तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अर्थमन्त्री पौडेल र पोखराका मेअर आचार्य घाइते हुनेगरी के कारण बलून पड्कियो?
- Author, कृष्णमणि बराल र अशोक दाहाल
- Role, पोखरा र काठमाण्डू
पोखरामा शनिवार 'पोखरा भ्रमण वर्ष २०२५' को उद्घाटन कार्यक्रम भव्य रूपमा तयारी गरिएको थियो।
पोखरा महानगरपालिकाका ३३ वटै वडाका विभिन्न सङ्घ संस्था, आमा समूह, विभिन्न जातजाति भाषाभाषी, आआफ्नो पोसाकमा सजिएर सांस्कृतिक झाँकी सहित पोखरा ९ स्थित प्रदर्शन केन्द्रमा भेला भएका थिए।
कार्यक्रमको प्रमुख अतिथि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, सङ्घीय पर्यटनमन्त्री बद्री पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्याल, गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापा, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, उपमेयर मञ्जुकुमारी गुरुङ लगायत उपस्थित थिए।
कार्यक्रमको औपचारिक उद्घाटन अघि राष्ट्रिय गान र स्वागत नृत्य भएपछि प्रमुख अतिथि अर्थमन्त्री पौडेल, पोखरा महानगरपालिकाका मेयर आचार्य लगायत मञ्चको अघि गएर डिजिटल प्रविधिको प्रयोग गरी दीप प्रज्वलन गरेर पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गरेका थिए।
डिजिटल प्रविधिबाट दीप प्रज्वलन गरेपछि बलून उडाउने कार्यक्रम थियो। मञ्च तल राखिएको बलून दीप प्रज्वलन गरिएको मञ्चको अघिल्लो भागमा ल्याएर उडान लागिएको थियो। दियो नजिकै 'स्पार्क्लर्स' बाट आगोको झिल्का आइरहेका थिए।
जब मन्त्री पौडेल र मेयर आचार्यको हातमा दर्जनौँ बलूनहरू बाँधिएका एक-एक वटा डोरी थमाइयो हाइड्रोजन भरिएको बलूनमा एक्कासि आगोको ज्वाला मात्रै सल्किएन विस्फोटको आवाज समेत आयो।
बलूनका दुई वटै झुत्तो पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भए।
पौडेल र आचार्यलाई थप उपचारका लागि काठमण्डूको कीर्तिपुर स्थित जलन अस्पतालमा ल्याइएको छ। अर्थमन्त्री पौडेलका स्वकीय सचिव याम पाण्डेका अनुसार पौडेलको घाँटीको पछाडिको भाग, हात र ओठमा जलनको असर देखिएको छ।
"चिकित्सकहरूको निगरानीमा रसायनको कुनै असर छ कि भनेर जाँच गर्ने काम भइरहेको छ," उनले भने।
बलून पड्किएर ठूलो आगो बलेपछि अर्थमन्त्री पौडेल मञ्चतर्फ दौडिएका थिए।
पौडेलले कोट र टोपी फुकालेका थिए। सुरक्षाकर्मीले तत्कालै आगोको झिल्का छ कि भनेर टकटक्याएका थिए। बलून पड्केर ठूलो आगो बलेपछि मेयर आचार्य मञ्चको तलतर्फ हामफालेका थिए।
आगोको लप्कोले मेयर आचार्यको गाला र कानमा असर गरेको अधिकारीहरूले बताएका छन्।
कीर्तिपुर अस्पतालले मन्त्री पौडेल र महानगरपालिका प्रमुख आचार्य दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको जनाएको छ।
"उहाँहरूको प्रारम्भिक मूल्याङ्कन अनुसार ५-६% जलेको तर अनुहारमा जलन भएकोले श्वास नली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ," अस्पतालले साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ।
'सावधानी नअपनाउँदा दुर्घटना'
विज्ञहरूका अनुसार हाइड्रोजन निकै ज्वलनशील हुन्छ।
त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र विभागका सहप्राध्यापक अच्युत अधिकारी र पृथ्वीनारायण क्याम्पस पोखराका उपप्राध्यापक लेखनाथ खनाल हाइड्रोजन भरिएका बलून आगोनजिक लैजाँदा दुर्घटना भएको ठान्छन्।।
"मैले पनि त्यहाँको भिडिओ भर्खरै हेरेँ। उडाउनका लागि तयार गरिएका बलूनहरूमा हाइड्रोजन प्रयोग भएको जस्तो देखिन्छ। त्यसलाई आगो भएको झिरझिरेतिर लैजानु निकै ठूलो मुर्ख्याइँ हो," नेपाल केमिस्ट सोसाइटीका महासचिव समेत रहेका अधिकारीले भने।
सामान्य सावधानी समेत नअपनाउँदा दुर्घटना भएको उनको ठम्याइ छ।
"हाइड्रोजन अत्यन्त प्रज्वलनशील पदार्थ मानिन्छ। हलुका हुने भएकोले बलून उडाउन यसको प्रयोग हुन्छ," रसायनशास्त्रमा विद्यावारिधि गरेका उपप्राध्यापक खनाल भन्छन्।
'हाइड्रोजन जहाँसुकै प्रयोग गर्न हुँदैन'
हलुका हुने भएका कारण बलून आकाशमा उडाउन नेपालमा हाइड्रोजन भर्ने अभ्यास रहेको र त्यसको नियमन हुन नसकेको अधिकारीले बताए।
आकाशमा उडाइने बलूनमा हिलिअम ग्यासको प्रयोग सुरक्षित मानिन्छ। तर हिलिअम महँगो पर्ने भएका कारण बलून भर्ने ठाउँहरूमा हाइड्रोजनको प्रयोग गर्ने गरिएको उनी बताउँछन्।
"मुखले फुलेर बनाइएका बलून भए पनि त्यस्तो दुर्घटना हुँदैन थियो। नजिकै अरू प्रज्वलनशील कुरा भए अझै ठूलो दुर्घटनाको जोखिम पनि थियो," उनले भने।
पृथ्वी नारायण क्याम्पस पोखराका उपप्राध्यापक खनाल मानवीय असावधानीका कारण दुर्घटना भएको ठान्छन्।
"यो ग्यासको सबैभन्दा नराम्रो पक्ष प्रज्वलनशील हुनु हो। आगोले टिपेको अवस्थामा वायुमण्डलमा भएको अक्सिजनसँग रासायनिक प्रतिक्रिया दिन्छ। आवाज दिन्छ, ताप निकाल्छ र ठूलो आवाज दिन्छ," उनले भने।
'जन्मदिन मनाउँदा पनि सतर्कता अपनाऔँ'
पोखरा भ्रमण वर्षको उद्घाटनमा उडाइएका बलूनहरू बालबालिकाले भेट्टाएर आगोनजिक लगेको अवस्थामा पनि दुर्घटना निम्तिन सक्ने जोखिम रहेको रसायनशास्त्री अधिकारी बताउँछन्।
"हामीले जन्मदिन मनाउँदा पनि हावा भरिएका बलून र झिल्का आउने सामग्री वा दियो नजिकै प्रयोग गरिरहेका हुन्छौँ। यदि बलूनमा हाइड्रोजन भरिएको रहेछ भने त्यसबाट ठूलो दुर्घटना हुन सक्छ," उनले भने।
"त्यसकारण सामान्य हावा भरिएका बलून वा मुखैले फुकेर फुलाइएका बलून प्रयोग गर्नु सबैभन्दा सुरक्षित हुन्छ," अधिकारी भन्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।