तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ट्रम्पद्वारा क्यानडाले थप आयात शुल्क तिर्नुपर्ने घोषणा, दर्जनौँ देशमाथि लेभी
संयुक्त राज्य अमेरिकाले क्यानडामाथि लगाउँदै आएको आयात शुल्क २५ प्रतिशतबाट बढाएर ३५ प्रतिशत पुर्याएको छ।
राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा नयाँ कार्यकारी आदेशमार्फत् 'ट्यारिफ' बढाएका हुन्। नयाँ आयात शुल्क शुक्रवार मध्यरातबाट कार्यान्वयनमा आउने अमेरिकाले जनाएको छ।
व्यापार सम्झौता गर्नुपर्ने समयसीमा सकिनुभन्दा केही घण्टाअगाडि ह्वाइट हाउसले अरू दर्जनौँ देशको हकमा लेभी लाग्ने घोषणा गरेको छ। आउँदा सात दिनमा त्यो लागु हुने छ।
उपभोक्तालाई भार पर्न सक्ने
क्यानडाले निर्यात गर्ने वस्तुमध्ये करिब तीनचौथाइ अमेरिकामा बिक्री हुने गरेको छ।
धातु र काठका साथै क्यानडाले अमेरिकालाई ठूलो मात्रामा तेल, कार एवं तिनका पार्टपुर्जा, अरू यान्त्रिक सामान, खाना तथा औषधिहरू बिक्री गर्ने गर्छ।
अफिस अफ यूएस ट्रेड रेप्रिजेन्टटिभका अनुसार सन् २०२४ मा अमेरिकाले क्यानडालाई करिब ३५० अर्ब डलर बराबरका सामान बेचेको थियो भने आफ्नो उक्त उत्तरी छिमेकी मुलुकबाट ४१२ अर्ब डलर बराबरका वस्तु खरिद गरेको थियो।
तर अर्बौँ डलर बराबरको व्यापार हुने गरे पनि क्यानडाका अधिकारीहरूले "खराब सम्झौताभन्दा बरु कुनै सम्झौता नै नगर्ने" सङ्केत गरेका छन्।
ट्रम्पले यसै वर्षको एप्रिलमा आयात शुल्क लगाउने घोषणा गरेका थिए जसले विश्वभरि अर्थतन्त्रमा भद्रगोल निम्त्याउन सक्ने सङ्केत गरेको थियो।
तर नयाँ व्यापार सम्झौताबारे मुलुकहरूले सहमति जुटाउन सकून् भनेर ट्रम्पले घोषणामा ढिलाइ गरेका थिए।
त्यसयता युरोपेली सङ्घ ईयू र यूकेसहित धेरै मुलुकले अमेरिकासँग व्यापार सम्झौता गरिसकेका छन्।
ट्यारिफको अर्थ विदेशी सामान अमेरिका आयात गर्ने कम्पनीहरूले सरकारलाई करहरू तिर्नुपर्छ भन्ने हो र विज्ञहरूका अनुसार त्यस्ता कम्पनीहरूले उपभोक्तामाथि नै त्यो आर्थिक भार पर्न सक्छ।
कुनकुन देशमाथि उच्च आयात शुल्क छ?
ट्रम्पले यी अमेरिकी व्यापार साझेदार मुलुकहरूमाथि कडा ट्यारिफ घोषणा गरेका छन्।
सिरियामाथि ४१ प्रतिशत नयाँ ट्यारिफ छ- हालै अन्त्य भएको १४ वर्ष लामो गृहयुद्धका असरबाट निस्किने प्रयास गरिरहेको मुलुकका लागि यो निकै धेरै आयात शुल्क हो।
सूचीमा त्यसपछि लाओस र म्यान्मार रहेका छन् जसमाथि ४० प्रतिशत आयात शुल्क अमेरिकाले लगाएको छ। ट्रम्पका नयाँ ट्यारिफबाट एशियाली अर्थतन्त्र थप मर्कामा पर्ने विज्ञहरूले चेतावनी दिएका छन्।
स्विट्जरल्यान्डमाथि ३९ प्रतिशत ट्यारिफ लगाइएको छ। त्यसपछि इराक र सर्बियामाथि ट्रम्पले ३५ प्रतिशत आयात शुल्क लगाएका छन्।
अल्जेरिआ, बोस्निया एन्ड हर्जगोभिना, लिबिया र दक्षिण अफ्रिकामाथि ३० प्रतिशत अमेरिकी ट्यारिफ छ।
अमेरिकाले व्यापारको सन्दर्भमा विदेशी साझेदार मुलुकबाट समान व्यवहार नपाएको भन्दै ट्यारिफ लगाउनुका कैयौँ कारण ट्रम्पले अघि सार्दै आएका छन्।
क्यानडा र मेक्सिकोजस्ता देशबाट अवैध फेन्टनिलको तस्करी नियन्त्रण गर्न तिनीहरूमाथि उच्च ट्यारिफ लगाएको ट्रम्पको तर्क रहेको छ।
एशियालाई गाह्रो हुन सक्ने
सिङ्गापुरस्थित बीबीसीका व्यापार संवाददाता पीटर होस्किन्सका अनुसार नयाँ आयात शुल्कले एशियाली मुलुकहरूलाई नराम्ररी प्रहार गर्ने छ।
सम्झौताका लागि अगस्ट १ तारिखको म्याद सकिनुअघि वाशिङ्टनसँग सम्झौता गर्न विफल भएका सरकारहरूले उच्च मात्रामा अमेरिकी करको सामना गरिरहेका छन्।
एशियाका दुई मुख्य व्यापार साझेदारहरू भारत र ताइवानमाथि अमेरिकाले क्रमशः २५ प्रतिशत र २० प्रतिशत लेभी लगाएको छ।
भूपरिवेष्टित दक्षिणपूर्वी एशियाली देश लाओसले यो चरणको ट्यारिफमा दोस्रो सर्वाधिक आयात शुल्कको सामना गर्नु परेको छ।
एकचालीस प्रतिशतको अपत्यारिलो ट्यारिफको सामना गर्नु परेको सिरियापछि लाओसमाथि ४० प्रतिशत आयात शुल्क अमेरिकाले लगाएको छ।
अमेरिकासँग सम्झौताको ढाचामा सहमति जुटाइसकेका जापान, भियतनाम, इन्डोनेशिया र फिलिपिन्सले १५ देखि २० प्रतिशत आयात शुल्कको सामना गर्नुपरेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।