यस पटक पनि राष्ट्रपतिमा हारे फेरि चुनाव लड्ने नसोचेको ट्रम्पको भनाइ

तस्बिर स्रोत, Getty Images
पूर्वअमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा पराजित भएमा सन् २०२८ मा पुनः चुनाव लड्ने नसोचेको बताएका छन्।
लगातार तीनवटा चुनावमा रिपब्लिकन दलका तर्फबाट उम्मेदवार बनेका ७८ वर्षीय ट्रम्पले पछिल्लो आठ वर्षमा उक्त दललाई फरक स्वरूपको बनाएको रूपमा हेरिन्छ।
सिन्क्लेअर मिडिया ग्रुपसँगको एक अन्तर्वार्तामा उनलाई डेमोक्र्याटिक उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिससँग हारेको अवस्थामा अर्को प्रतिस्पर्धा हुन सक्ने सम्भावनाबारे सोधिएको थियो।
"हुन्न। म त्यस्तो सम्भावना देख्दिनँ। मलाई लाग्छ... यही नै हो," ट्रम्पले भने। "म त्यस्तो सम्भावना कत्ति पनि देख्दिनँ।"
तर उनले थपे: "आशा छ, हामी निकै सफल हुनेछौँ।"
अमेरिकी कानुनले दुई कार्यकालभन्दा बढी समय राष्ट्रपति हुन रोकेको छ। त्यसैले उनी जितेको खण्डमा समेत सन् २०२८ मा पुनः चुनाव लड्ने छैनन्।
ट्रम्पले गर्ने पराजयको दुर्लभ कुरा
कुनै बेलाका प्रभावशाली घरजग्गा व्यवसायी ट्रम्पले विगतमा पराजित हुन सक्ने सम्भावनाबारे बिरलै कुरा गर्थे। बरु उनले आफ्ना चर्का सम्बोधन र सोसल मिडिया पोस्टमार्फत् समर्थकहरूलाई जितको वाचा गर्थे।
तर चार वर्षमा उनले दोस्रो पटक पराजयको सम्भावनाबारे उल्लेख गरेका हुन्।
बिहीवार इजरेली-अमेरिकी काउन्सिलले आयोजना गरेको एक कार्यक्रममा उनले हारको कुरा निकाल्दै यदि त्यसो भए त्यो यहुदी मतदाताको भूलका कारण हुने बताए।
"यदि मैले चुनावमा जित हासिल गरिनँ भने के हुन्छ भन्ने उनीहरूलाई थाहा छ?" समाचारहरूमा उनको भनाइ छ।
"र यदि त्यसो भएमा यहुदीहरूले धेरै गर्नुपर्छ। किनभने ४० प्रतिशत [समर्थन] मा यसको मतलब ६० प्रतिशत मानिसहरूले शत्रुलाई मतदान गरिरहेका छन्।"
ह्यारिसको चुनावी अभियान, ननपार्टिसन अमेरिकन ज्वूइस कमिटी र एन्टी डिफेमेसन लीगले ती प्रतिक्रियाको निन्दा गरे।
ट्रम्पले हारको सम्भावनालाई हेर्न थाल्नुले कमला ह्यारिस उम्मेदवार भएपछि डेमोक्र्याटिक पार्टीको सम्भावना कसरी फेरिएको छ भन्ने झल्काउँछ।
राष्ट्रपति जो बाइडन चुनावी अभियानकै बीचमा प्रतिस्पर्धाबाट पछि हटेपछि ह्यारिस उम्मेदवार बनेकी हुन्।
मत सर्वेक्षणहरू के भन्छन्?
ह्यारिसको अभियानले अगस्ट महिनामा १९ करोड अमेरिकी डलरभन्दा बढ्ता रकम चन्दा उठाएको छ जुन ट्रम्प र उनी सम्बद्ध संस्थाहरूका हकमा भने १३ करोड उठेको देखिन्छ।
बीबीसीले हिसाब गरिरहेको राष्ट्रिय मत सर्वेक्षणहरूको औसतमा ह्यारिस ट्रम्पभन्दा अगाडि देखिन्छिन्।
सीबीएसले आइतवार सार्वजनिक गरेको राष्ट्रव्यापी मत सर्वेक्षणमा ह्यारिस करिब ५२ प्रतिशतसाथ अगाडि छन् भने ट्रम्पले ४८ प्रतिशत मत प्राप्त गरेका छन्।
मुख्य रूपमा प्रतिस्पर्धा हुने अमेरिकी राज्यहरू समग्र नतिजामा निर्णायक हुने देखिन्छन्।
बीबीसीको समाचार साझेदार सीबीएसको सर्वेक्षणमा त्यस्ता राज्यमा ह्यारिस ५१-४९ प्रतिशतसाथ थोरैले अगाडि छन्।
जुन गतमहिना सीबीएसकै सर्वेक्षणमा रहेको ५० प्रतिशतभन्दा सुधारिएको अवस्था हो।
आइतवार एनबीसीले सार्वजनिक गरेको अर्को सर्वेक्षणमा अमेरिकाभर ह्यारिस ट्रम्पभन्दा पाँच प्रतिशत अगाडि छन्।
बीबीसीले सर्वेक्षणका विवरणलाई लिएर ट्रम्पको चुनावी अभियानसँग सम्पर्क गरेको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








