सुरक्षण मुद्रण केन्द्रद्वारा सवारी चालक अनुमतिपत्रको 'पहिलो लट' प्रिन्ट

तस्बिर स्रोत, Getty Images
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
दश वर्षदेखि लाइसन्स प्रिन्ट समयमा हुन नसकेका कारण कचल्टिएको समस्या समाधान गर्ने उद्देश्यले सुरक्षण मुद्रण केन्द्रलाई जिम्मा दिएको यातायात व्यवस्था विभागलाई शुक्रवार 'पहिलो लट'मा छपाइ भएर आएका अनुमतिपत्र बुझाइने केन्द्रका अधिकारीहरूले बताएका छन्।
आगामी ६ महिनामा कम्तीमा १२ लाख लाइसन्स छपाइ गरिदिने सम्झौता आफूहरूसँग भएको केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले बताएका छन्।
"झन्डै ५२० वटा लाइसन्सको पहिलो लट जुन हामीले (विभागसँग) लिएका थियौँ, त्यो आज (शुक्रवार) उत्पादन भएर आएको अनुमतिपत्र वितरण गर्ने तयारी गर्दैछौँ," ढुङ्गानाले शुक्रवार बिहान बीबीसीलाई बताए।
जानकारी फेसबुकबाटै
विगतमा लाइसन्स प्रिन्ट भएको जानकारी मोबाइलमा एसएमएसमार्फत् दिइने गरिएकोमा अहिले यातायात व्यवस्था विभागले केन्द्रबाट छपाइ भइ आएका अनुमतिपत्रको हकमा उसको फेसबुक पेजमार्फत् जानकारी दिने भनेको छ।
"केन्द्रबाट कुन कुन लाइसन्स छपाइ भएर आएको छ भन्ने जानकारी हामी प्रत्येक दिन हाम्रो फेसबुक पेजबाट दिनेछौँ," विभागका सूचना अधिकारी गणेशमान सिं राईले भने।
"सेवाग्राहीहरूले आफ्नो लाइसन्स आज छापिएको छ कि छैन भनेर आफैँ त्यहाँ (हेलो यातायात व्यवस्था विभाग नामक फेसबुक पेजमा) हेर्न पाउने छन्।"
सो पेजमा आफ्ना विवरण यकीन गरेर लाइसन्स लिन सम्बन्धित कार्यालय वा विभागमा जान सकिने उनले बताए।

तत्कालका निम्ति विदेश जानु पर्ने वा इमरजेन्सी परेर लाइसन्स लिनुपर्नेहरूका हकमा सुरक्षण मुद्रण केन्द्रबाट छपाइ हुने र तिनको विवरण फेसबुकमार्फत् दिइने उनले बताए। साविकमा दिनको ५ सय जति इमरजेन्सी लाइसन्स आवश्यक पर्ने गरेको उनले बताए।
इमरजेन्सी आवश्यकता भएकाहरूको छपाइ केही दिनमा सकिएपश्चात् अन्य बक्यौता तथा नियमित छपाइमा ध्यान दिइने उनको भनाइ थियो।
हाल केन्द्रले दिनको ३ हजारको दरले छाप्ने सहमति भएको बताइएको छ।
"अहिले सुरुमा दिनको ३ हजार हो। तर हामी पहिलो ३ महिनामा प्रत्येक महिना १ लाखका दरले ३ लाख छपाइ गरेर दिने अनि अर्को ३ महिनामा चाहिँ प्रत्येक महिना ६ लाखको दरले १८ लाख दिने योजनामा छौँ ताकि वहाँहरूको बाँकीबक्यौता रहेका २१-२२ लाख थान प्रिन्ट होस्," केन्द्रका कार्यकारी निर्देशक ढुङ्गानाले भने।
विभाग र केन्द्रको सम्झौतामा चाहिँ आगामी ६ महिनामा कम्तीमा १२ लाख प्रिन्ट गरेर दिने उल्लेख भएको उनले बताए। "त्यति चाहिँ हामीले हस्तान्तरण गरिसक्छौँ।"
आइतवार प्रणाली परीक्षण गर्ने तयारी
भदौ २३ र २४ को जेनजी आन्दोलन एवं विध्वंसका बेला विभागको मुख्य कार्यालयमा आगजनी हुँदा लाइसन्सको डेटा सर्भर नै नष्ट भएको बताइएको थियो।
विस्तारै पुराना डेटा 'रिट्रिभ' भइरहेको तर अझ पनि पूर्णरूपमा भइनसकेको विभागका सूचना अधिकारी राईले बताए।
"हाम्रो डेटाको सर्भर पुरानै अवस्थामा चल्न अझै सकेको छैन र स्टोरेज क्षमता पनि कम छ," उनले भने।
यसैकारण अहिले नेपालभरिका यातायात कार्यालयहरू सबैमा लाइसन्सको अनलाइन प्रणाली चलाउन नसकिएको उनले बताए।
"सबैतिर चलाउँदा प्रणालीले लोड धान्न नसकेर सिस्टम क्र्याश हुन सक्ने स्थिति भएकाले यसो भइरहेको हो। तर यसमा हामीले अब पूरै चलाउने परीक्षण गर्दै छौँ।"
उनका अनुसार आइतवार देशैभरिका यातायात कार्यालयहरूका अनलाइन प्रणाली चलाएर परीक्षण गरिँदै छ।
यदि उक्त परीक्षण गर्दा प्रणालीले राम्ररी काम गरेमा त्यसलाई निरन्तर गरिने उनले बताए। "तर यदि परीक्षणका क्रममा सिस्टम क्र्याश भएमा शिफ्टहरू बनाएर फलाना प्रदेशलाई निश्चित् समय वा मिति तोकेर गर्न दिने योजना पनि हामीले बनाइरहेका छौँ।"
डेटा सुरक्षित पार्ने विकल्प
भदौ २४ को विध्वंसमा काठमाण्डूको मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी र तोडफोड हुँदा त्यहीँ रहेको डेटा सर्भर नष्ट हुन पुगेको थियो।
कैयन् सरकारी कार्यालयहरूले तिनका महत्त्वपूर्ण डेटालाई सिँहदरबारभित्र रहेको जीआईडीसी भनिने एकीकृत डेटा व्यवस्थापन केन्द्रमा राख्ने गरेका थिए। तर लाइसन्ससहित यातायातसँग जोडिएका बीसौँ वर्षदेखिका सबै विवरणको डेटा विभागले आफ्नै सर्भरमा मात्र राखेको थियो।
आइन्दा चाहिँ डेटा सुरक्षाका निम्ति विभिन्न विकल्पहरूको उपयोगबारे विभागले सोचविचार गरिरहेको उनले बताए।
"एउटा विकल्प त जीआईडीसी भइहाल्यो। अर्को चाहिँ विभाग आफैँले उपयुक्त डेटा सेन्टर सञ्चालन गर्ने हो कि भन्ने छ। अर्को चाहिँ विद्युत प्राधिकरणको स्युचाटारमा डेटा सेन्टर बनिरहेकोले त्यहीँ कुनै स्लट लिएर उपयोग गर्न सकिन्छ कि भन्ने पनि छ।"
विभागको वेबसाइट अनि नागरिक एपमा सवारी चालक अनुमतिपत्रको विवरण हेर्न प्रणाली पनि उक्त विध्वंसपश्चात् पूर्ण सञ्चालनमा आइसकेका छैनन्।
प्रणाली मर्मत भइरहेको र त्यो काम सकिएपछि नागरिक एपमा स्वत: विवरण आउने राईले बताए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








