प्रहरीको निसानामा ठूलो खालमा जुवातास खेल्ने र खेलाउनेहरू, घरमा आफूआफू खेल्न पाइन्छ कि पाइँदैन

तासको खालबाट बरामद गरिएको नगद र मोबाइलहरू

तस्बिर स्रोत, Nepal Police

विगत एक साताभित्र जुवातास खेलेको आरोपमा प्रहरीले विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा मानिसहरूलाई पक्राउ गरेको छ।

स्थानीय प्रशासनले जुवातास खेल्नेहरूमाथि कडा नीति अपनाइने बताउँदै आए पनि प्रत्येक वर्ष दशैँ र तिहारजस्ता चाडबाडका बेला यो क्रम दोहोरिने गरेको अधिकारीहरू बताउँछन्।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे खालबाट पैसा उठाएर तास र जुवा खेलाउने व्यक्ति र गिरोहलाई मात्रै प्रशासनले नियन्त्रणमा लिने गरेको बताउँछन्।

घर परिवार मात्रै बसेर खेल्नेलाई पनि प्रहरीले पक्राउ गर्छ भन्ने प्रश्नमा उनले भने, "घरपरिवार मनोरञ्जनका लागि खेलेको छ भने हामी हस्तक्षेप गर्दैनौँ। अधिकारीले स्वविवेक प्रयोग गरेर कस्तो प्रकृतिको खेल भइरहेको छ विचार गरेर मात्रै कारबाही गर्छन्।"

सल्यानदेखि सङ्खुवासभासम्म पक्राउ

तास

नेपाल प्रहरीका अनुसार मङ्गलवार मात्रै जुवातास खेलिरहेका १९ जना पक्राउ परेका थिए। सोमवार काठमाण्डूसहित देशभरिका आठ जिल्लाका १० ठाउँबाट १०९ जना पक्राउ परेका थिए।

प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा तिहार सुरु भएयता एकैदिन ठूलो सङ्ख्यामा जुवातास खेल्ने मानिस पक्राउ परेको यो नै सबैभन्दा ठूलो सङ्ख्या हो। उनीहरूबाट प्रहरीले २३ लाख रुपैयाँ नगद पनि प्रहरीले बरामद गरेको छ।

चाडबाडको बेला र रातको समयमा जुवातास खेल्नेहरू बढी सक्रिय हुने प्रहरी तथ्याङ्कले देखाएको छ। प्रहरी प्रवक्ता घिमिरेका अनुसार कतिपय स्थानमा घर र होटल नै भाडामा लिएर समेत जुवातास खेलाउने गरेको पाइएको छ।

"सातवटै प्रदेशमा सादा पोसाकमा पनि सुरक्षाकर्मी खटिएका हुन्छन् र त्यहाँका नागरिकहरूले पनि सूचना दिने गर्नुभएको छ," उनले भने।

जुवातास खेलाउन धेरैजसो एकान्तमा रहेका घर वा रिसोर्ट प्रयोग हुने गरेको र कतिपय स्थानमा स्थानीयले नै आशङ्का लागेर प्रहरीलाई सूचना दिने गरेको उनले बताए।

चाडबाडमा हुन सक्ने जुवातासको विकृति रोक्न प्रशासन र स्थानीय सरकारहरूले जनचेतनाका कार्यक्रम समेत सञ्चालन गर्दै आएका छन्। विगतका वर्षहरूको तुलनामा यो वर्ष जुवातासको विकृति केही कम देखिएको प्रहरीको प्रारम्भिक आकलन छ।

जुवातासको कसुरमा कस्तो कारबाही हुन्छ

विश्वको नक्सा र तास
तस्बिरको क्याप्शन, नेपालमा पछिल्लो पाँच वर्षमा २ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको तास आयात भएको भन्सार विभागको गत वर्षसम्मका वार्षिक प्रतिवेदनहरूमा जनाइएको छ

प्रहरीले जुवा वा तास खेल्नेहरूको कसुरको मात्रा र पृष्ठभूमि हेरेर अनुसन्धान र मुद्दा अघि बढाउने गरेको प्रहरीका प्रवक्ताले बताएका छन्।

उनका अनुसार कतिपय पक्राउ परेका व्यक्तिहरूलाई परामर्शपछि रिहा गरिने गरिएको छ।

मुलुकी अपराध संहिता, २०७४ ले जुवा तास वा सट्टाबाजीलाई कसुर मानेको छ। पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३०,००० रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था कानुनले गरेको छ।

दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५०,००० रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १०,००० रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था कानुनमा छ।

विसं २०७५बाट संहिता लागु हुनुअघि जुवा ऐन, २०२० ले पहिलो पटक जुवा खेल्दा पक्राउ परे २०० रुपैयाँ जरिवाना र दोस्रो पटकदेखि बढीमा नौ महिना कैदको व्यवस्था गरेको थियो।

जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चलअचल सम्पत्ति जफत हुने व्यवस्था पछिल्लो कानुनले गरेको छ।

जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन। कतिपय स्थानमा मानिसहरूले प्रशासनको आँखा छल्न सवारीसाधनमै बसेर खेल्ने गरेको पाइएको प्रहरी अधिकारीहरू बताउँछन्।

पौराणिक सम्बन्ध

आधुनिक नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको स्केच

तस्बिर स्रोत, MADAN CHITRAKAR

तस्बिरको क्याप्शन, आधुनिक नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहले जुवा खेल्ने शासकहरूलाई मूर्खको सङ्ज्ञा दिएका थिए

जुवातासकै कारण कतिपय ठाउँमा बेलाबखत अपराध तथा घरेलु हिंसाका घटना हुने गरेका विवरण पनि आउने गरेका छन्। पछिल्लो समय मानिसहरूले अन्लाइन माध्यमको प्रयोग गरेर समेत जुवातास खेल्ने गरेको भन्दै प्रहरीले त्यस्ता अन्लाइनहरूमा निगरानीका लागि प्राविधिक जनशक्तिको आवश्यकता औँल्याएको छ।

जुवातासको पौराणिक र ऐतिहासिक साइनो रहेको इतिहासविद्‌ दिनेशराज पन्त बताउँछन्।

"महाभारतमा उल्लेख गरिएअनुसार कौरवहरूसँग जुवा खेल्ने क्रममा ज्येष्ठ पाण्डव युधिष्ठिरले द्रौपदीलाई हारेका थिए," पन्तले दुई वर्ष अघि बीबीसीसँग भनेका थिए।

"प्राचीनकादेखि द्य‍ूतक्रीडा अर्थात् जुवा खेल्ने कुरा लक्ष्मीसँग जोडिएर आएको कुरा हो।"

राणाकालमा तिहारको पाँच दिन जुवा खेल्न छुट दिइन्थ्यो।

"राणाकालमा जस्तो प्रथम विश्वयुद्धमा नेपालले मित्रराष्ट्रहरूलाई सहयोग गर्‍यो, द्वितीय विश्वयुद्धमा मित्रराष्ट्रहरूलाई सहयोग गर्‍यो, राजा महाराजालाई बाहिरबाट तक्मा आयो, युवराजको जन्म भयो आदि कुरामा जुवा खेलेको भेटिन्छ," पन्तले भनेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।