खाना नखाई व्रत बस्दा 'इन्सुलिन प्रतिरोध'मा असर, सन्तुलन मिलाउने उपाय यस्तो छ

मधुमेह भएकी एक महिला ब्रेक्फास्ट खाँदै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, इन्सुलिन प्रतिरोधको मधुमेह वा डायबीटीजसँग प्रत्यक्ष सम्बन्ध छ
    • Author, सोमया नस्र
    • Role, बीबीसी न्यूज अरेबिक

विगत दुई वर्षयता सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा 'इन्सुलिन प्रतिरोध'बारे निकै चर्चा भए। त्यसबारे किताब प्रकाशित भए अनि खासखास शारीरिक कसरत तथा खानपिनबारे भिडिओ शेअर भए।

यो विषयले निकै ध्यान खिचिरहेको छ किनभने इन्सुलिन प्रतिरोधको शारीरिक अवस्थाले टाइप टू डायबीटीजजस्तो गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।

इन्सुलिन प्रतिरोध भनेको के हो र यसका लक्षण के हुन्? के यसको उपचार हुन्छ? र, के व्रत बस्दा यसलाई नियन्त्रण गर्न सघाउ पुग्छ?

के हो इन्सुलिन?

प्याङ्क्रियाजले उत्पादन गर्ने इन्सुलिन मानव शरीरले उत्पादन गर्ने एउटा महत्त्वपूर्ण होर्मोन हो।

यसको मुख्य कार्य रगतमा रहेको चिनी (ग्लूकोज)को मात्रा नियमन गर्नु हो ताकि शरीरले त्यसको भण्डारण तथा ऊर्जाका लागि उपयोग गर्न सकोस्।

प्याङ्क्रियाजले कम इन्सुलिन उत्पादन गरेमा वा शरीरले त्यसको उचित उपयोग गर्न नसकेमा कैयन् स्वास्थ्य समस्या हुन सक्छ।

शरीर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, प्याङ्क्रियाज ग्रन्थीले पर्याप्त इन्सुलिन उत्पादन नगरे वा शरीरले त्यसको उचित उपयोग गर्न नसके विभिन्न स्वास्थ्य समस्या निम्तन्छ

इन्सुलिनले यसरी गर्छ काम :

  • शरीरले खानालाई ग्लूकोजमा परिवर्तन गरिदिन्छ जुन शरीरको ऊर्जाको प्रमुख स्रोत हो।
  • ग्लूकोज रगतमा मिसिन्छ र प्याङ्क्रियाजलाई थप इन्सुलिन निष्कासन गर्न सङ्केत गर्छ।
  • इन्सुलिनले रगतमा रहेको ग्लुकोजलाई मांसपेशी, बोसो एवं कलेजोका कोषहरूमा पस्न मद्दत गर्छ ताकि ऊर्जाका निम्ति तिनको उपयोग हुन सकोस् वा तिनको भण्डारण हुन सकोस्।
  • शरीरका कोषहरूमा ग्लूकोज पसेपछि रगतमा चिनीको मात्रा घट्छ र त्यसले प्याङ्क्रियाजलाई इन्सुलिन उत्पादन रोक्न सङ्केत जान्छ।
इन्सुलिन एक प्रोटीन होर्मोन हो

तस्बिर स्रोत, GETTY IMAGES / JUAN GAERTNER / SCIENCE PHOTO LIBRARY

तस्बिरको क्याप्शन, इन्सुलिन एक प्रोटीन होर्मोन हो जसको उत्पादन प्याङ्क्रियाजले गर्छ

इन्सुलिन प्रतिरोध भनेको के हो?

खानपान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, उचित खानपान र शारीरिक गतिविधिले रोगको उपचारमा सघाउने विज्ञहरूले बताएका छन्

इन्सुलिन प्रतिरोध भनेको मांशपेसी, बोसो र कलेजोका कोषहरूले इन्सुलिनप्रति देखाउनुपर्ने स्वाभाविक व्यवहार नदेखाएपछि उत्पन्न हुने जटिल प्रक्रिया हो।

यो अवस्थामा ती कोषहरूले रगतबाट प्रभावकारी रूपमा ग्लुकोज सोस्न तथा भण्डार गर्न सक्दैनन्।

त्यसो हुँदा रगतमा चिनीको मात्रामा उच्च बनिरहन्छ र प्याङ्क्रियाजले झन् धेरै इन्सुलिन उत्पादन गर्छ, यो अवस्थालाई हाइपरइन्सुलिनेमिया भनिन्छ।

कोषहरूले देखाउने कमजोर प्रतिक्रियालाई जित्ने गरि प्याङ्क्रियाजले पर्याप्त इन्सुलिन बनाउन्जेल रगतमा चिनीको मात्रा स्वस्थ्य स्तरमै रहन्छ।

तर यदि कोषको प्रतिरोध बढ्यो भने रगतमा चिनीको मात्रा उच्च तहमा पुगिरहन्छ र त्यस्तो अवस्था लम्बियो भने टाइप टू डायबीटीजज तथा अन्य रोग निम्तिन्छ।

