तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
देशलाई 'थप योगदान दिन नसक्ने' भन्दै न्यूजील्यान्डकी प्रधानमन्त्रीको राजीनामा
न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्न ले अर्को महिना आफूले पदबाट राजीनामा दिने घोषणा गरेकी छिन्।
आफूले देशका लागि “थप योगदान दिन नसक्ने” भन्दै उनले राजीनामा घोषणा गरिन्।
विगत ६ वर्षयता देशको नेतृत्वमा रहेकी आर्डर्नले आफ्नो कार्यकाल कति “चुनौतीपूर्ण” थियो भन्ने बताउँदै गर्दा उनको गला अवरुद्ध भएको थियो।
उनले फेब्रुअरी ७ अघि नै लेबर पार्टीको नेताबाट राजीनामा दिनेछिन्। उनको उत्तराधिकारी चयन गर्न अब पार्टीमा मतदान हुनेछ।
न्यूजील्यान्डमा आगामी अक्टोबर १४ मा आम निर्वाचन हुँदै छ।
हाल ४२ वर्षकी आर्डर्नले ग्रीष्मकालीन बिदामा बसेको बेला आफ्नो भविष्यबारे चिन्तन गरेको बताएकी छन्।
“मैले त्यो अवधिमा अब अगाडि बढ्न के गर्नुपर्छ भन्ने कुरा पत्ता लगाउन सक्छु कि भन्ने आशा गरेकी थिएँ तर दुर्भाग्यवश मैले त्यसो गर्न सकिनँ। अब पनि म पदमा बसिरहनु भनेको न्यूजील्यान्डको लागि हानी पुर्याउनु हो,” उनले आफ्नो कार्यकालको समीक्षा गर्दै पत्रकारहरूसँग भनिन्।
पदमै हुँदा आमा बन्ने प्रधानमन्त्री
सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री निर्वाचित भएकी आर्डर्न त्यसबेला विश्वकै सबैभन्दा कान्छी महिला प्रधानमन्त्री थिइन्।
त्यसको एक वर्षपछि पदमै रहँदा बच्चालाई जन्म दिने उनी दोस्रो विश्व नेता बनिन्।
उनले न्यूजील्यान्डलाई कोभिड महामारी, आर्थिक मन्दी, क्राइस्ट चर्च गोलीकान्ड र ह्वाइट आइल्यान्ड ज्वालामुखी विस्फोटको कठिन समयमा नेतृत्व दिइन्।
“शान्तिको समयमा देशको नेतृत्व गर्नु एउटा कुरा हो तर सङ्कटको समयमा नेतृत्व गर्नु अर्को कुरा हो,” उनले भनिन्।
खस्कँदै लोकप्रियता
उनको नेतृत्वमा लेबर पार्टीले सन् २०२०को निर्वाचनमा फराकिलो जीत हासिल गर्यो। तर वैचारिक मत सर्वेक्षणहरूका अनुसार पछिल्ला महिनाहरूमा उनको लोकप्रियता खस्कँदै गएको थियो।
आफ्नो राजीनामाको कारण लेबर पार्टीले निर्वाचनमा जित हासिल नगर्ने डर नरहेको दाबी गर्दै आर्डर्नले उक्त पार्टीको जित हुने आफूले ठानेको बताइन्।
“त्यो चुनौतीको बोझ बोक्न सक्ने ताजा काँधहरूको हामीलाई आवश्यकता छ,” उनले भनिन्।
प्रधानमन्त्री चयन कसरी हुन्छ?
उक्त पार्टीका उपनेता ग्रान्ट रोबर्टसनले आगामी आइतवार हुने निर्वाचनमा आफूले प्रतिस्पर्धा नगर्ने बताए।
यदि कुनै पनि आकाङ्क्षीले पार्टी नेताहरूको दुई तिहाइ बहुमत हासिल गर्न नसके नेतृत्व चयनको प्रकृया आम कार्यकर्ताहरूको चरणमा प्रवेश गर्छ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी एल्बेनेजीले आर्डर्नप्रति सम्मान व्यक्त गर्दै उनी विद्वता, ताकत र समानुभूति भएकी नेता भएको बताएका छन्।
“जसिन्डा न्यूजील्यान्डकी प्रखर पैरवीकर्ता हुन्। उनी धेरैका लागि प्रेरणा र मेरी महान् साथी पनि हुन्,” उनले ट्विटरमा लेखेका छन्।
आर्डर्नले जलवायु परिवर्तन, राज्यबाट दिइने आवासको सुविधा र बाल गरिबी हटाउने कामलाई आफ्ना गर्व गर्न लायक उपलब्धि भनेकी छिन्।
उनले 'सधैँ दयालु बन्न खोज्ने' नेताको रूपमा देशवासीले आफूलाई सम्झने बताइन्।
"मान्छे दयालु तर बलियो, अरूप्रति समभाव राख्ने तर निर्णय लिन सक्ने, आशावादी तर लक्ष्यमा केन्द्रित हुन सक्छ भन्ने विश्वासको छाप छाडेर म न्युजिल्यान्डरहरूबाट विदा हुँदैछु भन्ने मैले आशा गरेको छु। तपाईँ आफूआफ्नै किसिमको नेता बन्न सक्नु हुन्छ, त्यस्तो नेता जस्लाई अब छाड्ने बेला भयो भन्ने कुरा राम्ररी थाहा हुन्छ,” उनले भनिन्।