संसारका सबैभन्दा प्रदूषित सातमध्ये चार राजधानी दक्षिण एशियामा

तस्बिर स्रोत, EPA
केही हप्तादेखि भारतको उत्तरी भेग चरम प्रदूषणको मारमा छ। दिल्लीको प्रदूषणले पुनः एक पटक एशियाली शहरहरूको हावाको गुणस्तरको चर्चा हुन थालेको छ।
पछिल्ला केही दशकदेखि चीनको राजधानी बेइजिङ विषाक्त हावाका लागि चर्चित छ तर तथ्याङ्कले भने भारत, पाकिस्तान र बाङ्ग्लादेशको हावाको गुणस्तर चीनको भन्दा नराम्रो रहेको देखाउँछ।
दक्षिण एशिया यति धेरै प्रदूषित हुनुको कारण के हो त?
एशियाका सबैभन्दा प्रदूषित शहर
आइक्यू नामक युरोपेली संस्थाले गरेको अनुसन्धानका अनुसार विश्वका सबैभन्दा प्रदूषित ३० शहर मध्ये २२ भारतमा पर्छन।
बाँकी आठ सहर पाकिस्तान, बांग्लादेश र चीनमा पर्छ। तर त्यसमा बेइजिङ भने पर्दैन।
प्रदूषणका हिसाबले बेइजिङ १२२औँ स्थानमा छ। राजधानीहरूकै कुरा गर्ने हो भने पनि सबैभन्दा प्रदूषित शहरहरूमा एशियाली मुलुकहरूका राजधानी पर्छन्।
देशहरूमा सबैभन्दा अगाडि बाङ्ग्लादेश छ। पाकिस्तान र भारतले त्यसपछिको स्थान ओगटेका छन्।
यो सूची वार्षिक औसत वायु गुणस्तरमा आधारित छ।
यी देशहरूमा प्रदूषण मापन गर्ने फरक आधार र सार्वजनिक गरिएको डेटाको पारदर्शितामा भिन्नता भएका कारण उक्त तथ्याङ्कलाई सङ्केतका रूपमा बुझ्न जरुरी छ।
भारतको स्तर चीनभन्दा नराम्रो हुनुको कारण?
शहरी क्षेत्रमा सवारीसाधन, धेरै इन्धन खपत गर्ने पावर प्लान्ट र ठूला उद्योग प्रदूषणका प्रमुख कारण मानिन्छ।
भारतमा किसानहरूले अन्नबाली भित्र्याएपछि खेतका ठूटा र खोस्टामा आगो लगाउने गरेका छन्। त्यस्तो गतिविधि धेरै जसो शरद् ऋतुमा गरिन्छ।
"भारतमा धेरै प्रदूषण हुनुको प्रमुख कारण किसानहरूले लगाएको आगो नै रहेको जस्तो देखिन्छ," लन्डन स्कुल अफ इकोनोमीक्सका सहायक प्राध्यापक टमस स्मिथ बताउँछन्।
"यो कुरा चीनले सल्टाइसकेको छ। चीनमा खेतका ठूटा र खोस्टा जलाउन पूर्णरूपमा बन्द गरिएको छ।"
प्रदूषण गम्भीर रूपमा बढेपछि भारतको सर्वोच्च न्यायालयले दिल्ली र आसपासका अन्य दुई राज्यमा आगो लगाउन प्रतिबन्ध लगाएको छ।
तर जाडो मौसमका कारण चिसिएको हावा र बाक्लो तुवाँलोले वायुमा रहेका हानिकारक कणलाई अड्काइ राखेको छ।
प्रत्येक वर्ष नोभेम्बर र डिसेम्बर महिनामा दिल्लीको हावा विषाक्त बन्ने गरेको छ।
कस्तो महसुस हुन्छ?
प्रदूषणको स्तर वायुमा हुने हानिकारक कणको मापनमा आधारित हुन्छ। त्यसपछि नतिजा राम्रोदेखि खतरनाकको रूपमा वर्गीकृत गरिन्छ।
"प्रदूषणको असर प्रत्येक मानिसलाई फरक ढङ्गले पर्ने गर्छ," युनिभर्सिटी अफ निउ साउथ वेल्सकी क्रिस्टिन कोवी बताउँछिन।
"यसको असर सबैभन्दा बढी वृद्ध मानिसहरूमा पर्छ। श्वासप्रश्वास र मुटुको समस्या रहेका युवाहरूलाई पनि प्रदूषणले असर पार्छ।"

तस्बिर स्रोत, AFP
उनका अनुसार प्रदूषित क्षेत्रमा एकै छिन बस्नाले समेत दम रोगको समस्या पर्न सक्छ भने मस्तिष्कघातको जोखिम पनि बढाउँछ।
र यसबाट बच्ने उपायहरू भने सीमित छन्।
प्रदूषणबाट बच्न सकेसम्म घर बाहिर ननिस्कनु, व्यायाम घटाउनु र मास्क लगाउनु हो।
तर आर्थिक रूपमा विपन्न राष्ट्रका नागरिकको हकमा भने यीमध्ये कुनै पनि विकल्पले धेरै काम गर्दैन।
युरोप र अमेरिकासँग तुलना
भारतको तुलनामा युरोप, अस्ट्रेलिया र अमेरिकाको प्रदूषणको स्तर निकै कम छ।
तर यी क्षेत्रको अवस्था पहिलेदेखि यस्तो थिएन। १९औँ र २०औँ शताब्दीमा लन्डनले प्रदूषणका कारण कुख्याति कमाएको थियो।
सन् १९५२ सम्म पनि बाक्लो तुवाँलोले लन्डनलाई छोप्ने गर्थ्यो जसले गर्दा शहर नै लगभग ठप्प हुने गर्थ्यो।
लन्डनको हावामा फरक किसिमका प्रदूषणको कण रहेपनि त्यहाँको अवस्था हाल भारतको राजधानी दिल्लीभन्दा फरक नभएको हुन सक्ने न्यासनल युनिभर्सिटी अफ सिङ्गापुरका प्राध्यापक डेभिड टेलर भन्छन्।








