तपाईँलाई मन पर्ने पेय पदार्थले कतै तपाईँको दाँत बिगारिरहेको त छैन?

    • Author, नाजनीन मोतामेदी
    • Role, बीबीसी पर्सिअन

हिजोआज फलफूल मिसाइएका पानीका बोतल वा सुन्तलाको रसको गिलास हेर्दा ती अन्य फिँजयुक्त चिसो पेय पदार्थका स्वस्थ विकल्पजस्तो लाग्छ।

तर वैज्ञानिकहरूले 'फ्रुट टी' लगायत यस्ता प्रकारका पेय पदार्थले हाम्रा दाँतमा उल्ट्याउन नसकिने गरी क्षति पुर्‍याउन सक्ने बताएका छन्।

तर यो पूरै खराब समाचार भने होइन। यूकेको किङ्स कलेज लन्डन (केसीएल)का अनुसन्धानकर्ताहरूसँग यो विषयमा अध्ययन गरेको २० वर्ष लामो अनुभव छ। यस्ता पेय पदार्थ पिउने समय र बानीले दाँतको क्षयीकरणलाई धेरै हदसम्म रोक्न सक्ने उपाय पनि उनीहरूले पत्ता लगाएका छन्।

मेरो आफ्नो दाँतको परीक्षण गर्न म उनीहरू कहाँ पुगेँ।

क्षयीकरण

बाल्यकालदेखि नै हामीलाई दाँतका क्याभिटीबारे सावधान गराइएको हुन्छ - दाँतमा साना प्वाल वा क्याभिटी बन्ने हुनाले गुलिया पदार्थ तथा चकलेटले तिम्रो मुस्कान बिगारिदिन्छ भनेर।

जब तपाईँ गुलियो खानु हुन्छ तब दाँतमा बस्ने ब्याक्टेरियाले बाँकी टाँसिएका गुलिया कुरा खान थाल्छ र दाँतमा प्वाल पर्न थाल्छ। साना प्वाल भएमा सामान्यतया 'फिलिङ्' गरेर वा भरेर उपचार गरिन्छ।

तर दाँतको क्षयीकरण भनेको बेग्लै हो। खाना तथा पेय पदार्थमा भएका अम्लले इनामेल - दाँतलाई सुरक्षा गर्ने बाहिरी तह -मा आक्रमण गर्छ र विस्तारै त्यो खिइन्छ। अनि त्यसभित्रको डेन्टाइन तहमा पनि क्षयीकरण हुन्छ।

इनामेलले दाँतको नरम तहको रक्षा गर्छ। तर बारम्बार हुने अम्ल तथा गुलियोको आक्रमणलाई यसले झेल्न सक्दैन। एकपटक खिइएपछि यो पूर्ववत् स्वरूपमा फर्कन सक्दैन।

"दाँतको इनामेलसँग अम्लीय तथा गुलियो खाना वा पेय पदार्थको अत्यधिक संसर्गले क्षयीकरण निम्त्याउँछ," किङ्स कलेज लन्डनको अनुसन्धान टोलीका सदस्य एवं दन्त शल्यचिकित्सक डा पोलीभिओस चारालम्बुसले भने।

"यदि खिइँदै गएको इनामेलको उपचार नगरिए दात भाँचिने, टुक्रने, वा तातोचिसोसँग अधिक संवेदनशीलता तथा ट्रान्सलुसेन्स जस्ता अन्य विभिन्न अवस्था निम्तन्छ," उनले भने।

दाँत नबिगार्ने गरी कसरी र कहिले पिउने

मैले सुन्तलाको रस तीन थरी शैलीले पिएँ - घुटुक्क पिएर, मुखमा केही क्षण कुलकुल गरेर अनि मुखमा केही बेर यत्तिकै लिएर। अनि डा चारालम्बुसले पीएच मिटरको प्रयोग गरेर मेरो मुखको अम्लीयपना नापे।

