संसद् पुनर्स्थापना माग गर्दै ओलीले एमाले महाधिवेशन उद्घाटनमा चर्चा गरेको 'गम्भीर षड्यन्त्र'

तस्बिर स्रोत, RSS
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको वातावरण नबनेको भन्दै प्रतिनिधिसभाको पुनर्स्थापना हुनुपर्ने बताएका छन्।
पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले संविधान र लोकतन्त्रमाथि प्रहार भएको भन्दै अन्य दलहरूलाई पनि संसद् पुनर्स्थापनाको पक्षमा उभिन आह्वान गरेका छन्।
ओलीले भदौ २३ मा जेन जी युवाहरूले गरेको आन्दोलन र त्यसको भोलिपल्ट भएको हिंसालाई नेपालमा 'शून्यता सृजना गरी अराजकता फैलाउने दीर्घ तयारीसहितको' गम्भीर षड्यन्त्र भएको बताए।
भदौको घटनाक्रमपछि काठमाण्डू उपत्यकामा आयोजित सबैभन्दा ठूलो दलीय कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले जेन जी युवाविरोधी नभएको पनि उल्लेख गरेका थिए।
ओलीले थप के भने?
आफ्नो सम्बोधनको अधिकांश समय पूर्वप्रधानमन्त्री ओलीले भदौ २३ र २४ को घटनाक्रमलाई 'गम्भीर षड्यन्त्र'का रूपमा चित्रण गर्न खर्चिए।
प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकारलाई 'असंवैधानिक र अनधिकृत' भनेका ओलीले संविधानलाई लयमा फर्काउनुपर्ने जिकिर गरेका थिए।
ओलीले दलहरूलाई कमजोर बनाएर देश नबन्ने भन्दै "उत्तरदायित्वबिनाका पात्रहरू"ले देशलाई सङ्कटतर्फ धकेल्ने चेतावनी पनि दिए।
ओलीले भने, "हाम्रो माग स्पष्ट छ, प्रतिनिधिसभा तुरुन्त पुनर्स्थापना होस्, देश संविधान र लोकतन्त्रको बाटोमा फर्कियोस्। सरकारलाई फाल्गुन २१ गते चुनाव गराएर सत्ता हस्तान्तरण गर्ने कार्यादेश छ। चुनावको मिति तोकिएको छ, तर चुनावको तयारी कतै भइरहेको छ? देखिदैँन।"
उनले थपे, "दबाव र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको नेकपा एमाले चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ। तर अहिले चुनाव हुँदै छैन, चुनावको कुरा मात्रै भइरहेको छ, देशलाई अलमल्याउन।"
ओलीले संसद् पुनर्स्थापनापछि संवैधानिक सरकार गठन गरेर ताजा जनादेशबाट प्रतिनिधिसभा निर्वाचन गर्नुपर्ने बाटो समाउनुपर्ने बताए।
"वर्तमान असंवैधानिक सरकारले जालझेल र प्रतिशोधको बाटो लिएको छ। त्यसका लागि एकातिर निर्वाचनको हल्ला गर्ने अर्कोतिर निर्वाचन बिथोल्ने, सरकार-जेन जी सम्झौता जस्ता नाटक मञ्चन गरेर यो देशलाई भिडन्ततर्फ लैजाने गम्भीर षड्यन्त्र हो।"

तस्बिर स्रोत, RSS
भदौ २३ गते काठमाण्डूमा भएको युवाहरूको आन्दोलनमा कम्तीमा १९ जनाको ज्यान गएको थियो। भदौ २४ गते बिहानैबाट स्थिति उग्र भएपछि अपराह्न राजीनामा दिएका ओलीलाई नेपाली सेनाले आफ्नो हेलिकप्टरबाट सुरक्षित स्थानमा लगेको थियो।
ओलीले तत्कालीन समयमा आफूले निकासका लागि राजीनामा दिएको र संवैधानिक बाटोबाटै सत्ता परिवर्तनका लागी जोड दिएको बताउँदै आएका छन्। जेन जी आन्दोलनकारीहरूले त्यसबेला भएको क्षतिका लागि ओली, उनको सरकारका गृहमन्त्री रमेश लेखकसहितका उच्च अधिकारीहरूलाई जबाफदेही बनाउनुपर्ने बताइरहेका छन्।
