एमाले महाधिवेशनमा जेन जी आन्दोलनको जगबाट केपी ओलीलाई चुनौती

तस्बिर स्रोत, RSS
- Author, शरद केसी
- Role, बीबीसी न्यूज नेपाली
पार्टी नेतृत्व चयनका निम्ति निर्वाचन हुने देखिएको नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन शनिवार सुरु भएको छ।
त्यसमा निर्वाचित प्रतिनिधिका रूपमा २,१५४ जनाले मतदान गर्न पाउने छन्। त्यस्तै १०८ जना मनोनीत प्रतिनिधि छन्।
पार्टीको केन्द्रीय सङ्गठन विभाग प्रमुख रहेका महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका संयोजक काशीनाथ अधिकारीका अनुसार केन्द्रीय सल्लाहकार परिषद्का ३०९ जना आयोजकका रूपमा महाधिवेशनमा सहभागी हुने छन्।
महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा), जसपा नेपाल र राप्रपा नेपाललगायतका दलहरूलाई शुभकामना दिन आमन्त्रण गरिएको नेताहरूले जनाएका छन्।
एमालेले नीतिगत विषयमा छलफल गर्न पार्टीको विधान महाधिवेशन गत भदौ २० देखि २२ गतेसम्म गरेको थियो। त्यसैले यो महाधिवेशनले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने छ।
पूर्वमन्त्री तथा एमाले नेत्री विद्या भट्टराई महाधिवेशनले लोकतन्त्रको मूल्यलाई अझैँ उच्च बनाउनुपर्ने बताउँछिन्।
"नेताहरूबीच एकीकृत सोचका साथ सहमतिबाटै नेतृत्व आओस् भन्नेनै कार्यकर्ताहरूको साझा मत छ। नेतृत्वले त्यो भावना बुझ्नुपर्छ," उनले भनिन्।
जेन जीको आन्दोलनको असर ओलीमाथि

तस्बिर स्रोत, RSS
ओलीलाई अध्यक्ष बन्ने बाटो खुला गर्दै ७० वर्षको उमेर हद हटाएको विधान महाधिवेशन सम्पन्न भएको भोलिपल्टै जेन जी आन्दोलन भयो।
त्यही आन्दोलनको जगमा कांग्रेस र तत्कालीन नेकपा एकीकृत माओवादीमा जस्तै एमालेमा पनि नेतृत्व परिवर्तनको माग उठेको छ।
प्रहरीको गोली लागेर विद्यार्थी र युवा मारिएको, देशभरीनै महत्वपूर्ण सरकारी संरचना ध्वस्त भएको, प्रधानमन्त्री हेलिकोप्टरबाट भाग्नुपरेको जस्ता विषयहरू एमालेकै नेताहरूले उठाउने गरेका छन्।
घटनाको मुख्य कारक तत्कालीन प्रधानमन्त्री ओलीको हठ भएको र पार्टी नेतृत्व नछाडेमा एमालेलाई क्षति पुग्ने उनीहरूको तर्क पाइन्छ।
तर चौतर्फी नेतृत्वमाथि हमला भइरहेका बेला विकल्प नखोजेर उनकै नेतृत्वमा पार्टी गोलबन्ध हुनुपर्ने खाँचो औँल्याउनेहरू पनि छन्।
"पार्टीभित्र, बाहिर, अन्य पार्टी, अन्तर्राष्ट्रिय समुदाय र छिमेकी पनि केपी ओलीविरुद्ध किन लाग्छन् होला? त्यसैले उहाँ राष्ट्रहित र स्वार्थ हेर्ने व्यक्ति हो भन्ने कोणबाट हेर्नुपर्छ," ओलीका पूर्वसल्लाहकार गोपाल खनाल भन्छन्, "नेपालकेन्द्रित भूराजनीतिक उतारचढाव, राष्ट्रिय सार्वभौमिकतामाथि उत्पन्न प्रतिकूलताकाबीच देशलाई सहजतातर्फ लैजान सक्ने बलियो नेतृत्वको आवश्यकता छ। त्यसको निम्ति केपी ओलीको आवश्यकता देखिएको हो।"

तस्बिर स्रोत, RSS
पूर्वमन्त्री तथा एमाले नेत्री विद्या भट्टराईको व्यक्तिगत मूल्याङ्कनमा ओली इच्छाशक्ति भएको, सपना देख्ने र देश यस्तो बनाउनुपर्छ भन्ने दृष्टिकोण भएको नेता हो।
"नेतृत्वले त्यसका निम्ति चाहिने साङ्गठनिक पक्ष, सहयात्रा-सहकार्य र रणनीति बनाउनुपर्छ," भट्टराईको मूल्याङ्कन छ, "तर उहाँलाई मैले आफूले देखेको सपना साकार पार्न आवश्यक रणनीति बनाउन असमर्थ व्यक्तिको रूपमा लिन्छु।"
पार्टीभित्र ओलीको बलियो पकड रहेको मानिन्छ। तर उनले पुन: अध्यक्ष बन्ने बताएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दिने घोषणा गरेका छन्।
ओलीका निकट नेता नै उनका प्रतिस्पर्धी किन?

