तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कतारका रङ्गशालाबाट सामान नेपाल ल्याउने ‘सम्भावना’ कति
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
कतार विश्वकपका धेरै विशेषतामध्ये एक हो- फुटबल प्रतिस्पर्धा सकिएपछि अधिकांश रङ्गशालाको दर्शक क्षमता घटाउने कतारी निर्णय।
कतारका अनुसार त्यसरी क्षमता घटाउँदा रङ्गशालामा बढी भएका कुर्सीहरू आवश्यक पर्ने साना देशहरूलाई अनुदान दिइनेछ।
कतारले विश्वकपका लागि ८ वटा रङ्गशाला तयार पारेको थियो।
तीमध्ये प्रतियोगितापछि एउटालाई पूर्ण रूपमा हटाउने र ६ वटा रङ्गशालाको माथिल्लो तलाका १ लाख ७० हजार कुर्सीहरू अन्य देशलाई बाँड्ने बताइएको छ।
त्यस्तो अवस्थामा कतिपयले नेपालले कतारको त्यो सहयोग पाउनु उपयुक्त हुने बताइरहेका छन्।
उनीहरूका भनाइमा कतार विश्वकपका लागि रङ्गशाला निर्माणमा नेपाली कामदारको पनि योगदान भएकाले नेपालको त्यस्तो अनुदान पाउने हक रहन सक्छ।
त्यस्तै नेपाली फुटबललाई रङ्गशालाको खाँचो पनि रहेकाले त्यस्तो अनुदानका लागि पहल गर्नुपर्ने कतिपयको जानकारहरूको धारणा पनि छ।
रङ्गशालाहरू हटाउनुको कारण
विगतका अन्तर्राष्ट्रिय अनुभवले के देखाएका छन् भने विश्वकप जस्ता ठूला खेलकुद समारोहको आयोजनापछि रङ्गशालाहरूको प्रयोग कम हुने तर ती संरचनालाई यथावत् राख्न ठूलो धनराशीको खर्च हुनेगर्छ।
उदाहरणका लागि सन् २०१० मा दक्षिण अफ्रिकाले, २०१४ मा ब्रजिलले र २०१८ मा रुसले विश्वकपका बेला बनाएका अधिकांश रङ्गशाला अहिले 'सेतो हात्ती' जस्तै बनिरहेको बताइने गरेको छ।
विश्वकपका बेला बनाइएका ती संरचनामध्ये धेरैमा अहिले न फुटबल प्रतियोगिता हुन्छन् न त्यसबाट कुनै कमाइ नै भइरहेको छ।
धेरैका भनाइमा व्यावसायिक फुटबलको ठूलो संचरना कायम नभएको मध्यपूर्वको एउटा सानो राष्ट्र कतारलाई पनि ८ वटा ठूला अन्तर्राष्ट्रिय स्तरका रङ्गशालाको आवश्यकता भैरहने छैन।
त्यसैले विगतबाट सिक्दै आफूले रङ्गशाला व्यवस्थापनको नयाँ सोच ल्याएको कतारको भनाइ छ। उसले प्रतियोगिता सकिएपछि सजिलै हटाउन र झिक्न मिल्ने गरी रङ्गशाला निर्माण गरेको छ।
आयोजक कतारको एउटा निकाय सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसी (एससी) का अनुसार फिफासँगको समन्वयमा बढी भएका कुर्सीहरू अरु मुलुकलाई अनुदानका रूपमा दिइनेछ।
एससीका कार्यकारी सञ्चार निर्देशक फात्मा अल नुआमीले सञ्चारमाध्यमहरूसँग भनेका छन्, "कतारलाई यति धेरै रङ्गशाला आवश्यक छैन। त्यसलाई आगामी दिनमा हामी कतारी जनतालाई लाभ हुने गरी अन्य प्रयोजनमा प्रयोग गर्नेछौँ।"
भविष्यमा रङ्गशालाको प्रयोग
