खेलमा अवैध बाजी र 'पोकर'मा धाँधली : बास्केटबलका चर्चित खेलाडी र माफिया सदस्य पनि पक्राउ

तस्बिर स्रोत, Getty Images
- Author, मेलरी मोइन्च
सङ्घीय जाँच ब्यूरो एफबीआईले खेलमा अवैध बाजी लगाउने तथा धाँधलीपूर्ण तवरले माफिया मुछिएका 'पोकर' खेलमा गरेका अनुसन्धानको सिलसिलामा अमेरिकाको चर्चित बास्केटबल लीग एनबीएका एक खेलाडी तथा कोचसहित दर्जनौँ मानिसहरूलाई पक्राउ गरेको छ।
मायमी हिट टोलीका खेलाडी टेरी रोजियर तथा पोर्टल्यान्ड ट्रेल ब्लेजर्स टोलीका प्रमुख प्रशिक्षक चन्सी बिलप्सलाई बिहीवार दुई भिन्नाभिन्नै अभियोग लगाइएको छ।
एकतीस वर्षीय रोजियर र अन्य पाँच जनालाई अवैध बाजीको अभियोग लागेका छ। अभियोग लागेकामध्ये अरू एनबीए खेलाडी पनि छन्। उनीहरूले बाजीको बजारलाई प्रभावित गर्न घाइते भएको बहाना बनाएको हुन सक्ने आशङ्का गरिएको छ।
त्यस्तै 'हल अफ फेम'मा समेत अङ्कित बिलप्स चाहिँ सन्न्यास लिइसकेका खेलाडीहरू तथा माफिया मुछिएको अवैध पोकर खेलका सन्दर्भमा आरोपित ३१ जनामध्ये एक हुन्। उनी सन् २०२१ देखि पोर्टल्यान्ड ट्रेल ब्लेजर्स टोलीको प्रशिक्षक रहँदै आएका थिए।
न्यूयोर्कका माफिया सामेल

तस्बिर स्रोत, Getty Images
उक्त मामिलामा न्यूयोर्कका पाँच मुख्य आपराधिक माफिया गुटमध्ये चारका सदस्यहरू सामेल रहेको अभियोजनकर्ताहरूले दाबी गरेका छन्।
पहिल्यै मिलेमतो गरिसकिएको तासको पोकर खेलको जालमा पीडितहरूलाई पार्ने गरिएको र ती खेलमा चर्चित खेलाडीहरूलाई राखिने गरेको उनीहरूको भनाइ छ। त्यस्ता ठगीमार्फत् मानिसहरूको करोडौँ डलर लुट्ने गरिएको बताइएको छ।
अभियोजनकर्ताहरूका अनुसार त्यसो गर्न उनीहरूले विशेष प्रकारका कन्ट्याक्ट लेन्स तथा चस्माहरू अनि एक्स-रे टेबल सहितका प्रविधिको उपयोग गर्थे। त्यसो गर्दा पहिले नै अङ्कित गरिएका तास चिन्न सघाउ पुग्थ्यो।
एक विज्ञप्ति जारी गर्दै एनबीएले रोजियर र बिलप्सलाई तत्काल छुट्टीमा राख्दै ती मुद्दाहरूको अध्ययन थालिएको बताएको छ।
"हामी यस्ता आरोपहरूलाई अत्यन्त गम्भीरताका साथ लिन्छौँ। हाम्रा खेलको मर्यादा हाम्रो मुख्य प्राथमिकता हो," उसले भनेको छ।
रोजियरका वकिलले बीबीसीको अमेरिकी सञ्चार साझेदार सीबीएससँग कुरा गर्दै ती आरोपहरू अस्वीकार गरे: "टेरी कुनै जुवाडे होइनन्। उनी चुनौतीसँग डराउँदैनन्। यो लडाइँ पनि जित्ने उनको भरोसा छ।"
फ्लोरिडाको ओर्लान्डोस्थित एक सङ्घीय अदालतमा बिहीवार उपस्थित भएर उनले ६० करोड डलर मूल्यको आफ्नो घर जमानी राखेर छुटेका छन्।
बिलप्सलाई चाहिँ ओरेगनको पोर्टल्यान्डबाट पक्राउ गरिएको र बिहीवार नै अदालतमा लगिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनले पनि रिहाइका लागि उल्लेखनीय परिमाणको जमानी बुझाउने ठानिएको छ।
एफबीआईका निर्देशक काश पटेलले न्यूयोर्कको ब्रुक्लिनमा पत्रकार सम्मेलन गर्दै यी दुईथरी अभियोजनबारे बिहीवार बताए। उनले तिनलाई 'असाधारण' भने।
"कैयन् वर्षको अनुसन्धान अनि करोडौँ डलर बराबरको ठगी, चोरी तथा लुटको हामी कुरा गरिरहेका छौँ," उनले भने।
न्यूयोर्क ईस्टर्न डिस्ट्रिक्टका अटोर्नी जोसफ नोसेला जूनिअरले जुनसुकै प्रतिवादी पनि दोषी प्रमाणित नभएसम्मका निम्ति निर्दोष रहने बताए। तर उनले तिनलाई चेतावनी दिँदै भने, "तिम्रो जितको लहर यहीँ सकिएको छ। तिम्रो भाग्य यहीँ रोकिएको छ।"
जाँचमा एनबीएका खेल
पहिलो अभियोजनमा सार्वजनिक जानकारीमा नभएका सूचनालाई उपयोग गरेर प्रमुख ग्याम्ब्लिङ प्ल्याट्फर्महरूमा हालिने बाजीलाई प्रभावित गरेका खेलाडी तथा सम्बद्ध मानिसहरूलाई अभियोजन गरिएको अधिकारीहरूले बताएका छन्।
नोसेलाले भने, "खेलबारे अनलाइन बाजी वैध बनाइए यताकै यो सबभन्दा खेलसँग सम्बन्धित भ्रष्टाचारको जालो हो।"
फेब्रुअरी २०२३ र मार्च २०२४ बीच भएका सातवटा एनबीए खेल यसबाट प्रभावित भएका भनिएको छ। तीमध्ये शार्लट हर्नेट्स तथा न्यूअर्लिअन्स पेलिकन्सबीचको एक खेलमा रोजियर हर्नेट्सका तर्फबाट खेलेका थिए।

