रुसमा प्रतिपक्षी नेता एलेक्सी नभाल्नीको जेलमा निधन

तस्बिर स्रोत, Reuters
रुसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका एलेक्सी नभाल्नीको जेलमा निधन भएको कारागार प्रशासनले जनाएको छ।
उनलाई केही समयदेखि ठाउँसारी गरेर आर्क्टिक सर्कल जेल राखिएको थियो।
रुसी राष्ट्रपतिका सबैभन्दा कडा आलोचक मानिएका नभाल्नीलाई १९ वर्षको जेल सजाय सुनाइएको थियो।
कतिपयले उनलाई लगाइएका अभियोगहरू राजनीतिक रूपमा प्रेरित भएको ठानेका थिए।
उनलाई गत वर्ष मात्रै निकै कठोर जेलमध्येको आर्क्टिक पेनल कोलोनीमा सारिएको थियो।
रुसी राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले नभाल्नीको मृत्युको खबरबारे राष्ट्रपति पुटिनलाई "जानकारी गराइसकिएको" बताएका छन्।

तस्बिर स्रोत, @TEAMNAVALNY
उनी एक दिन अघि अदालती सुनुवाइका क्रमको एक भिडिओमा देखा परेका थिए। त्यसबेला उनी ठिकै देखिनुका साथै हाँसिरहेका देखिएका थिए।
जेल प्रशासनले उनी शुक्रवार हिँडेपछि बिरामी भएको जनाएको छ। “उनले तत्कालै अचेत भए,” जेलका एक जना अधिकारीले भनेका छन्।
उनको उपचारका लागि तत्कालै आपत्कालीन सेवालाई खबर गरिए पनि बचाउन नसकिएको बताइएको छ।
“आपत्कालीन चिकित्सकहरूले कैदीको मृत्यु भएको घोषणा गरेका छन्। मृत्युको कारण पहिचानको प्रयास भइरहेको छ,” जेल प्रशासनका अधिकारीले भनेका छन्।
नभाल्नीका वकिलले रुसी सञ्चा माध्यमहरूसँग तत्कालै यसबारेमा प्रतिक्रिया नदिने बताएका छन्।
यसअघि पनि घातक विष हमलामा परेको दाबी

तस्बिर स्रोत, Reuters
नभाल्नीलाई सन् २०२० को अगस्टमा स्नायुमा असर गर्ने नोविचोक दिएर विषाक्त बनाइएको दाबी गरिएको थियो।
साइबेरियाबाट मस्को जाने उडानमा रहेका बेला उनी बिरामी परेका थिए र जहाजले आपत्कालीन अवतरण गर्नुपरेको थियो। त्यसपछि जर्मनीमा उपचार गराएर रुस फर्किएलगत्तै पक्राउमा परेका उनी त्यसयता हिरासतमा थिए।
नभाल्नीले आफूमाथि स्नायु विष हमला भएको बारे लगाएको आरोप सही भएको केही खोज पत्रकारहरूको अनुसन्धानले देखाएको थियो।
नभाल्नी को हुन्?

तस्बिर स्रोत, EPA
नभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा कडा आलोचक थिए। हाल ४७ वर्षका नभाल्नीले राष्ट्रपति पुटिनलाई भ्रष्ट्र व्यक्ति भएको आरोप लगाउँदै आएका थिए।
उनी भ्रष्ट्राचारविरोधी अभियानकर्ता पनि थिए।
सन् २०१८ को राष्ट्रपतीय निर्वाचनमा उनी उम्मेदवार बन्न खोजेका थिए तर उनलाई आर्थिक हिनामिनाको आरोपमा उम्मेदवार बन्न दिइएन।
नडराई बोल्ने ब्लगरका छवि बनाएका उनलाई सामाजिक सञ्जालमा लाखौँ रुसीले पढ्छन् र सन् २०२० मा उनका केही समर्थकहरू साइबेरियाको स्थानीय निर्वाचनमा निर्वाचित पनि भएका थिए।
नभाल्नी किन जेल परेका थिए

तस्बिर स्रोत, KIRILL KUDRYAVTSEV/AFP
सन् २०२१ को फेब्रुअरीमा नभाल्नी सन् २०१४ मा सुनाइएको सजाय उल्लङ्घन गरेको आरोपमा जेल परेका थिए।
उनलाई सन् २०२० मा आफ्नो अवस्थाबारे प्रहरीलाई नियमित खबर नगरेको आरोप लगाइएको थियो।
साइबेरियामा भएको स्नायु एजेन्ट आक्रमणमा परेर आपत्कालिन उपचार गराइरहेको थाहा हुँदाहुँदै उनीमाथि यस्तो आरोप लगाइनु हास्यास्पद भएको उनका वकिलहरूले बताएका थिए।
उनले आफू लामो समयसम्म कोमामा रहेकोबारे अदालतलाई पनि जानकारी गराएका थिए। उनले आफूलाई विष दिइनुअघि हरेक महिना दुई पटकसम्म प्रहरीलाई जानकारी दिएको दाबी गरेका छन्। उनले आफूलाई चुप लगाउन आफूविरुद्ध ठगीको आरोप लगाइएको दाबी गर्दै आएका थिए।
उनलाई त्यसअघि एउटा अनियमितताको आरोपमा सन् २०१४ मा दोषी ठहर गरिएको थियो। तर उनलाई सुनाइएको सजाय पनि विवादित बनेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








