'पानी नपरी' वायुप्रदूषण हट्ने सम्भावना न्यून, स्वास्थ्य सावधानी अपनाउन 'आवश्यक'

सुनसरीमा लागेको हुस्सु र तुवाँलो

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, सुनसरीमा लागेको हुस्सु र तुवाँलो

नेपालका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनदेखि वायुप्रदूषण बढेको देखिएको भन्दै अधिकारी तथा चिकित्सकहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्।

बढेको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै उनीहरूले सर्वसाधारणलाई सावधान हुन आग्रह गरेका हुन्।

वातावरण मामिला हेर्ने अधिकारीहरूका अनुसार पछिल्ला साताहरूमा बढ्दै गएको वायुप्रदूषण "वर्षा नभइ वा ठूलो हुरी नचले"सम्म कम हुने देखिएको छैन।

मौसमविद्हरूका अनुसार नेपालमा "तत्काल पानी पार्ने खालको ठूलो प्रणाली विकास हुने सम्भावना" न्यून देखिएको छ।

यस्तो परिस्थितिमा स्वच्छ हावा लिनका लागि आवश्यक सतर्कता अपनाउनु उपयुक्त हुने चिकित्सकहरूको सुझाव छ।

वायुप्रदूषण बढ्नुको कारण

दुई वर्षअघि स्वास्थ्य मन्त्रालयको मूलद्वारनजिकै राखिएको कृत्रिम फोक्सो

तस्बिर स्रोत, MOHP

तस्बिरको क्याप्शन, दुई वर्षअघि स्वास्थ्य मन्त्रालयको मूलद्वारनजिकै राखिएको कृत्रिम फोक्सो वायुप्रदूषणले १५ दिनमै यस्तो कालो भएको थियो। नेपालमा मृत्युका कारणमध्ये श्वासप्रश्वाससम्बन्धी दीर्घरोगको अंश १६.३ प्रतिशत रहेको छ

वातावरण विभागको वातावरण प्रदूषण, नियन्त्रण तथा नियमन शाखाका प्रमुख तथा सूचना अधिकारी दीपक ज्ञवाली यसपालिको हिउँदमा पानी नपर्नु वायुप्रदूषणको मुख्य कारण देखिएको बताउँछन्।

त्यसबाहेक नेपालमा डढेलो लाग्ने मुख्य समय पनि अहिले भएकाले वायुप्रदूषण बढ्ने गर्छ।

"पानी परेको छैन। डढेलो लाग्न थालेका छन्। दक्षिणतिरबाट पनि प्रदूषित वायु आइरहेको देखिएको छ," उनले भने।

"हामीले वायुप्रदूषण घटाउने उपायहरू गर्न सकेका छैनौँ त्यस्तो अवस्थामा पानी नपर्ने र ठूलो हुरी नचल्ने हुँदा प्रदूषण बढेको बढेकै छ।"

विभागका अनुसार वायुप्रदूषणका मुख्य कारकमा उद्योग कलकारखाना र सवारी साधनबाट निस्कने धूवाँ, वन डढेलो, खुला रूपमा गरिने फोहोर तथा कृषिजन्य अवशेष जलाउने चलन, घरवाट निस्कने धूवाँ, सडक तथा निर्माण कार्यबाट उड्ने धुलोलगायत रहेका छन्।

विश्‍व स्वास्थ्य सङ्गठनका अनुसार वायुप्रदूषण भनेको ठोस कण, तरल थोपा र ग्यासको जटिल मिश्रण हो।

यसलाई 'पार्टिक्यलट म्याटर' (पीएम) मा नापिन्छ र २.५ माइक्रोमिटर आकारका वा (पीएम२.५) भन्दा कम व्यासका कणहरू मानव स्वास्थका निम्ति निकै खतरायुक्त हुन्छन्। सानो आकारको कणहरू सीधै हाम्रो रक्तप्रवाहमा मिसिन सक्छन् र मुटु, मस्तिष्क तथा अन्य अङ्गमा जम्मा हुन सक्छन्।

मानिसको कपालको रौँको औसत आकार ७० माइक्रोमिटरजति हुन्छ, यसअनुसार वायुप्रदूषणका कण मानिसको कपालको रौँको तेह्र भागको एक हिस्साजत्तिको हुन्छ। ती कालो मोसो, माटोको धुलो वा सल्फेट जेबाट पनि बनेका हुन सक्छन्।

कहाँ कस्तो छ अवस्था?