ओलीले भदौ २३ र २४ गते भएका घटनाबारे छानबिन गर्न गठित आयोगमा बयान नदिने अडान राखिरहेका छन्। आज बोल्ने क्रममा ओलीले सरकारले पूर्वाग्रह साँधेको आरोप लगाए।
उनले षड्यन्त्र, मुद्दा, राहदानी रोक्का र धम्कीको सहारा लिइएको भन्दै त्यसले चुनावको वातावरण नबनाउने तर्क गरे। उनले आफूलाई अनिर्वाचित सरकार मन्जुर नहुने पनि बताए।
सार्वभौमसत्ताको पक्षमा दृढ रूपमा उभिँदा आफ्नो सरकारमाथि प्रहार भएको उल्लेख गरेका ओलीले कसबाट आक्रमण भयो भन्ने चाहिँ खुलाएनन्।
उनले भने, "कतिलाई लाग्छ सानो देशले हामीसँग बराबरी गर्न खोज्ने? अनि प्रहार हुन्छ। हामी सार्वभौम मुलुकका रूपमा संविधान बनाउने अधिकार हाम्रो हो भन्छौँ, संविधान संशोधन गर्ने अधिकार हाम्रो हो भन्छौँ।"
उनले थपे, "स्वतन्त्रताको प्रयोग गर्छौँ भन्छौँ, कुन बाटो रोज्ने र कस्तो राजनीतिक प्रणाली अँगाल्ने निर्णय गर्ने अधिकार हाम्रो हो भन्छौँ, कतिलाई मन पर्दैन अनि हामीमाथि प्रहार हुन्छ।"

तस्बिर स्रोत, Nepal Photo Library
नेपालले संविधान जारी गर्दा, आफ्नो सीमाको पक्षमा अडान लिँदा र उत्तर-दक्षिण सम्पर्क सञ्जालको कुरा गर्दा 'कतिलाई चित्त नबुझेको' ओलीले सुनाए।
उनले भने, "हामीविरुद्धका शक्तिहरू विभिन्न रङ्गमा अगाडि आउँछन्। कहिले असन्तुष्टि पोख्दै, कहिले परिवर्तनको नारा बोकेर। कलर-कलरमा कलर रेभलूशन भन्दै देखा पर्छन्। तर तिनको भित्री उद्देश्य एउटै छ, हामीलाई विभाजन गर्ने, कमजोर बनाउने, अलमल्याउने र दिशाहीन बनाउने।"
उनले थपे, "भदौ २३-२४ को घटनालाई सम्झौँ न, भदौ २४ को त्यो उन्माद के असन्तुष्ट समूहको प्रदर्शन मात्रै थियो? कि त्यसभित्र राज्यको मेरुदण्ड भाँच्ने षडयन्त्र र योजना पनि लुकेको थियो? स्पष्ट छ… कठिन सङ्घर्षको उपलब्धिका रूपमा प्राप्त हाम्रो लोकतन्त्रलाई ध्वस्त पारेर शून्यता सृजना गर्ने र अस्थिरता बढाउने र राज्यविहीनताको अवस्थामा पुर्याउने अराजक दीर्घ तयारीसहितको गम्भीर षडयन्त्र त्यो थियो।"
उनले भदौ २३ र २४ गतेपछि एमालेको सान्दर्भिकता सकियो भन्ने 'भाष्य खडा गर्न खोजिएको' आरोप लगाउँदै अहिलेको सङ्घर्ष पुरानो पुस्ता र नयाँ पुस्ता भन्दा पनि 'देश बनाउने र देश जलाउनेबीच'को भएको बताए।
एमालेलाई 'निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्ने' बताएका उनले पछिल्लो समयमा विभिन्न शक्तिहरूले एमालेमाथि प्रहार केन्द्रित गरेको उल्लेख गरे।
युवाहरूलाई अघि बढाउने पक्षमा आफ्नो दल रहेको भन्दै ओलीले जेन जी आन्दोलनमा ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।
पछिल्ला घटनाहरूलाई 'प्रतिगमन' भनेका ओलीले आफ्नो दललाई 'होच्याउने' काम नगर्न चुनौती दिएका थिए।
एमालेका महासचिव शङ्कर पोखरेलले भदौ २३ र २४ गतेको घटनालाई 'युवाहरूको भावनामा खेलेर मुलुकलाई अँध्यारो सुरुङमा लैजाने षडयन्त्र'का रूपमा उल्लेख गर्दै आफ्नो दलले मुलुकलाई लोकतन्त्रतर्फ फर्काउने दाबी गरे।
उनले आफ्नो पार्टी सरकारबाट बाहिरिएपनि एमाले अझै कमजोर नभएको तर्क गरे।
कांग्रेस नेताले प्रतिनिधिसभा पुनर्स्थापनाबारे के भने?
नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भदौ २३ र २४ गतेपछि देश अनिश्चितताको भुमरीमा फसेको उनले सुनाए।
उनले भने, "संविधानबाहिरबाट सरकार बनेको र लगत्तै प्रतिनिधिसभा विघटन गरिएको अवस्थामा हामीले यसलाई असंवैधानिक कदम र अदालतको नजिरको विपरीत भनेर समयमै हाम्रो निर्णयबाट उद्घोष गरेका छौँ। यो अवस्थामा संवैधानिक निकासको मार्ग अर्थात् सर्वोच्च अदालतमा विचाराधीन विषयलाई निर्बाध खुला राख्दै मुलुकलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हुन सक्छ भन्ने हाम्रो विश्वास रहेको छ। यसका लागि शान्तिपूर्ण, निष्पक्ष र भयरहित चुनावको वातावरण बनाउने दायित्व सरकार र निर्वाचन आयोगको हो।"

तस्बिर स्रोत, NurPhoto via Getty Images
तर आन्दोलनका क्रममा हतियार र गोलीगठ्ठा लुटिएको उल्लेख गर्दै खड्काले चुनावतर्फ सरकारका गतिविधिहरू उन्मुख रहे या नरहेकोबारे प्रश्न गरे।
"राजनीतिक दलहरूलाई कमजोर बनाउन चाहने शक्तिहरू सलबलाएको बेलामा यो व्यवस्था ल्याउन र वर्तमान संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका दलहरू हामी आन्तरिक रूपमा एकताबद्ध हुँदै साझा विचार रहेकाहरूसँग सहकार्य गर्नुपर्ने र जेन जी युवा पुस्ताहरूसँग पनि एउटा नयाँ एकता निर्माण गर्नुपर्ने जिम्मेवारी हामीसँग छ।"
उनले जेन जी आन्दोलनमा भएको क्षति र ध्वंसको छानबिन गर्न गठित भएको आयोगले निष्पक्ष ढङ्गले काम गर्नुपर्ने उल्लेख गर्दै स्थानहद तोक्ने र सुरक्षाकर्मीहरूप्रति हुर्मत लिने काम गर्न नहुने बताए।
मुलुकलाई पुनः संवैधानिक बाटोमा फर्काउने बाटो अद्यावधिक निर्वाचन भएको भन्दै भयरहित चुनावको वातावरण बनाउने जिम्मेवारी सरकारको भएको उनले बताए।
जेन जी र नयाँ पुराना दलहरू मिलेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संरक्षण गर्छौँ भन्ने सङ्कल्प गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
नयाँ नेतृत्वको चयन हुने
पार्टी अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा आयोजित विशेष सभामा झन्डोत्तोलन गरी पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका थिए।
एमालेका नेताहरूका अनुसार महाधिवेशनले १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी रहने गरी नयाँ नेतृत्व चयन गर्ने छ। महाधिवेशनमा नेतृत्व चुन्न २,२६२ प्रतिनिधि सहभागी छन्, जसमध्ये १०८ जना मनोनीत गरिएका छन्।
यसअघि एमालेले नीतिगत विषयमा छलफल गर्न पार्टीको विधान महाधिवेशन गत भदौ २० देखि २२ गतेसम्म गरेको थियो। यो महाधिवेशनले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने छ।
अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वलाई निरन्तरता दिने आकाङ्क्षा राखेका छन्। विगतमा ओलीसँग निकट रहेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई चुनौती दिने घोषणा गरेका छन्।
तर दुवै पक्षले पदाधिकारीमा उठ्ने आफ्नो प्यानलहरू घोषणा भने गरिसकेका छैनन्।
महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा), जसपा नेपाल र राप्रपा नेपाललगायतका दलहरूलाई शुभकामना दिन आमन्त्रण गरिएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








