तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
२५३ नेपाली विद्यार्थीलाई इजरेलबाट ल्याइयो, शव आउन समय लाग्ने
इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच जारी तनावका कारण इजरेलमा अलपत्र परेका नेपाली विद्यार्थीलाई तेल अभिभबाट काठमाण्डू ल्याइएको छ।
अधिकारीहरूका अनुसार नेपाल वायु सेवा निगमको चार्टर गरिएको विमानमा २५३ नेपाली विद्यार्थीलाई ल्याइएको हो।
"राति २ बजेर ४० मिनेटमा विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो," एक अधिकारीले बीबीसीसँग भने।
स्वदेश फर्कन चाहने अन्यलाई पनि चाँडै ल्याउने पहल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
गत शनिवार हमासले इजरेलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थीसहित सयौँ जनाको ज्यान गएको थियो।
उक्त घटनामा थप चारजना घाइते भएका र एकजना बेपत्ता भएको अधिकारीहरूले बताएका छन्। बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको नेपालका परराष्ट्रमन्त्रीले बताएका छन्।
परराष्ट्रमन्त्रीको नेतृत्वमा उद्धार टोली
इजरेलमा रहेका नेपाली विद्यार्थीलाई लिन बिहीवार बिहान सबेरै काठमाण्डूबाट उडेको नेपाल वायु सेवा निगमको नाइनएन-एएलजेड एअरबस ३३० विमान तेल अभिभबाट नेपाली समयानुसार बिहीवार अपराह्ण नेपाल फर्केको हो।
निगमका अपरेशन निर्देशक वरिष्ठ क्याप्टेन श्रवण रिजालको नेतृत्वको चालकदल रहेको उक्त विमानमा उद्धार कार्यको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गरेका थिए।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री साउदलाई चार्टर्ड उडानबाट इजरेल पठाएर उद्धार तथा कूटनीतिक कामको अनुगम एवं समन्वय गर्ने अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको थियो।
सोही निर्णयानुसार बिहीवार सबेरै इजरेलतर्फ उडेको विमानमा साउद पनि गएका थिए।
खर्च सरकारको
मन्त्रिपरिषद्ले इजरेलबाट नेपाल फर्किन चाहने नेपालीहरूको खर्च सरकारले बेहोर्ने निर्णय गरेको थियो।
बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सञ्चारकर्मीहरूलाई उक्त जानकारी दिएका थिए।
उक्त बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई उद्धार उडान इजरेलतर्फ पठाउने व्यवस्था गर्न निर्देशन दिएका थिए।
त्यसअघि पत्रकार सम्मेलन गर्दै परराष्ट्र मन्त्रालयले उद्धारका लागि इजरेलमा नेपाल वायु सेवा निगमको जहाज पठाउने जानकारी दिएको थियो।
अहिले विद्यार्थीको मात्र उद्धार
विशेषगरी इजरेलमा गएर लामो समयदेखि कार्यरत नेपालीहरूले स्वदेश फर्कन नचाहेको अधिकारीहरूको भनाइ छ।
त्यसैले पहिलो चरणमा विद्यार्थीहरूको मात्र उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
बुधवारको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पनि उक्त जानकारी दिएकी थिइन्।
तेल अभिभस्थित नेपाली राजदूतावासले इजरेलमा रहेका र स्वदेश फर्कन एवं सुरक्षित स्थानमा सर्न चाहनेहरूका लागि अनलाइनमार्फत् फर्म भर्न सूचित गरेको थियो।
बुधवारसम्म ३५० जनाभन्दा बढीले फर्म भरेका भए पनि सबैले स्वदेश फर्कन नचाहेको अधिकारीहरूले बताएका थिए।
