नभाल्नीको शव 'दुई साता राखिने', विष दिइएको पत्नीको आरोप

शुक्रवार नभाल्नीको जेलमा निधन भएको घोषणा गरिएको थियो।

तस्बिर स्रोत, REUTERS

तस्बिरको क्याप्शन, शुक्रवार नभाल्नीको जेलमा निधन भएको घोषणा गरिएको थियो
    • Author, एडम डर्बिन
    • Role, बीबीसी न्यूज

रुसमा एउटा जेलभित्र मृत्यु भएका विपक्षी नेता एलेक्सी नभाल्नीको शव दुई सातासम्म नदिइने जानकारी परिवारलाई दिइएको बताएको छ। उनी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक थिए।

उनकी आमालाई शव "रासायनिक विश्लेषण"का लागि राखिएको जानकारी नभाल्नीका एक प्रतिनिधिले जनाएका छन्।

रुसी अधिकारीहरूले शव कहाँ छ भन्ने विषयमा केही बताएका छैनन्। उनीहरूले शव रहेको स्थान खोज्ने प्रयासलाई बारम्बार रोकिदिएका छन्।

नभाल्नीकी पत्नीले शव लुकाइएको र पुटिनले हत्या गराएको आरोप लगाएकी छन्।

सोमवार एक भिडिओमार्फत् युलिआ नभाल्नियाले रुसी राष्ट्रपति पुटिनले नभाल्नीको हत्या गरेको भन्दै आफ्ना पतिले थालेको "स्वतन्त्र रुस" को सङ्घर्ष जारी राख्ने उद्घोष गरिन्।

नभाल्नीकी पत्नीले अरू के भनिन्?

नभाल्नियाले आफ्ना पतिलाई नोभिचोक दिइएको आरोप लगाउँदै उक्त विषको अवशेष नहटुन्जेलसम्म शव राख्न खोजेको आशङ्का व्यक्त गरिन्।

नोभिचोकले स्नायुप्रणालीमा असर छ। जेल पर्नुअघि पनि नभाल्नीलाई उक्त विष दिइएको ठानिएको छ।

नभाल्नियाको बोली बेलाबेलामा शोक र क्रोधका कारण लरबराएको थियो।

उनले आफूसँग मानिसहरूलाई "हाम्रो भविष्य नष्ट गर्न खोज्नेहरूप्रति क्रोध र घृणा व्यक्त गर्न" आग्रह गरिन्।

युलिआ नभाल्निया

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, नभाल्नीले थालेको "स्वतन्त्र रुस" को अभियान अघि बढाउन युलिआ नभाल्नियाले सबैसँग आग्रह गरिन्

शुक्रवार नभाल्नीको जेलमा निधन भएको घोषणा गरिएको थियो।

उनलाई राखिएको आर्क्टिक पीनल कोलनीका अधिकारीहरूले नभाल्नी हिँडडुल गरेपछि अचानक अचेत भएका र उनको मृत्यु भएको दाबी गरेका थिए।

निधनको खबर पाएपछि नभाल्नकी आमा र नभाल्नीका वकिल दुर्गम क्षेत्रमा रहेको उक्त जेलमा पुगेका थिए।

नभाल्नीको शव कहाँ छ भन्ने जानकारी खोज्न गरिएका प्रयासहरू जेलको शवगृह र स्थानीय अधिकारीहरूले रोकिदिएका छन्।

सोमवार क्रेम्लिनले नभाल्नीको मृत्युको कारण पहिल्याउन अनुसन्धान भइरहेको र अहिलेसम्म "कुनै नतिजा ननिस्किएको" बताएको थियो।

नभाल्नीकी प्रवक्ताले अनुसन्धानकर्ताहरूले नभाल्नीकी आमा लुड्मिलालाई "रासायनिक विश्लेषण" भइराखेकाले दुई साता शव नदिइने बताएको जानकारी दिइन्।

आफ्नो भिडिओ सन्देशमा नभाल्नियाले अधिकारीहरूले शरीरबाट नोभिचोक हराउने समय कुरेको आशङ्का व्यक्त गरिन्।

नभाल्नीकी आमा

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, नभाल्नीको निधनको खबर आएपछि उनकी आमा (दायाँ) दुर्गम क्षेत्रमा रहेको जेलमा पुगेकी थिइन्

विदेशी नेताको आरोप

विगत एक दशकमा रुसमा नभाल्नी सबैभन्दा प्रभावशाली प्रतिपक्षी नेताका रूपमा देखा परेका थिए।

उनलाई १९ वर्षको जेल सजाय सुनाइएको थियो। धेरैले राजनीतिक प्रतिशोध लिन उनलाई मुद्दा चलाइएको ठानेका छन्।

पश्चिमा नेताहरूले नभाल्नीको मृत्युका लागि राष्ट्रपति पुटिन नै उत्तरदायी भएको मानेका छन्।

पत्रकारहरूको प्रश्नको उत्तर दिने क्रममा सोमवार राष्ट्रपति जो बाइडनले भने: "वास्तविकता के हो भने - पुटिन नै जिम्मेवार छन्, उनले ती व्यक्ति [नभाल्नी] लाई जेल हाल्ने परिस्थितिका लागि आफैँले आदेश दिएको भए पनि नभए पनि।"

सोमवार आयोजित एउटा पत्रकार सम्मेलनमा युरोपेली सङ्घ ईयूका विदेशनीति प्रमुख जोजेप बोरेलले "रुसी जेलमा पुटिनको सत्ताले नभाल्नीको बिस्तारै हत्या गरेको" टिप्पणी गरे।

एलेक्सी नभाल्नी र उनकी पत्नी युलिआ सन् २०२० को फेब्रुअरीमा मस्कोमा आयोजित एउटा र्‍यालीमा सहभागी भएका थिए

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, क्रेम्लिनका आलोचक बोरिस नेम्स्टोफको हत्या भएपछि एलेक्सी नभाल्नी र उनकी पत्नी युलिआ सन् २०२० को फेब्रुअरीमा मस्कोमा आयोजित एउटा र्‍यालीमा सहभागी भएका थिए

नभाल्नीको मृत्युपछि ईयू र अमेरिका दुवैले रुसविरुद्ध नयाँ प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएका छन्।

यूकेका विदेशमन्त्री डेभिड क्यामरनले पनि ब्रिटेन र बाँकी जी-सेभन समूहका धनी देशहरूले नभाल्नीको मृत्युसँग जोडिएका सबै रुसी नागरिकलाई ताजा प्रतिबन्ध लगाउनुपर्ने बताए।

क्रेम्लिनका प्रवक्ता दिमित्री पेश्कोभले नभाल्नीको मृत्युलाई लिएर पश्चिमा नेताहरूहरूबाट आएका प्रतिक्रियाहरू "हठी" र "अस्वीकार्य" भएको बताए।

रुसी जेल अधिकारीहरूले सप्ताहान्ततिर बोल्दै नभाल्नीको "अकस्मात् मृत्यु" भएको बताएका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।