जनआक्रोशपछि चीनको शून्य कोभिड नीतिमा व्यापक परिवर्तन

- Author, फ्रान्सेस माओ
- Role, बीबीसी न्यूज
चीनले मानिसहरूलाई क्वारेनटिन शिविरमा बस्न बाध्य पार्नेसहित अन्य गम्भीर कोभिड नीतिहरू हटाइरहेको छ। सङ्क्रमण रोकथामका निम्ति भनिएका कडा नियन्त्रणविरुद्ध ऐतिहासिक विरोध प्रदर्शन सुरु भएको एक सातापछि त्यस्तो कदम चालिएको हो।
अब कोभिड सङ्क्रमण भएका व्यक्तिहरूमा मध्यम खालको लक्षण देखिए वा कुनै लक्षण नदेखिए राज्य सञ्चालित शिविरहरूमा नभई घरमै अलग्गै बस्न सक्छन्।
अब उप्रान्त उनीहरूले महत्त्वपूर्ण स्थानहरूमा प्रवेशका निम्ति परीक्षणको नतिजा देखाउनपर्ने छैन र स्वतन्त्रतापूर्वक देशभरि यात्रा गर्न सक्नेछन्।
आममानिसहरूले केही राहत महसुस गरेको बताइरहेका छन्। यद्यपि यस किसिमको आकस्मिक बदलावमाथि चिन्तासमेत व्यक्त गरेका छन्।
"अन्ततः अब मैले सङ्क्रमित भएको खण्डमा वा सङ्क्रमितसँग नजिक हुँदैमा अन्यत्र लगिन्छ भन्ने विषयमा चिन्ता गर्नु पर्दैन," एक व्यक्तिले चिनियाँ सामाजिक सञ्जालमा लेखेका छन्।
अर्का व्यक्तिले भनेका छन्: "के कसैले मलाई के भइरहेको छ व्याख्या गर्न सक्छ? किन अचानक यति ठूला परिवर्तनहरू भए?"
यस किसिमका व्यापक परिवर्तनहरूले चीन अन्ततः आफ्नो शून्य-कोभिड नीतिबाट पछि हट्न लागेको र अन्य देशहरूजस्तै "भाइरससँग अभ्यस्त हुन" खोजिरहेको सङ्केत गर्छ। हाल चीनले सङ्क्रमणको सबैभन्दा ठूलो लहरसँग जुधिरहेको छ। प्रत्येक दिन ३०,००० भन्दा बढी मानिस सङ्क्रमित भइरहँदा उक्त बदलाव अपनाइएको हो।
केही अनलाइन प्रयोगकर्ताहरूले द्रुत गतिमा भइरहेको खुलापनमाथि प्रश्न गरेका छन्। एक जनाले लेखेका छन्,”चिकित्सा प्रणालीमा थेग्नै नसक्नेगरी चाप बढ्न सक्नेछ र वृद्धहरू थप सङ्क्रमित हुनेछन्। यो क्रम अब सुरु भइसक्यो।”
End of जलवायु परिवर्तनले गर्दा नयाँ नयाँ रोग र सङ्क्रमण बढ्दै
तर अन्य धेरैले भने विगत तीन वर्षदेखि आफ्नो दिनचर्यामा नियन्त्रण राख्ने सरकारको नीति खुकुलो पारिएकोप्रति खुसी व्यक्त गरेका छन्।
हालसम्म चीनले कोभिड भएका र सङ्क्रमितको नजिक पुगेकाहरूलाई क्वारन्टिनमा रहन बाध्य तुल्याएको थियो। यस नीति निकै आलोचित थियो किनकि यसले परिवारका सदस्यहरूलाई टाढा बनाएको थियो र मानिसहरूलाई घरबाट निकालेको थियो।
केही शिविरहरूमा अवस्था निकै नाजुक र कर्मचारीहरू अपर्याप्त रहेको विवरणहरू सार्वजनिक भएका थिए।
