एनसेल बिक्रीमा 'गडबडी' भएको प्रधानमन्त्रीको आशङ्का

प्रधानमन्त्री प्रचण्ड

तस्बिर स्रोत, RSS

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेअर बिक्री पारदर्शी नभएको र गडबडी भएको आशङ्का आफूलाई पनि लागेको बताएका छन्।

संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिमा एनसेलको नाममा मलेसियन कम्पनी रहेको रेनोल्डस् होल्डिङ्स लिमिटेडको नाममा रहेको स्वामित्व बिक्रीबारे सांसदका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले यसअघि एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुल गर्न पहल गर्नेमध्येमा आफू पनि भएको दाबी गरे।

“अहिले यहाँ जालझेल भएकै छ भन्ने हो मेरो,” उनले भने। “मैले हेर्दा यहाँ पहिलो दृष्टिमै गडबड भएकै छ। कर छल्ले पनि छ, स्वामित्व हस्तान्तरण नगर्ने नियत पनि देखिन्छ।”

निजी क्षेत्रको नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलमा ८० प्रतिशत स्वामित्व रहेको रेनोल्डस् होल्डिङको शत प्रतिशत शेअर आजियाटा यूके लिमिटेडले गत महिना ‘नेपाली मूलका सिङ्गापुरका नागरिक’ लगानीकर्ता रहेको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको सार्वजनिक भएको थियो।

नेपालको नियामक निकायको स्वीकृति नलिइ शेअर बिक्री भएको विषयमा विभिन्न सरकारी निकाय र संसदीय समितिले प्रश्न उठाएका छन्।

प्रधानमन्त्रीले रेनोल्डस् होल्डिङले बिक्री गरेको शेअरको मूल्याङ्कन २०० अर्ब नेपाली रुपैयाँ हुनुपर्ने आफूलाई लागेको संसदीय समितिमा बताए।

उनले एनसेलको शेअर बिक्री पारदर्शी र प्राकृतिक नभएको समेत दाबी गरे।

सांसदहरूले विसं २०८६ पछि एनसेलको विदेशी कम्पनीको नाममा रहेको शेअर सरकारको स्वामित्वमा आउने कानुनी व्यवस्था छल्न एनसेलको शेअर बिक्री गरिएको आशङ्का गरेका थिए।

“यसलाई हर हालतमा हस्तान्तरण गर्न सबैले सङ्कल्प लिऊँ। म अहिले प्रधानमन्त्री छु। प्रधानमन्त्रीको नेतृत्वले के लड्नपर्छ म लड्न तयार जुनसुकै मूल्य चुकाउन पनि म तयार छु,” जवाफमा प्रधानमन्त्रीले भने।

एनसेल खरिदकर्ताको घरमा 'बास बसेको छु'

प्रधानमन्त्री प्रचण्ड

तस्बिर स्रोत, RSS

सांसदहरूले प्रधानमन्त्री लगायत नेपालका शीर्ष नेताहरूको एनसेलको शेअर किनेका आचार्यसँगको सम्बन्धबारे पनि प्रश्न उठाएका थिए।

प्रधानमन्त्रीले आफू सहित नेपालका अन्य पूर्व प्रधानमन्त्रीहरू पनि एनसेलको शेअर किनेका शतिसलाल आचार्यको सिङ्गापुरस्थित निवासमा कुनै समय बास बसेको र उनीसँग चिनजान पनि भएको संसदीय समितिसामु स्वीकार गरे।

"म ति मान्छे सबैलाई राम्रो चिन्छु। मेरो श्रीमती बिरामी भएको बेला तीनै साथीहरूकोमा सिङ्गापुरमा गएको छु। दुईचोटी बसेको छु। शेरबहादुरजी जाँदा पनि बस्नुभाछ। केपी ओली जाँदा पनि बस्नुभाछ," प्रधानमन्त्रीले भने।

"तर त्यसको अर्थ राष्ट्र र जनताको विरुद्ध, ऐन कानुन र हाम्रो संविधानका विरुद्ध, प्रणालीका विरुद्ध कोही जान्छ भने जोसुकै होस् भन्नेमा हामी त लड्न तयार भएको हो नि त। त्यसकारण मानिँदैन। चिने जानेको नाताले अनुहार हेरेर मानिँदैन।"

उनले आफूले राष्ट्र र जनताको हीतमा सम्झौता नगर्ने प्रतिवद्धता संसदीय समितिमा जनाएका छन्।

यसअघि रेनोल्ड्स होल्डिङमा रहेको युरोपेली कम्पनी टेलिया सोनेराको शेअर आजियाटा यूके लिमिटेडले विसं २०७२ चैत २९ गते किनेको थियो।

त्यस क्रममा नेपाललाई तिर्नुपर्ने पुँजीगत लाभकरलगायतका करहरू नबुझाएको विषयमा विवाद उत्पन्न भएको हो।

समितिले सरकारलाई एनसेल बिक्रीबाट राज्यलाई तिर्नुपर्ने कर असुल गर्ने लगायतका छ वटा निर्देशन दिएको छ।

“नेपालमा कानुन अनुसार तिर्नुपर्ने कर र बक्यौता नतिरी छलछाम गरेर उम्किने प्रवृत्तिका विरुद्ध यो सुशासन समितिले प्रधानमन्त्रीलाई उपस्थित गराएर निर्देशन दिएको हो,” समिति सभापति रामहरि खतिवडाले समितिको निर्णयबारे भने।

राज्य व्यवस्था समितिले सरकारलाई दिएको निर्देशनमा के छ?

राज्य व्यवस्था तथा सुशासन समिति

तस्बिर स्रोत, RSS

समितिले दिएको छ बुँदे निर्देशन संक्षेपमा

  • प्रचलित कानुन बमोजिम राज्यलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने कर/गैरकर रकम एनसेलबाट असुल उपर गर्नु
  • एनसेल छानबिन समितिको प्रतिवेदन नआउन्जेलसम्म यसको शेअर कारोबारमा कुनै पनि स्वीकृति तथा सहमति नदिनु।
  • दूरसञ्चार ऐन र नियमावली समय सापेक्ष संशोधन गरी यथाशीघ्र ल्याउनु।
  • एनसेल जस्ता ठूला कम्पनी खरिद बिक्री गर्दा खरिदकर्ताको क्षमता, कम्पनी चलाएको अनुभव भए/नभएको चेक जाँच गर्नु।
  • एनसेलले शेअर किनबेचबारे नेपाल दूरसञ्चार प्राधिकरणले गरेको काम कारबाहीको जानकारी दिनु।
  • वि.सं. २०८६ मा एनसेल नेपाल सरकारको स्वामित्वमा ल्याउन पहल गर्नु

यसअघि संसद्‌को लेखा समितिले पनि एनसेलको शेअर बिक्रीबारे छानबिनका लागि सरकारी निकायहरूलाई पत्र लेखेको थियो। उक्त समितिले आजियाटाका प्रतिनिधिसँग पनि यसबारे जानकारी लिने निर्णय गरेको थियो। संसद्कै अर्थ समितिले पनि एनसेल बिक्रीबारे चासो लिएको छ। 

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।