वायुप्रदूषण

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, फाइल तस्बिर

विभागका वायु गुणस्तर निगरानी प्रणालीअनुसार आइतवार दिउँसो नेपालका विभिन्न स्थानमध्ये धनगढीको हावा सबैभन्दा खराब देखिएको थियो।

त्यसपछि भने काठमाण्डू उपत्यकाभित्रकै विभिन्न स्थानहरू देखिएका थिए।

उक्त प्रणालीमा नेपालका विभिन्न स्थानमा राखिएका स्टेशनममध्ये कम्तीमा एक दर्जन स्टेशनहरूमा वायुको अवस्था "अस्वस्थकर" देखाएका थिए।

प्रदूषणको विवरण राख्ने वर्ल्ड एअर क्वालिटी इन्डेक्स एक्यूआईले विश्वका दुई हजारभन्दा बढी सहरमा रहेका ३०,००० भन्दा धेरै स्टेशनबाट सङ्कलन गरेको विवरणका आधारमा वायु प्रदूषणको अवस्था देखाउने गर्छ।

वायुप्रदूषण

पछिल्ला वर्षहरूमा उसको सूचकमा विशेषगरी नेपालको काठमाण्डू उपत्यका पनि खराब वायु अवस्था भएका सहरहरूमा पर्दै आएको छ।

एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने निकै मसिना र मसिना कणहरूलाई हेरेर मिश्रित हिसाबले प्रदूषणको तह निर्धारण गर्छ।

जतिखेर वायुको अवस्था जनाउने स्केलमा १०० भन्दा माथि पुग्छ त्यस बेला त्यो स्वास्थ्यका हिसाबले संवेदनशील अवस्थामा रहेका मानिसहरूलाई अस्वस्थ्यकर हुने बताइन्छ।

उक्त इन्डेक्स १५० बाट उकालो लागेपछि त्यो सबै खाले मानिसका लागि अस्वस्थ्यकर मानिन्छ। २०० माथिको अवस्थामा निकै अस्वस्थ्यकर र ३०० माथिको अवस्थामा खतरनाक तहमा पुगेको मानिन्छ।

पानी पर्ने सम्भावना कति?

वायुप्रदूषण

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, फाइल तस्बिर

मौसमविद्‌हरूले पानी नपर्दासम्म अहिलेको प्रदूषण हट्ने सम्भावना न्यून रहेको भए पनि 'तत्काल वर्षा'को सम्भावना कम देखिएको बताएका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले भने, "अहिले नेपालको उच्च पहाडी र हिमाली क्षेत्रमा सानासाना प्रणाली विकास भएका भए पनि अन्य क्षेत्रमा खासै पानी पार्ने खालको प्रणाली विकास भएको छैन।"

उनका अनुसार हुस्सु, कुहिरो र तुँवालो नेपालको तराई क्षेत्र र उपत्यकामा बढी देखिएको छ।

यद्यपि शनिवार र आइतवार नेपालका केही पहाडी भूभागमा सामान्य वर्षा र हिमपात भएको छ। उनका अनुसार त्यो देशैभरि फैलने सम्भावना खासै देखिएको छैन।

उनले भने, "वायुमण्डल स्थिर रहँदा यस्तो प्रदूषणको अवस्था उत्पन्न हुन्छ। यसलाई फटाउने खालको ठूलो हुरी चल्यो भने पनि कम हुन्छ तर पूर्णरूपमा हट्न पानी नै पर्नुपर्छ।"

वर्षका अधिकांश महिना वायुप्रदूषण

वायुप्रदूषणको एउटा कारण डढेलो पनि हो

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, वायुप्रदूषणको एउटा कारण डढेलो पनि हो