इन्डोक्राइनोलजी, डायबीटीज तथा इन्टर्नल मेडिसनसम्बन्धी विज्ञ तथा यूकेको न्याश्नल हेल्थ सर्भिसका कन्सल्ट्यान्ट फिजिसियन फ्र्याङ्कलिन जोसेफका अनुसार इन्सुलिन प्रतिरोध भनेको 'आनुवंशिक, जीवनशैली तथा वातावरणीय तत्त्वको मिश्रणले हुने एक जटिल प्रक्रिया' हो।

यसको कारक हरेक व्यक्तिमा फरकफरक हुने गर्छ।

 प्राध्यापक फ्र्याङ्कलिन जोसेफ

तस्बिर स्रोत, Franklin Joseph

तस्बिरको क्याप्शन, इन्सुलिन प्रतिरोधका निम्ति कैयन् कारण हुने प्राध्यापक फ्र्याङ्कलिन जोसेफले बताए

यो अवस्था विकास हुनुका विभिन्न कारणबारे उनले भने :

मोटोपना : ज्यादा बोसो, खास गरी पेटवरपरको बोसो

शारीरिक निष्क्रियता : नियमित शारीरिक गतिविधिको कमी

अनुवंश : केही मानिसहरूमा आनुवंशिक रूपमै इन्सुलिन प्रतिरोधक अवस्था देखा पर्छ

कमसल खानपिन : प्रशोधित खानेकुरा, प्रशोधित कार्बोहाइड्रेट्स तथा चिनीको धेरै मात्रा भएको खानपिनले रगतमा द्रुत गतिमा चिनी बढाइदिन्छ जसले समयक्रममा इन्सुलिन उत्पादन वृद्धि हुने गर्छ

दीर्घ तनाव : कोर्टिसोलजस्ता तनावसँग सम्बन्धित होर्मोनले रगतमा चिनीको मात्रा नियमित गर्ने इन्सुलिनको क्षमतामा हस्तक्षेप गर्छ

निद्रामा गडबडी : अनिद्रा वा अल्पनिद्राले इन्सुलीनको संवेदनशीलतामा प्रभाव पार्छ

खास स्वास्थ्य अवस्था : पोलिसिस्टिक ओभरी सिन्ड्रोम, कुशिङ्ग्स सिन्ड्रोम अनि फ्याटी लिभर जस्ता अवस्था

उमेर : मानिसको उमेर बढ्दै गएपछि तिनका कोष इन्सुलिनप्रति कम प्रतिक्रियात्मक हुन थाल्छन्

रम्जान व्रत

रम्जान

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, रम्जानको महिनामा कैयन् मुस्लिमहरू दिनभरि पानीसमेत नखाई व्रत बस्छन्

रम्जानको महिनामा कैयन् मुस्लिमहरू बिहानदेखि साँझसम्म व्रत बस्छन्।

डायबीटीज यूके नामक संस्थाले शारीरिक समस्या भएका मानिसहरूले व्रत बस्दा सावधान हुनुपर्ने बताएको छ।

"डायबीटीज भएका मानिसहरूले तिनको चिकित्सकसँग सल्लाह लिएर मात्र व्रत बस्नु उपयुक्त हुन्छ," युनिभर्सिटी हस्पिटल बर्मिङ्घमका डायबीटीज तथा इन्डोक्राइनोलजीका विज्ञ प्राध्यापक वसिम हनीफले भने।

"डायबीटीज भएका बेला व्रत बस्नु खतरनाक हुन सक्छ किनकि यसले अन्य स्वास्थ्य समस्या निम्त्याउन सक्छ।"

प्राध्यापक जोसेफले चाहिँ केही अध्ययनहरूले व्रतले इन्सुलिन संवेदनशीलता सुधार्ने देखाएको बताउँछन्, खास गरी इन्सुलिन प्रतिरोध तथा टाइप टू डायबीटीज भएकाहरूमा।

कतिपय मानिसहरूले भने व्रतको समयमा तौल घट्ने र बोसोको परिमाणमा परिवर्तनको अनुभव गर्छन्। यी परिवर्तनले पनि इन्सुलिन संवेदनशीलता र मेटाबलिजम (शरीरले खानाबाट ऊर्जा निकाल्ने रासायनिक प्रक्रिया)मा प्रभाव पार्छन्, मुख्यत: मोटोपना भएका मानिसहरूमा।

उनका अनुसार रम्जानको व्रतले इन्सुलिन प्रतिरोध र मेटाबलिजममा व्यक्तिपिच्छे फरक असर पार्छ किनकि त्यो 'उमेर, लिङ्ग, शारीरिक अवस्था, खानपिनको रुचि अनि शारीरिक गतिविधिको स्तर' जस्ता विभिन्न तत्त्वमा भर पर्छ।