विश्वकपपछि ४० हजार दर्शक क्षमताको 'स्टेडियम ९७४' पूर्ण रूपमा हटाइने बताइएको छ। विश्वकप इतिहासमै यो नौलो घटना हुनेछ।
कतारले आफ्नो टेलिफोनको अन्तर्राष्ट्रिय कन्ट्रि डाइलीङ्ग कोड ९७४ बाट नामकरण गरेको उक्त रङ्गशाला ठूला सामान ढुवानी गर्ने कन्टेनरको प्रयोग गर्दै अस्थायी रूपमा निर्माण गरेको थियो।
राजधानी दोहाबाट १३ किलोमिटर टाढाको 'एजुकेसन सिटी' रङ्गशालाको क्षमता ४० हजार दर्शकको रहेको छ।
त्यसबाट भने २० हजार कुर्सी हटाइनेछ।
उक्त रङ्गशालालाई ९ वटा विश्वविद्यालय र ११ वटा विद्यालयका ८ हजार विद्यार्थीलाई प्रयोग गर्न दिइने छ।
यसपालिको विश्वकप फाइनलसहित १० वटा खेलको आयोजना भएको लुसैल रङ्गशालाको क्षमता पनि आधा घटाइनेछ।
भविष्यमा उक्त रंगशालालाई 'कम्युनिटी हब' बनाउने कतारको योजना छ।
त्यहाँ हाउजिङ, सपिङ सेन्टर, क्याफे र मेडिकल क्लिनिकहरू निर्माण गरिनेछ।
रङ्गशालाको माथिल्लो तलाको कौसी क्षेत्रमा घरहरू निर्माण हुनेछन्।
टेन्टको आकारमा बनाइएको 'अल बैत' रङ्गशाला ६० हजार दर्शक क्षमताको छ।
त्यसको पनि माथिल्लो तलाको भाग निकालिनेछ।
आयोजक कतार र एक्वडोर बीचको खेल भएको उक्त रङ्गशालामा पाँचतारे होटल र सपिङ सेन्टर निर्माण गरिनेछ।
त्यसैगरी स्टेडियमको भवनमा स्पोर्टस् मेडिसिन हस्पिटल बनाउने तयारीमा कतार रहेको छ।
चालिस हजार दर्शक क्षमताको दोहास्थित अर्को रङ्गशाला 'अल थुमामा'को पनि क्षमता आधा घटाइएपछि त्यहाँ फुटबल र अन्य खेलको आयोजना गर्ने योजना उसको छ।
त्यस्तै त्यहाँ पनि स्पोर्टस् क्लिनिक र होटल खोल्ने योजना बनाइएको छ।
पश्चिम दोहास्थित 'अहमद विन अलि' रङ्गशालालाई कतार स्टार्स लिग (क्यूएसएल) फुटबल क्लब 'अल रायन'को घरेलु मैदानको रूपमा प्रयोग गर्न दिइनेछ।
त्यस्तै त्यो दोस्रो डिभिजनको क्लब 'अल खारितियाथ स्पोर्टस क्लब'को पनि घरेलु मैदान हुनेछ।
चालिस हजार सिट क्षमताकै 'अल यानुव' रङ्गशालालाई पनि २० हजार क्षमतामा खुम्च्याइनेछ।
उक्त मैदान 'अल वाखरा स्पोर्टस् क्लब'को घरेलु मैदान हुनेछ। त्यहाँ कतार स्टार्स लिगका खेल सञ्चालन गरिनेछन्।
कतारमा २० हजार दर्शक क्षमतको रङ्गशाला नै दर्शकका लागि पर्याप्त हुँदै आएको बताइन्छ।
विश्वकपका लागि मर्मत गर्दै कतारको पुरानो खलिफा अन्तर्राष्ट्रिय रङ्गशालालाई ४० हजार दर्शक क्षमताको बनाइएको थियो।
त्यहाँ भने ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन गरिने छन्।
रङ्शालाका निर्देशक अहमद अल थानीले सञ्चारमाध्यमहरूसँग भनेका छन्, "खलिफामा ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरू निरन्तर हुनेछ।"
कतारबाट नेपालले पनि केही प्राप्त गर्ने अवस्था छ?
