लाइसेन्स जाँच: '६/७ महिना कुर्नुपर्ने' लिखितमा ८० अङ्क ल्याउनुपर्ने प्रावधान

ट्रायल सेन्टर

तस्बिर स्रोत, Facebook / Vehicle Academy and Research Centre

सवारी चालक अनुमति पत्र (लाइसेन्स) पाउन सर्वसाधारणले लामो समय प्रतीक्षा गर्नुपर्ने देखिएको अधिकारीहरूले जनाएका छन्।

कोरोनाभाइरस महामारीका कारण १० महिना जति चालक अनुमति पत्र दिने प्रक्रिया रोकिएको थियो।

त्यो खुला भएपछि लाइसेन्सका लागि करिब साढे दुई लाख सर्वसाधारणले आवेदन दिइसकेका छन्।

त्यसैकारण वैशाख सम्मका लागि परीक्षा दिने मिति सकिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।

"अझ कतिपय कार्यालयहरूमा त जेठ महिनाको अन्त्य सम्मको मिति सकिएको अवस्था छ," उनले भने।

हाल देशैभर करिब ७ देखि ८ लाख जना सवारी चालक अनुमतिको प्रतीक्षामा रहेको उनले बताए।

"हाम्रोबाट मासिक करिब ७०,५०० सवारी चालक अनुमति पत्र जाने गरेको छ। त्यसलाई आधार बनाउँदा करिब ७ देखि ८ लाख सर्वसाधारण प्रतीक्षामा छन् भनिएको हो," उनले भने।

"त्यसमध्ये दुई लाखभन्दा बढीले फारम भरिसकेको अवस्था छ। मलाई लाग्छ अहिले भर्नेहरूले ६ - ७ महिनापछि पालो पाउनुहुन्छ होला।"

भिडभाड

तस्बिर स्रोत, Rama Parajuli / BBC

तस्बिरको क्याप्शन, यातायात कार्यालयहरूमा भिडभाड बढेको अधिकारीहरू बताउँछन्

काठमाण्डू, बुटवल, वीरगञ्ज लगायतका प्रमुख सहरहरूमा अत्यधिक चाप रहेको अधिकारीहरू बताउँछन्।

हाल विभाग सङ्घ अन्तर्गत रहेको र यातायात कार्यालयहरू प्रदेश सरकार अन्तर्गत रहेकाले पनि उक्त कार्य चाँडो हुने गरी अघि बढाउन कठिनाइ भइरहेको विभागको भनाइ छ।

चाप बढी भएकै कारण विभागले यातायात कार्यालयहरूलाई दुई सत्रमा काम गर्न भनेको हमाल बताउँछन्।

नयाँ व्यवस्था प्रस्तावित

यातायात व्यवस्था विभाग

तस्बिर स्रोत, Facebook/DoTM

यसैबीच सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि नयाँ व्यवस्था ल्याउने तयारी थालेको बताइएको छ।

हाल विद्यमान विभिन्न समस्याहरूको समाधान गर्नका लागि भन्दै प्रयोगात्मक परीक्षामा ६० अङ्क ल्याए अनुमति पत्र प्राप्त गर्ने प्रावधान सहितको परीक्षा मापदण्ड तयार पारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरिसकिएको हमाल बताउँछन्।

"मन्त्रालयस्तरीय निर्णय भएपछि यो मापदण्ड लागु गर्न दुईदेखि तीन महिना लाग्ला," उनले भने।

विभिन्न देशहरूका व्यवस्था हेरी हालको मापदण्डलाई थप वैज्ञानिक बनाउने उद्देश्यका साथ प्रक्रिया अघि बढाइएको बताइएको छ।

मापदण्ड के हो? के होइन?