दाँतलाई सुरक्षित राख्न मुखको पीएच तटस्थ स्तर (करिब ७)मा रहनु पर्छ।

  • घुटुघुटु पिउँदा मुखको अम्लीयपना ४.७ मा झर्‍यो अनि १८ सेकेन्डमा फेरि तटस्थ स्तरमा आइपुग्यो।
  • मुखमा थोरै समय रस राख्दा (१० सेकेन्ड जति) अम्लीयपना अझ बढ्यो र सामान्य स्तरमा फर्कन पाँच गुना धेरै समय लाग्यो।
  • मुखमा रस कुलकुल गरेजसरी राखेर पिउँदा पीएच ३ मा झर्‍यो। त्यो सामान्य स्तरमा झर्न ३० गुना धेरै समय लाग्यो।

यो प्रयोगले पेय पदार्थलाई मुखमा राखिरहँदा वा कुलकुल गर्दा दाँतमा धेरै क्षति पुग्ने देखाएको छ। किनभने यसो गर्दा अम्लीय पदार्थ र दाँतको सतहबीच धेरै बेर र धेरै सघनताका साथ संसर्ग हुन्छ।

"दाँतलाई रक्षा गर्न, अम्लीय पेय पदार्थलाई धेरै बेर मुखमा नराख्नुहोस्। दाँतसँगको संसर्ग कम गर्न स्ट्रको प्रयोग गर्न सकिन्छ। स्ट्रको प्रयोगले फिँजयुक्त पेय पदार्थबाट हुने दन्त क्षयीकरण पनि कम हुने अनुसन्धानले देखाएको छ," डा चारालम्बुसले भने।

केसीएलको अनुसन्धान टोलीले खानाको बीचमा (उदाहरणका लागि बिहानी र बेलुकीको खानाको बीचमा) यस्ता अम्लीय पेय पदार्थ सेवन गर्दा दन्त क्षयीकर‌णको सबभन्दा धेरै जोखिम हुने पत्ता लगायो।

दिनमा दुई पटक त्यसरी सफ्ट ड्रिङ्क्स, कागतीको टुक्रा मिसाइएको पानी वा तातो फ्रुट टी सेवन गर्नेहरूमा थोरै वा गम्भीर दन्त क्षयीकरण हुने सम्भावना ११ गुनाले बढ्ने देखिएको छ।

तर खाना सँगसँगै यस्ता पेय पदार्थ सेवन गर्दा चाहिँ त्यस्तो जोखिम आधाले कम हुने देखियो।

त्यसैले यस्ता पेय पदार्थको सेवन गर्ने समयलाई बुद्धिमत्तापूर्ण ढङ्गले मिलाइयो भने - खाना खाँदाखाँदै वा खाना खानु तुरुन्तै अघि वा पछि सेवन गरियो भने तपाईँले आफ्नो दाँतलाई अझ राम्ररी जोगाउन सक्नु हुनेछ।

सबभन्दा खराब पेय पदार्थ कुन?

केसीएलको टोलीले दाँत क्षयीकरणमा चार थरी पेय पदार्थको असर जाँच्न सुन्तलाको रस, कोला, एरन (दहीमिश्रित एक प्रकारको नन-कार्बनेटेड पेय) तथा फ्रुट टी मा इनामेलको नमूना डुबाएर हेरे।

एक घण्टापश्चात् हेर्दा तिनको असर भनेको ती पेय पदार्थ लगातार दुई दिनसम्म दिनको तीनपटक पिए सरह पाइयो। माइक्रोस्कोपमा नमूनामा गाढा लाइनको रूपमा क्षयीकरण भएको देखियो।

नतिजा अचम्म पार्ने खालको थियो: कोलाजस्ता फिँजयुक्त पेय पदार्थले सबभन्दा धेरै क्षति पुर्‍यायो। त्यसपछि सुन्तलाको रस अनि रेड बेरी चिया। एरन (दही र पानीको मिश्रण) दाँतका निम्ति सबभन्दा सहज देखियो। भारत, पाकिस्तान, लेबनन, सिरिया, टर्की, इरान र आर्मेनियालगायतका देशमा लस्सी वा एरन एक परम्परागत पेय पदार्थ हो।

कुन खानाले धेरै क्षयीकरण गराउँछ?