यसै वर्ष सार्वजनिक केही भिडिओहरूमा सुरक्षा कर्मचारीहरूले शिविरमा जान अस्वीकार गरेका मानिसहरूलाई घरबाट घिसार्दै लगेको दृश्यहरू देख्न सकिन्थ्यो। गत साता हाङ्झाउबाट सार्वजनिक भएको एक दृश्यमा आमव्यक्तिले अधिकारीहरूविरुद्ध प्रतिकार गरेको देखाइएको थियो।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बुधवार थप लचिलोपनको घोषणा गर्यो। जसअन्तर्गत
धेरैजसो अवस्थामा पीसीआर विधिलाई तत्काल नतिजा देखिने परीक्षणमा सीमित राखिने निर्णय भएको छ। दायरा घटाउने लक्ष्य राखेका छन्। यद्यपि विद्यालय, अस्पताल र नर्सिङ होमहरूमा पीसीआर परीक्षण नै गरिनु पर्छ।
लकडाउन जारी रहने छ, तर पुरै सहर वा समुदायको साटो निश्चित भवन, एकाइ र तलाजस्ता लक्षित क्षेत्रहरूमा मात्र लागू हुनेछ।
“उच्च जोखिम” ठहरिएका क्षेत्रहरू नयाँ सङ्क्रमण नदेखिएको पाँच दिनमा लकडाउन खारेज गरिने छ।
विद्यालयहरूमा सङ्क्रमणदर व्यापक रूपमा नबढेको खण्डमा शैक्षिक संस्थाहरू सञ्चालन हुनेछन्।

नयाँ निर्देशिकाले आगलागी भएको खण्डमा प्रयोग हुने आपत्कालीन द्वारहरू बन्द गरिनुमा कडा प्रतिबन्ध लगाएको छ। त्यस्तै चिकित्सा सुविधामा पहुँच हुनु पर्ने र निकास मार्गहरू महामारीका उपायहरूले प्रभावित हुन नहुने कुरामा जोड दिइएको छ।
लकडाउनका कारण भवनहरू ठप्प पारिएका कारण भूकम्पको समयमा समेत मानिसहरू भाग्न नपाएपछि यस्तो कदम चालिएको हो।
उरुम्चीस्थित एउटा अपार्टमेन्टमा भएको आगलागीमा कम्तीमा १० जनाको ज्यान गएपछि त्यहाँ कोभिड निषेधाज्ञाविरुद्ध प्रदर्शनहरू सुरु भएका हुन्। आलोचकहरूले पीडितहरू लकडाउनका कारण भाग्न नसकेको आरोप लगाएका छन्। यद्यपि बेइजिङले उक्त आरोपको खण्डन गर्दै आएको छ।
बुधवार अधिकारीहरूले वृद्धवृद्धाहरूलाई तीव्र रूपमा खोप उपलब्ध गराउनुपर्ने विषयमा जोड दिएका थिए।
दशकौँयताको सबैभन्दा ठूलो विरोध प्रदर्शनपश्चात् चीनमा कोभिड नीतिहरू केही खुकुलो बनाइएको हो।
गत साता मानिसहरू लकडाउनविरुद्ध चीनको मुख्य सहरदेखि तिब्बतसम्मै प्रदर्शनमा उत्रिएका थिए र सरकारलाई चुनौती दिएका थिए।
केही स्थानमा प्रदर्शनहरू राष्ट्रपति सी जिन्पिङ र चिनियाँ कम्युनिस्ट पार्टीको आलोचनामा लक्षित थियो। उक्त विरोध राजनीतिक असहमतिप्रति चीनमा बढ्दै गएको असहिष्णुताको अवज्ञा गर्ने महत्त्वपूर्ण घटना थियो।
नोभेम्बर २४-२६ सम्म भएको विरोधपछि चिनियाँ अधिकारीहरूले लकडाउन खुला गर्न थालेका हुन्। हाल उनीहरूले कोभिडको जोखिमबारे बारे बोल्ने भाषामा समेत नरमपन सुनिन्छ।