स्मार्टकार्ड

नयाँ व्यवस्थामा मापदण्ड नयाँ नहुने हमाल बताउँछन्। पुरानै मापदण्डहरूमा अङ्क दिने विभागको भनाइ छ।

हाल सबै मापदण्ड अनिवार्य पास गर्नुपर्ने व्यवस्था छ। नयाँमा भने प्रत्येक मापदण्डमा अङ्क राख्ने र परीक्षार्थीले उत्तीर्ण गरेका मापदण्डको अङ्क जोड्दा कुल १०० मा ६० अङ्क ल्याउनुपर्ने व्यवस्था प्रस्तावित गरिएको बताइएको छ।

"त्यस कारण परीक्षामा सहभागी सबै उत्तीर्ण हुन्छन् भन्ने होइन। यसलाई थोरै सहज बनाइएको मात्रै हो," हमालले भने।

"विश्वका जुनसुकै देशमा ठूलो र सानो गल्ती हेरिन्छ र यत्तिसम्म भयो भने अनुमति दिने भन्ने हुन्छ। हाम्रोमा चाहिँ कुनै पनि गल्ती हुनै नहुने अवस्था छ। नयाँ व्यवस्थाले जान्दै नजान्ने व्यक्तिले अनुमति प्राप्त गर्छ भन्ने होइन।"

उकालो ओरालो जस्ता अत्यावश्यक मापदण्डमा कुनै पनि किसिमको परिवर्तन नहुने तर सामान्य घेरा छोएको जस्ता विषयमा भने अङ्क दिने योजना विभागको छ।

हाल प्रयोगात्मक परीक्षाको सबै मापदण्ड पूरा गरे पनि अन्तिममा एउटा घेरा छोएकै आधारमा अनुत्तीर्ण हुने अवस्था छ।

तर नयाँ मापदण्ड कार्यान्वयनमा आए एकपटक त्यस्तो घेरा छोए ५ अङ्क काटिने, दुई पटक छोए १० अङ्क काटिने र तेस्रो पटक छोए अनुत्तीर्ण हुने जस्ता प्रावधान समावेश हुने बताइएको छ।

लिखितमा ८० अङ्क चाहिने

विभागका अनुसार सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि हुने परीक्षामा नेपाल विश्वमै कम उत्तीर्ण दर भएको देशमा पर्छ।

पहिलो पटकको प्रयासमा नेपालमा जम्मा २५ देखि ३० प्रतिशत मात्रै उत्तीर्ण हुने गरेको अधिकारीहरू बताउँछन्। त्यस्तो प्रतिशत अन्य देशहरूमा ७० प्रतिशतसम्म रहेको उनीहरूको भनाइ छ।

स्मार्ट लाइसेन्स

मापदण्ड धेरै कडा बनाउँदा चार-पाँच वर्ष सडकमै सवारी हाँकेका मानिसहरू समेत अनुत्तीर्ण हुने अवस्था देखिएको विभागले जनाएको छ।

"त्यसकारण प्रश्न कडा गर्नेभन्दा पनि सडकमा जान्नुपर्ने कुराहरू थाहा दिने गरी वार्षिक सोधिने प्रश्नहरूको सँगालो बनाउने छौँ र त्यसलाई प्रकाशन गर्ने छौँ। जनताले धेरै भन्दा धेरै जानुन् भन्ने हाम्रो उद्देश्य हो। यसरी परीक्षा दिँदा परीक्षार्थीले कम्तीमा ८० अङ्क ल्याउनुपर्ने प्रस्ताव गरिएको छ," हमालले भने।

हाल लिखितमा ५० प्रतिशत अङ्क ल्याए उत्तीर्ण हुने व्यवस्था छ।

बिचौलियाको भूमिका कम हुने अपेक्षा

तीन पटकसम्म परीक्षा दिँदासमेत अनुत्तीर्ण भएपछि सर्वसाधारणहरूले अन्य उपाय अपनाउने गरेको अधिकारीहरू बताउँछन्।

"यसले व्यवस्थालाई भ्रष्ट बनाउने गतिविधि बढ्छ," हमालले भने।

नयाँ मापदण्डले यो अवस्थाको अन्त्य गर्ने र यसको प्रभाव समग्रमा राम्रो हुन जाने अनुमान आफूहरूको रहेको उनी बताउँछन्।

कतिपयले नयाँ व्यवस्थाको पारदर्शितामाथि प्रश्न उठाइरहेका छन्।

त्यसबारे हमालले भने, "सीसीटीभी क्यामेराबाट नियाल्नेदेखि अन्य अनुगमनका काम हुनेछन्। परीक्षास्थलमा प्रत्यक्ष अङ्क दिइनेछ र तत्काल पासर/फेल छुट्ट्याइनेछ।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, ‘राजाकी डाइभर्नी’ भनेर चिनिने रामदेवी काठमाण्डूको वृद्धाश्रममा बस्दै आएकी छन्।