तस्बिर स्रोत, Reuters
उनले एक साथीलाई आफू घाइते भएकाले सो खेल चाँडै छाड्ने भनेका थिए। उक्त साथी र तिनका अन्य साथीहरूले त्यसपछि सो खेलमा रोजियरले नराम्रो खेल्ने भन्दै २ लाख डलरभन्दा धेरै आफैँ बाजी हाले वा अरूलाई बाजी हाल्न लगाएको अभियोजनकर्ताहरूले उल्लेख गरेका छन्।
रोजियरले उक्त खेल नौ मिनेटपछि त्यागेका थिए जसकारण बाजी हाल्नेहरूले दशौँ हजार डलर जिते।
एनबीएको म्याच रिपोर्टअनुसार दाहिने खुट्टामा समस्याका कारण रोजियरले सो खेलमा जम्मा नौ मिनेट खेलेका र पाँच अङ्क मात्र जोडेका थिए।
त्यस खेलअघि रोजियरले औसत ३५ मिनेट खेल्ने गरेका थिए भने औसत २१ अङ्क आफ्नो टोलीका निम्ति जित्ने गरेका थिए।
पोकर खेल र माफिया

तस्बिर स्रोत, US Department of Justice
दोस्रो अभियोजनमा अवैध ढङ्गले मिलेमतो गरिएका तासको पोकर खेलमा संलग्न ३१ जनालाई करोडौँ डलर ठगी गरिएकोमा आरोपित गरिएको छ।
त्यसमा न्यूयोर्कका बोनानो, जेनोभिज तथा ग्याम्बिनो नामक आपराधिक माफिया गुटका १३ सदस्य समेत मुछिएका छन्।
नोसेलाका अनुसार उनीहरूले बिलप्सजस्ता पूर्वव्यावसायिक खेलाडीहरूसँग पोकर खेल्न भनेर पीडितहरूलाई लस भेगास, म्यान्ह्याटन तथा ह्याम्टनमा लोभ्याउँथे।
ती पीडितहरूले हरेक खेलमा दशौँ हजार वा लाखौँ डलर हार्थे।
तिनलाई हराउने चाँजोपाँजो मिलाउने उनीहरूले अत्याधुनिक प्रविधिको समेत प्रयोग गरेको बताइएको छ। तास घोप्ट्याउँदा चिन्ने एक्स रे टेबल, पहिल्यै अङ्कित तास चिन्ने विशेष चस्मा तथा कन्ट्याक्ट लेन्सको प्रयोग गरिने गरिएको अभियोजनकर्ताहरूले उल्लेख गरेका छन्।
"अन्य खेलाडी तथा डीलरहरूको मिलेमतो भएको ती पीडितहरूलाई थाहा हुँदैनथ्यो," नोसेलाले भने।
पैसा तिर्न नमाने ती आपराधिक गुटले धाकधम्की दिने र पैसा असुल्ने गरेको पनि बताइएको छ।
अभियोजनपत्रमा लुटपाट, जबरजस्ती असुली, वायर फ्रड, ब्याङ्क फ्रड अनि अवैध जुवाजस्ता अभियोग लगाइएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