कतारले 'साना आवश्यक राष्ट्र' लाई अनुदान दिने भनेका सिटहरू नेपालले पनि प्राप्त गर्न सक्ने चर्चा चलेको थियो।
तर त्यसका लागि नेपालबाट आधिकारिक रूपमा कुनै पहल भएको थाहा हुन सकेको छैन।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पाका अनुसार कतार फुटबल सङ्घसँग यस विषयमा धेरै पटक कुराकानी भएको थियो।
उनले भने, " हामीले लिखित रूपमै रङ्गशाला उपलब्ध गराउन माग गर्ने कुरा पनि राख्यौँ। तर त्यो कतार सरकारको विषय भएकोले उनीहरूले पनि सम्बन्धित ठाँउमा कुरा पुर्याउने कुरासम्म भयो।"
विश्वकप सम्पन्न भएपछि कतारले बल्ल यस विषयमा पहल थाल्ने भएकाले समय रहेको शेर्पा बताउँछन्।
नेपाली खेलकुद क्षेत्रको प्रशासकीय निकाय राष्ट्रिय खेलकुद परिषद्ले यस विषयमा पहल थाल्ने बताएको छ।
परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले भने, " यसले नेपाली खेलकुद पूर्वाधार विकासको लागि सहयोग गर्नेछ। राखेपले यससँग सम्बन्धित सबै पक्षसँग संयोजन गरेर प्रक्रिया अगाडि बढाउने छ।"
एन्फाका वर्तमान अध्यक्ष पंकज नेम्वाङले सरकारको सहयोगबाट मात्र त्यो सम्भव हुने बताए।
उनले भने, " नेपालले कतारसँग कुर्सीका लागि मात्र अनुरोध गरेर पुग्दैन। त्यसका लागि नेपाल सरकारसँग रङ्गशाला निर्माणका लागि आवश्यक जग्गाको पहलदेखि कतारको त्यो योजना कार्यान्वयन तहसम्मका सबै ठोस तहको योजना आवश्यक पर्छ।"
त्यसको निम्ति काम गर्ने बताएका सदस्य सचिव घिसिङ भन्छन्, "कतारको रङ्गशाला बनाउनमा नेपालीहरूको पनि ठूलो योगदान छ। नेपालमा त्यो रङ्गशालाको अंश आउनु भनेको नेपाली कामदारको सम्मान पनि हो।"
कतार के भन्छ?
नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैल आफ्ना समयका फुटबल खेलाडी तथा बी लाइसेन्स प्राप्त फुटबल प्रशिक्षक पनि हुन्।
उनले “नेपालले पहल गरेमा” रङ्गशालाको केही अंश प्राप्त गर्न सक्ने सङ्केत गरे।
उनले भने, “केही रङ्गशालाका सिटहरू घटाइँदैछ भने रङ्गशाला ९७४ लाई पूर्ण रुपमा हटाइने भएको छ।” “ती सिटलाई फिफाको स्विकृतीमा अन्य देशलाई उपलब्ध गराइँदैछ। नेपालले पनि त्यसका लागि अनुरोध गर्न र फलोअप गर्नसक्छ।” उनले नेपालका लागि कतारको राजदूत भएका हिसाबले आफूले केही भूमिका खेल्न सक्ने तर त्यसमा नेपालको निर्णय नै प्रमुख हुने बताए।
उनले भने, “यो परियोजना मुख्यत: नेपाल सरकार, कतारस्थित नेपाली दूतावासले फिफा र कतारलाई गर्ने अनुरोध र सक्रियतामा भरपर्छ।”