँदासम्म आफ्नो योजना स्थगित गर्ने सुझाव पनि दिएको छ।

    त्यसबाहेक मध्यपूर्वका अन्य देशमा भएका नेपाली नागरिकलाई त्यहाँको अवस्थाबारे निरन्तर जानकारी लिँदै सम्बन्धित देशका निकायले जारी गरेका सावधानीका उपाय पालना गर्न भनेको छ।

    आवश्यक परे तल उल्लिखित माध्यमबाट सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

    काठमाण्डूस्थति परराष्ट्र मन्त्रालय

    फोनः ​+977-9862678437

    इमेलः waa@mofa.gov.np

    तेल अभिभस्थित नेपाली दूतावास

    फोनः +972-545582077

    इमेलः telaviv@nepalembassyil.com

    दोहास्थित नेपाली दूतावास

    फोनः ​+974-66214419

    इमेल: ​eondoha@mofa.gov.np

  6. तस्बिरमा : कतै त्रास, कतै हर्षोल्लास

    अमेरिका र इजरेलले इरानको राजधानी तेहरानसहित कैयौँ सहरमा हमला गरेका छन्।

    आक्रमणबीच इरानमा देखिएको अवस्थाबारे केही तस्बिरहरू हेर्नुहोस्।

  7. मध्यपूर्वमा लडाइँ हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

    मध्यपूर्वमा जारी तनावबीच काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कैयौँ अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका वा उडानको समय हेरफेर भएको अधिकारीहरूले बताएका छन्।

    विमानस्थल कार्यालयले आइतवार एउटा सूचना जारी गर्दै उडानबारे अद्यावधिक जानकारी लिएर मात्र निस्कन यात्रुहरूलाई अनुरोध गरेको छ।

    “यात्रुहरूलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि विमान सेवा कम्पनीहरूसँग उडानको पछिल्लो अवस्था अनिवार्य रूपमा पुष्टि गर्न अनुरोध गरिन्छ,” सूचनामा भनिएको छ।

    “विमानस्थलले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन एअरलाइन्स तथा सम्बन्धित निकायहरूसँग नजिकबाट समन्वय गरिरहेको छ।”

  8. खामेनेईको मृत्युबाट इरानको मार्ग फेरिन सक्छः रेजा पह्लवी

    इरानका अन्तिम राजाका निर्वासित छोरा रेजा पह्लवीले एउटा विज्ञप्ति जारी गर्दै आयातोल्लाह अली खामेनेईको मृत्युको स्वागत गरेका छन्।

    इरानका पूर्वराजकुमारले इरानमा सरकारविरोधी प्रदर्शन चर्किएपछि त्यसको समर्थन गर्दै अमेरिकालाई इरानमा हस्तक्षेप गर्न अमेरिकालाई आह्वान गर्दै आएका थिए। उनी सन् १९७९ देखि अमेरिकामा बस्दै आएका छन्।

    वाशिङ्टन पोस्टमा प्रकाशित छुट्टै आलेखमा पह्लवीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई धन्यवाद दिएका छन्। ट्रम्पले इरानी जनताहरूलाई "तपाईँहरूको स्वतन्त्रताको क्षण नजिकै आएको छ" भनेका थिए।

    उक्त आलेखमा उनले झन्डै आधा शताब्दीदेखि इरानको सत्ताले "छिमेकीहरूको सार्वभौमिकता कमजोर पार्दै, विश्वभरिका द्वन्द्व चर्काउँदै, परमाणुअस्त्र र ती प्रहार गर्ने लामो दूरीका क्षेप्यास्त्रको खोजी गर्दै आएको” टिप्पणी गरेका छन्।

    इस्लामिक गणतन्त्र इरानले सबैभन्दा "घृणास्पद अपराधहरू" स्वदेशमै गरेको भन्दै उनले गत ज्यानुअरीमा प्रदर्शनकारीहरूमाथि भएको दमनमा हजारौँ मानिस मारिएको उल्लेख गरेका छन्।

    उनले इरानमा अब नयाँ संविधान बनाएर जनमतसङ्ग्रहमार्फत’ अनुमोदन हुनुपर्ने, त्यसपछि "अन्तर्राष्ट्रिय निगरानी"मा स्वतन्त्र गरिनुपर्ने सुझाव दिएका छन्।

    "इतिहासले प्रायजसो आफ्नो मोड पहिला नै घोषणा गर्दैन। तर साहस, नेतृत्व र एकताले राष्ट्रहरूको मार्ग परिवर्तन गर्न सक्ने क्षणहरू आउँछन्," उनले लेखेका छन्।

  9. अब इरानको सत्ता कसले चलाउला

    विगत ३७ वर्षदेखि इरानका सर्वोच्च नेता रहँदै आएका आयातोल्लाह अली खामेनेईको मृत्यु भएपछि अब इरानको सत्ता कसरी चल्छ भन्ने प्रश्न उठेको छ।

  10. इरान आक्रमणबारे थाहा भएका महत्त्वपूर्ण कुरा सङ्क्षेपमा

    • अमेरिका र इजरलले गरेको हवाई आक्रमणमा परी इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेको छ
    • अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले खामेनेईलाई "इतिहासका सबैभन्दा दुष्ट व्यक्तिमध्ये एक"को सङ्ज्ञा दिँदै इरानीहरूलाई "आफ्नो देश फिर्ता लिन" आह्वान गरेका छन्
    • बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई स्रोतहरूले झन्डै ४० इरानी अधिकारीहरूको पनि अहिले भएका हवाई आक्रमणमा परेर मृत्यु भएको जानकारी दिएका छन्
    • इरानको इस्लामिक रेभलूशनरी गार्ड कोरले अमेरिकी सेनाको आधारशिविरहरू र इजरेलविरुद्ध "अतिघातक आक्रमणको अभियान" सुरु गर्ने उद्घोष गरेको छ
    • अमेरिकी सैन्य शिविरहरू भएका वा अमेरिकाको साझेदार मानिएका मध्यपूर्वका दुबई, दोहा, बाहरेन र कुवेतमा इरानी पक्षले प्रत्याक्रमण गरेको विवरण आएको छ
    • इरानभरि २०० जनाभन्दा बढीको मृत्यु भएको रेड क्रेसन्टले जनाएको छ। अमेरिकी र इजरेली आक्रमणमा परेको एउटा कन्या विद्यालयमा कम्तीमा १०८ जनाको मृत्यु भएको इरानी पक्षले जनाएको छ
  11. बीबीसी न्यूज नेपालीको लाइभ पेजमा तपाईँलाई स्वागत छ

    नमस्कार। तपाईँलाई बीबीसी न्यूज नेपालीको यो लाइभ पेजमा स्वागत छ।

    अमेरिका र इजरेलले इरानमा हवाई आक्रमण सुरु गरेपछि मध्यपूर्वमा अहिले अशान्ति र अन्योलको वातावरण उत्पन्न भएको छ।

    आज हामी त्यसकै सेरोफेरोमा रहेर महत्त्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमसँग सम्बन्धित जानकारी यो लाइभ पेजबाट तपाईलाई गराउने छौँ।