तस्बिर स्रोत, RSS
ओली नेतृत्वमा आएदेखि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई साथ दिँदै आएका थिए।
तर दलमा पुनः सक्रिय हुने खोज्दा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई रोकेपछि एमालेभित्र ध्रुवीकरण देखिएको हो।
पार्टीबाहिरबाट भण्डारीले पोखरेललाई साथ दिएको बताइन्छ। त्यस्तै पार्टीभित्र विगतमा माधव नेपाल र झलनाथ खनालनिकट मानिने नेताहरूले ओलीको विकल्प खोज्न पोखरेललाई सघाइरहेका छन्।
कुनै बेला एमालेका चर्चित विद्यार्थी नेता टङ्क कार्कीका बुझाइमा अहिले मुलुक जहाँ आइपुगेको छ, प्रजातन्त्र पुनर्स्थापनायताको कामहरूको समीक्षा गर्दा यथास्थितिमा अगाडि बढ्न सकिँदैन, यसमा सुधार जरुरी छ।
"त्यो मुलुकको राजनीति र पार्टीको आन्तरिक संरचनामा पनि जरुरी छ। आजका चुनौती न्यूनीकरण गर्न सुधार जरुरी भएको हो," चीनका लागि पूर्वराजदूत पनि रहेका कार्की भन्छन्, "महाधिवेशनले आत्मसमीक्षा र स्वीकारोक्ति कति छ भन्ने पनि देखाउला।"

तस्बिर स्रोत, RSS
संसदीय दलको नेतामा झलनाथ खनाललाई पराजित गरेका ओली नवौँ महाधिवेशनमा पार्टी अध्यक्षमा माधव नेपाललाई हराएर नेतृत्वमा आएका हुन्।
उनले प्रचण्डसँग पार्टी एकता गरेर नेकपा बनाए। संसद्मा झन्डै बहुमतको नजिक रहेको दलको तर्फबाट प्रधानमन्त्री थिए। तर पछि पार्टी विभाजित भयो अनि सरकारबाट हट्नुपर्यो।
विभाजनपछि जोगिएको एमाले चितवन महाधिवेशनमा पुग्दा पार्टीमा ओलीको आधिपत्यजस्तै थियो। ओली पक्षको कडा असहमतिकाबीच भीम रावल अध्यक्षको उम्मेदवार बनेका थिए तर उनले नगण्य मत पाए।
अहिले रावल पनि नेपाल र खनालसँगै नेपाली कम्युनिस्ट पार्टीमा पुगेका छन्।
आलोचना अपाच्य?

तस्बिर स्रोत, RSS
पछिल्ला वर्षहरूमा विद्या भण्डारी र ईश्वर पोखरेलविरुद्ध ओली र उनीपक्षीय नेताहरूबाट अराजनीतिक व्यवहार र बोली सुनिने गरेको भन्दै कतिपयले चित्त दुखाउने गर्छन्।
नेपाल, खनाल, वामदेव गौतम र रावल लगायतका नेताको एमाले बहिर्गमन ओलीकै कारण भएको उनीहरू बताउँछन्।
आफ्ना आलोचकप्रति ओली असहिष्णु रहेको र उनीहरूलाई पन्छाएर एकल हैकम चलाउने प्रवृत्ति उनमा रहेको कतिपयको बुझाइ पाइन्छ।
ओलीले विगतमा नेपाल र खनालको नेतृत्व स्वीकार गरेर बसेको तर ओली नेतृत्वमा आएपछि उनीहरूको निम्ति सह्य नभएरै निस्किएको तर्क गर्नेहरू पनि छन्।
लेखक गोपाल खनालले त्यस्तै सङ्केत दिए।
"समय र परिस्थितिले नेतृत्व माग गर्दा प्रतिस्पर्धाको निम्ति तयार हुनुपर्छ भन्ने ठूलो प्रमाण केपी ओली नै हो," खनाल भन्छन्, "पराजित हुँदा पनि पार्टीमै बसेर उहाँले राजनीतिलाई निरन्तरता दिनुभएको पक्षबाट पनि हेर्नुपर्छ।"
नेता टङ्क कार्कीका भनाइमा पार्टी संयुक्त विवेक र इच्छाशक्ति प्रकट गर्ने संयन्त्र हो तर अझैँ पनि नेपाली राजनीति पार्टी निर्माणको प्रारम्भिक चरणमा छ।
"पुराना नेता पार्टीमा नरहनुमा दुवै पक्षबाट केही कमी भएका होलान्, सच्याउनुपर्छ," उनी भन्छन्, "पार्टीहरू पार्टी जस्ता भएनन्, कुनै एक व्यक्तिको पछिलाग्ने सम्प्रदायको संरचना जस्तोमा नजानिँदो किसिमले रूपान्तरण भए। मूल समस्या त्यही हो।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