त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागकी प्राध्यापक रेजिना मास्केका अनुसार पानी नपर्ने महिनाहरूमा नेपालको वायु निकै प्रदूषित हुने गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वायुप्रदूषण घटाउने तथा वायुप्रदूषणबाट जोगिने उपायबारे जानकारी दिन जारी गरेको एउटा भिडिओ अन्तर्वार्तामा उनले त्यसबारे जानकारी दिएकी हुन्।

मास्केले भनेकी छन्, "१२ महिनामा ३ महिनामा पानी पर्ने मौसममा मात्र सफा हावा हुन्छ। अन्य नौ महिनामा सधैँ वायुप्रदूषण उच्च हुन्छ।"

उनका अनुसार विशेषगरी फेब्रुअरीदेखि एप्रिल महिनासम्म नेपालमा धेरै डढेलो लाग्ने भएकाले वायुप्रदूषण पनि बढ्ने गरेको छ।

मास्केका अनुसार पछिल्ला वर्षहरूमा भएका अध्ययनहरूले वायुप्रदूषणका कारण काठमाण्डू उपत्यकाभन्दा तराईमा अझ बढी संवेदनशील अवस्था बनेको देखाएका छन्।

वातावरण विभागका अनुसार नेपालमा विशेषगरी मङ्सिरदेखि जेठ महिनासम्म वायुप्रदूषण उच्च हुने गरेको पाइन्छ।

स्वास्थ्यमा प्रतिकूल असर

स्वास्थ्यमा असर

वातावरण विभागले जारी गरेको वायुप्रदूषणसम्बन्धी एउटा सूचनामा भनिएको छ, "वायुप्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी तथा गर्भवती महिलाहरूलाई बढी प्रभाव पार्ने भएकाले यस्तो बेला विशेष सावधानी अपनाउनुहुन अनुरोध छ।"

चिकित्सकहरूका अनुसार अहिले देखिएको प्रदूषणका कारण सावधानी नअपनाएमा मानव स्वास्थ्यमा गम्भीर खालका असरहरू पनि पर्न सक्छन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका उपप्राध्यापक तथा फोक्सो तथा श्वासप्रश्वास विशेषज्ञ डा नीरज बम छातीसम्बन्धी समस्या देखा पर्ने एउटा मुख्य कारण वायुप्रदूषण भएको बताउँछन्।

"वायुको गुणस्तरसम्बन्धी सूचकअनुसार प्रदूषण बढिरहेको छ त्यसले दम र खोकीजस्ता समस्या पनि बढाइरहेको छ," उनले भने।

"यसले विशेषगरी ४० वर्ष माथिको जखसङ्ख्यालाई धेरै असर पारेको देखिन्छ।"

चिकित्सकहरूका अनुसार वायुप्रदूषणले मुख्यत: छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण हुने जोखिम बढाउँछ। त्यस्तै आँखा र छालासम्बन्धी समस्याहरू पनि निम्तिन सक्छन्।

बच्न के गर्ने?

स्वास्थ्यमा पर्ने असर

वातावरण विभागले वायु प्रदूषण हुन नदिनका लागि निम्न काम गर्न सर्वसाधारणलाई आग्रह गरेको छ :

  • ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न
  • उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न
  • सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूवाँ धुलोको यथोचित नियन्त्रण गर्न

चिकित्सकहरू वायुप्रदूषणबाट स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव कम गर्न विशेषगरी बिहान र साँझ घरबाहिर ननिस्कन सुझाव दिन्छन्।

त्यस बेला वायुप्रदूषणको मात्रा व्यापक हुने भएकाले उनीहरू विशेषगरी दीर्घरोगी तथा जेष्ठ नागरिकहरूले ख्याल गर्नुपर्ने बताउँछन्।

"हामीले स्वास्थ्य समस्या आउन नदिनका लागि स्वच्छ हावा लिनुपर्‍यो। सफा हावामा सास फेर्ने अवस्था हुनुपर्‍यो। त्यसका लागि के गर्ने भन्दा प्रदूषण भएका बेला घर बाहिर ननिस्कने अनि मास्क लगाएर हिड्ने गर्नुपर्‍यो," बम भन्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।