तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मेस्सी र हजारौँ आर्जेन्टिनीले कतारमा गाइरहेको यो गीत
एउटा आर्जेन्टिनी पप गीत कप्तान लियोनल मेस्सी र उनका समर्थकमाझ निकै लोकप्रिय बनेको छ।
आर्जेन्टिनाको नाइन-पीस ब्यान्ड ‘ला मोस्कास’ले बनाएको उक्त गीत कतारमा विश्वकप प्रतियोगिताका खेल भइरहेका रङ्गशालामा मात्रै नभएर खेलाडीहरूको ड्रेसिङ रूममा पनि घन्किरहेको सुनिन्छ।
“केटा हो, हाम्रो आशा फेरि जागेको छ,” भन्ने अर्थ लाग्ने उक्त गीत स्का, रक र पप सङ्गीतको सम्मिश्रण हो।
यो गीत दुई पटकको विश्वकप विजेता देश र कतार पुगेका करिब ४०,००० आर्जेन्टिनी समर्थकहरूलाई एकताबद्ध पार्ने सूत्र बनेको छ।
एएफपी समाचारसंस्थाले अर्जेन्टिनाको दोहास्थित दूतावासलाई उद्धृत गर्दै ३५,००० देखि ४०,००० आर्जेन्टिनीहरू कतार पुगेको उल्लेख गरेको छ।
विगत ३६ वर्षदेखि आर्जेन्टिनाले विश्वकप जित्न सकेको छैन। उनीहरू यसपालि आफ्नो देशले विश्वकप जित्ने आशामा मात्र हैन, ३५ वर्षे मेस्सीको अन्तिम विश्वकप खेल हेर्ने उद्देश्यसहित पति कतार पुगेका छन्।
अर्को दक्षिण अमेरिकी राष्ट्र ब्रजिल र सेमिफाइनलमा पुगेको मोरक्कोका समर्थकहरूले जस्तै आर्जेन्टिनाका समर्थकहरूले पनि प्रतियोगिताभरि रमाइला गतिविधिहरू गरिरहेका छन्।
मङ्गलवार राति सम्पन्न खेलमा मेस्सीको नेतृत्वमा रहेको टोलीले क्रोएशियालाई ३-० ले पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित पारिसकेको छ।
अहिले आर्जेन्टिनी समर्थकहरूका मुखमा झुन्डिएको गीत सन् २००३ मा सार्वजनिक भएको गीतमा आधारित छ। यसअघिको गीतमा “केटा हो, आजको रात म मात्तिनेछु” भन्ने अर्थ थियो।
मुख्य गायक ग्लेयर्मो नोभेल्लिजका अनुसार सन् २०२१ को कोपा अमेरिकाको फाइनलमा आर्जेन्टिना पुगेपछि एक फुटबलप्रेमी फर्नान्डो रोमेरोले गीतको शब्दलाई पुनर्लेखन गरेका हुन्।
नोभेल्लिजको ब्यान्डले त्यसपछि गीतलाई फेरि रेकर्ड गरेर विश्वकपअघि सार्वजनिक गर्यो।
गीतको सुरुतिर फुटबल नायकहरू म्याराडोना र मेस्सीको प्रशंसा गरिएको छ।
मेस्सी आफैँले यो वर्षको आरम्भमा यो गीत आफ्नो मन पर्ने 'फुटबल गान' भएको बताएका थिए।
समूह 'सी'मा मेक्सिकोलाई पराजित गरेपछि आर्जेन्टिनाको टोलीले ड्रेसिङ रुममा यो गीत गाउँदै हर्षोल्लास गरिरहेको भिडिओ सार्वजनिक भएको थियो।
अस्ट्रेलियालाई पराजित गर्दै पहिलो नकआउट चरणबाट आर्जेन्टिना अघि बढेपछि अहमद बिन अलि रङ्गशालामा समर्थकहरूले उक्त गीत घन्काइरहेको भिडिओ ला मोस्कासले आफ्नो आधिकारिक इन्स्टाग्राममा राखेको थियो।
त्यसपछि आर्जेन्टिनाको ड्रेसिङ रुमको यो भिडिओ बाहिरियो।
नेपाली समयानुसार मङ्गलवार मध्यरातपछि भएको सेमिफाइनलमा क्रोएशियालाई ३-० ले पराजित गर्दै आर्जिन्टिनाले फाइनल पुगेको छ।
यो टोलीले म्याराडोनाले सन् १९८६ मा जित दिलाएयता विश्वकप उपाधि पाएको छैन।
यदि आर्जेन्टिनाले यो पटक विश्वकप जित्यो भने उक्त टोली र समर्थकहरूले विजयोत्सव गर्दा कुन गीत बजाउँछन् भन्ने अनुमान गर्न गाह्रो छैन।