त्यसमध्ये बिहीवार २५४ जनालाई स्वदेश फर्काउन लागिएको हो भने बाँकी आउन चाहनेका लागि छुट्टै व्यवस्था गरिने बताइएको छ।
शव पछि ल्याइने
इजरेलमा निधन भएका नेपालीहरूको शव भने ल्याउन केही समय लाग्ने अधिकारीहरूको भनाइ छ।
इजरेलस्थित नेपाली राजदूत र परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बीबीसीलाई दिएको जानकारीअनुसार इजरेली निकायले नेपालीलाई शव हस्तान्तरण गर्न पनि केही प्रक्रिया पूरा गर्न बाँकी नै रहेको छ।
इजरेलले आफू युद्धमा रहेको घोषणा गरेकाले शव हस्तान्तरणसम्बन्धी प्रक्रियाहरू पूरा गर्न केही दिन लाग्न सक्ने परराष्ट्रकी प्रवक्ता लम्सालले पत्रकार सम्मेलनमा जानकारी दिएकी थिइन्।
मृतकका परिवारलाई राहत घोषणा
इजरेलमा मारिएका नेपालीका परिवारलाई नेपाल सरकार र विभिन्न प्रदेश सरकारहरूले छुट्टाछुट्टै राहतको घोषणा गरेका छन्।
नेपाल सरकारले गत सोमवार मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको थियो। त्यस दिन बसेको मन्त्रिपरिषद्को विशेष बैठकले त्यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिएकी थिइन्।
हमासको आक्रमणमा परेर सुदूरपश्चिम प्रदेशका सात, कर्णाली, मधेस र कोशी प्रदेशका एक-एक जनाको ज्यान गएको थियो।
कोशीबाहेक अन्य सबै प्रदेशका मृतकका परिवारलाई प्रदेश सरकारहरूले पनि राहतको घोषणा गरेका छन्। मधेश प्रदेशले धनुषाका एक मृतकको परिवारलाई पाँच लाख रुपैयाँ राहतस्वरूप उपलब्ध गराउने निर्णय गरेको छ।
त्यस्तै कर्णाली प्रदेशले उक्त प्रदेशका एक मृतकको परिवारलाई तीन लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसीले जानकारी दिए।
सुदूरपश्चिम सरकारले भने उक्त प्रदेशका सात मृतकका परिवारलाई प्रतिपरिवार दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।
उक्त प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जारी गरेको वक्तव्यमा मृतकका परिवारलाई उक्त राहत उपलब्ध गराउने उल्लेख गरिएको छ।
इजरेलमा नेपालीको सङ्ख्या
नेपालको परराष्ट्र मन्त्रालयले दिएको जानकारीअनुसार अहिले इजरेलमा ४,५०० नेपालीहरू केअरगिभरको रूपमा कार्यरत छन्।
त्यस्तै २६५ जना विद्यार्थीहरू ‘लर्न एन्ड अर्न’ योजनाअन्तर्गत काम गर्दै सिक्नका लागि कृषि क्षेत्रमा गएको सरकारी तथ्याङ्क छ।
यद्यपि इजरेलमा रहेका नेपालीहरू केही मात्रामा सरकारी विवरणमा नसमेटिएका र गैरकानुनी रूपमा इजरेलमा कार्यरत नेपालीहरू पनि रहेको बताउँछन्।
कतिको निधन
हमासले गरेको अप्रत्याशित आक्रमणको जबाफमा इजरेलले गाजा क्षेत्रमा पाँच दिनदेखि निरन्तर हवाई हमला गरिरहेको छ।
इजरेलमा ज्यान जानेहरूको सङ्ख्या १,२०० पुगेको छ। उक्त आक्रमणलाई इजरेलको ७५ वर्षे इतिहासमा भएको सबैभन्दा नराम्रो घटना मानिएको छ। मृत्यु हुनेमा विदेशी नागरिकहरू पनि छन्।
इजरेलले गरेको हवाई आक्रमणका कारण गाजामा ज्यान गुमाउने मानिसको सङ्ख्या पनि १,२०० नाघेको छ। त्यस क्रममा हमासका दुई वरिष्ठ अधिकारी पनि मारिएको बताइएको छ।
इजरेलले हवाई आक्रमण गर्न थालेपछि गाजाबाट ३, ३८,००० जनाभन्दा बढी मानिस विस्थापित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।