रम्जानको व्रत बस्ने मानिसलाई डायबीटीज वा अन्य मेटाबलिक समस्या छ भने तिनले आफ्नो स्वास्थ्यको निकट अनुगमन गरिरहन र विशेषज्ञबाट परामर्श लिनुपर्ने उनले सुझाए।

अम्मानस्थित पोषणविद् रिम अल-अब्दलतका अनुसार सकेसम्म धेरै फाइदा लिनका निम्ति 'रम्जानको व्रत वा इन्टरमिटेन्ट फास्टिङ् (निश्चित् घण्टा भोकै रहने) गर्दा स्वस्थ खानपानको बानी अपनाउनु जरुरी छ।'

रिम अल-अब्दलत

तस्बिर स्रोत, Reem Al-Abdallat

तस्बिरको क्याप्शन, व्रतको समयमा स्वस्थ खानामा ध्यान दिन पोषणविद् रिम अल-अब्दलतको सुझाव छ

के भोकै बस्नु लाभदायक हुन्छ?

निश्चित् घण्टा भोकै बस्ने चलन वा इन्टरमिटेन्ट फास्टिङ्ले संसारभरि धेरैको ध्यान तानेको छ। कतिपय चिकित्सक तथा पोषणविद्हरूले यसको फाइदाको चर्चा गरेका छन्।

दिनमा लामो समय नखाने अनि थोरै समयभित्रमात्र खाने वा सातामा एक वा बढ्ता दिन भोकै बस्ने अभ्यास यसमा पर्छ।

दक्षिण भारतीय राज्य तमिलनाडुको भेलोरस्थित क्रिश्चन मेडिकल कलेज यूनिभर्सिटीका इन्डोक्राइनोजीका प्राध्यापक डा नीतिन कपुरका अनुसार केही अध्ययनले यसरी भोकै बस्नुको मेटाबोलिक फाइदा देखाएका छन्।

तर यो सबै मानिसका लागि एकैनासले लाभदायक नहुने पनि उनले बताए। खानपिन अनुशासनसम्बन्धी परामर्श व्यक्तिअनुसार फरक हुने उनले बताए। साथै कुनै पनि किसिमको खानपिनको अभ्यास 'दिगो' हुन सक्छ कि सक्दैन भनेर विचार गर्न पनि उनले आग्रह गरे।

"के तपाईँले यो अभ्यास जीवनभरि गर्न सक्नुहुन्छ?" उनले सोधे। "तपाईँले १५ किलो तौल घटाउनुहोला तर जब यो अभ्यास रोक्नुहुन्छ, फेरि तौल तीव्र गतिले बढिहाल्छ।"

प्राध्यापक जोसेफले यस्ता व्रतबारेका अध्ययनहरू अझै भइरहेको र केहीले चाहिँ इन्सुलिन संवेदनशीलता सुधार्ने देखाएको बताए।

"उदाहरणका लागि सन् २०१५ मा सेल मेटाबलिजम नामक जर्नलमा प्रकाशित अध्ययनमा दिन बिराएर बसिने व्रतले मोटोपना नभएका मानिसहरूमा तौल तलमाथि नगराईकन नै इन्सुलिन संवेदनशीलता सुध्रिने देखाएको छ," उनले भने।

निश्चित समय भोकै बस्दा तौल घट्न सक्छ र त्यसो हुँदा इन्सुलिन संवेदनशीलता तथा मेटाबलिजममा सुधार आउँछ।

इन्सुलिन प्रतिरोध

तस्बिर स्रोत, Getty Images

इन्सुलिन प्रतिरोधको लक्षण के हो?

प्रारम्भमा यसको खासै लक्षण नदेखिन वा कम देखिन सक्छ।

यसका केही लक्षणमा बढ्दो भोक, तौल घटाउन हुने मुस्किल, खास गरी घाँटी तथा काखीवरपरको छालामा गाढा दाग, उच्च रक्तचाप, उच्च ट्राइग्लिसराइड, तथा पोलिसिस्टिक ओभरी सिन्ड्रोम पर्छन्।

यदि इन्सुलिन प्रतिरोधले टाइप टू डायबीटीज गरायो भने बिरामीमा पटकपटक पिसाब लाग्ने, धेरै तिर्खा लाग्ने र दृष्टि धमिलो हुनेजस्ता लक्षण पनि देखा पर्छन्।

तर व्यक्तिअनुसार लक्षण फरक हुने बताइन्छ।

"डायबीटीज तथा मुटुरोग हुनबाट जोगाउन इन्सुलीन प्रतिरोधको सुरुमै निदान र उपचार जरुरी हुन्छ," प्राध्यापक जोसेफले भने।

उनका अनुसार जीवनशैलीको परिवर्तन र कुनै कुनै मामिलामा औषधोपचार गरेर इन्सुलिन प्रतिरोधलाई निको पार्न वा कम पार्न सकिन्छ।

स्वस्थ खानपान, निद्रा, तौल, तनाव व्यवस्थापन पनि यसको उपचारका लागि महत्त्वपूर्ण हुने विज्ञहरूले औँल्याएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।