अम्लीय खाना तथा पेय पदार्थले दन्त क्षयीकरण गराउँछ। धेरैजसो फलफूलमा कुनै न कुनै स्तरको अम्लीयपना हुन्छ। साइट्रस फलफूल केरा वा खुर्पानीभन्दा धेरै अम्लीय हुन्छन्। अन्य अम्लीय खाना तथा पेय पदार्थका उदाहरण निम्न हुन्:

  • खुर्सानी
  • गोलभेडा तथा केचप
  • किम्ची
  • सावक्राउट
  • भिनेगर (खासगरि एपल साइडर भिनेगर) तथा अचार
  • फलफूलको रस
  • फलफूल मिसाइएको पानी – उदाहरणका लागि कागतीको टुक्रा डुबाइएको पानी
  • सुगन्धित चिया, उदाहरणका लागि बेरी टी, रोजहिप तथा अदुआ र कागती चिया
  • अधिकांश मादक पदार्थ
  • सफ्ट ड्रिङ्क्स (सुगर-रहित भनिने सफ्ट ड्रिङ्क पनि उत्तिकै हानिकारक)

तर यी कतिपय खाना तथा पेय पदार्थ तपाईँको समग्र स्वास्थ्यका लागि लाभदायी छन्। दाँतलाई जोगाउँदै तिनको सेवन गर्न केही उपाय गर्न सकिन्छ:

  • खानाको अन्त्यतिर चीज, दही वा दूधजस्ता क्याल्सिअम धेरै भएका खानेकुरा लिनुहोस् ताकि तिनले मुखभित्रको अम्लीयपनालाई तटस्थ बनाइदिउन्
  • सुगर-रहित चुइङ्गम चपाउनुहोस् ताकि मुखमा धेरै थुक आओस् जसले तपाईँको दाँतको रक्षा गर्छ
  • फ्रुट टीको साटो कालो चिया रोज्नुहोस् जसले दाँतको क्षयीकरण न्यून गराउँछ
  • अमिलो वा साइट्रस फलफूलको साटो काँक्रो, पुदिना वा रोजमेरी मिसाइएको पानी

दन्त क्षयीकरण कति धेरैलाई हुन्छ?

दन्तचिकित्सकहरूले विश्वभरि नै दन्त क्षयीकरणको समस्या धेरै पाइन थालेको र झन् झन् बढ्न थालेको चेतावनी दिएका छन्।

युरोपमा १८ देखि ३५ वर्ष उमेर समूहका करिब ३०% मा थोरै वा गम्भीर दन्त क्षयीकरण देखिएको किङ्स कलेज लन्डनको डेन्टल इन्स्टिच्युटको प्रोस्थोडन्टिक्सका प्रमुख डा डेभिड बार्टलेटले सन् २०१३ मा गरेको अध्ययनमा पाइएको थियो।

तुलनात्मक रूपमा हेर्दा ६ वटा अरब देशका सोही उमेर समूहका २,९२४ जना मानिसमा परीक्षण गर्दा गम्भीर दन्त क्षयीकरण अझ धेरै दरमा देखियो।

देशअनुसार दर निकै तलमाथि पाइयो: सबभन्दा धेरै ओमानमा ६०.७%, त्यसपछि साउदी अरेबिया (५७.१%), यूएई (४९.३%), इजिप्ट (३२.९%), कुवेत (३१.५%), र जोर्डन (१६.५%) मा पाइए।

कति दन्त क्षयीकरण सामान्य हो?

"वास्तवमा तपाईँको जीवनकाल भरि नै दन्त क्षयीकरण भइरहन्छ। तर यदि तपाईँ होसियार हुनु भएन भने, खानपान, आनीबानी, वा अन्य मेडिकल अवस्था (अमिलो पानी आउनेजस्ता) ले यो प्रक्रियाको गति तेज पारिदिन सक्छ," डा चारालम्बुसले भने।

दन्त चिकित्सकहरूले तपाईँको अवस्था परीक्षण गर्न सक्छन्। तर नतिजा तपाईँका निम्ति चिन्ताको कारण बन्न सक्छ किनभने त्यसलाई फेरि पूर्ववत् अवस्थामा फर्काउन सकिन्न। सबभन्दा उत्तम भनेको दन्त क्षयीकरण हुनै नदिनु हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।